झापामा व्यवसायीको चर्को दबाबपछि स्थानीय प्रशासनले भदौ १ गतेदेखि निषेधाज्ञाको स्वरूप परिवर्तन गरेको छ।
डीसीएमसीको सोमबार बसेको बैठकले जिल्ला भित्र सञ्चालनमा रहेका सबै पसल खुल्ला गर्ने निर्णय गरेको छ। बिहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल खोल्न पाउने निर्णय भएको छ।
अत्यावश्यक खाद्यान्नलगायतका पसल बिहान ६ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला हुने निर्णय भएको बैठकमा सहभागी एकले सेतोपाटीलाई बताए।
यो पटकको निषेधाज्ञामा भने मास्क नलगाउनेलाई स्थानीय प्रशासनले जरीवाना गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले बताए।
बेलुका ६ बजेपछि पसल खोल्नेलाई कानुनमा उल्लेख भए अनुसारको जरिमाना गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। यस्तै खाद्यान्नलगायत अन्य अत्यावश्यक पसल बिहान १० बजे अगाडि खोले पनि जरिमाना गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
आमसञ्चारका माध्यमबाट व्यवसायीले झापामा जारी निषेधाज्ञा हटाउनुपर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई सुझाव दिए।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका व्यवसायीले बैंक र घर साहुले ब्याज र घर भाडा असुल्न ताकेता गरेपछि व्यवसायीले भदौ १ गतेदेखि पसल खोल्ने बताउँदै आएका थिए।
झापामा कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो निषेधाज्ञा हटेको एक महिना पछि पुनः साउन १६ गतेदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।
झापामा दैनिक कम्तीमा ५ जना कोरोना संक्रमित मृत्यु हुने गरेको छ भने संक्रमणको दर पनि दैनिक बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।