आफूमाथि जेठाजुले गरेको बलात्कारविरूद्ध सुर्खेतको भेरीगंगाकी सविता(नाम परिवर्तन)ले जाहेरी दिएको २ वर्षभन्दा बढी भयो।
अहिले यो घटना मुद्दा बनेर जिल्ला अदालत सुर्खेत पुगेको छ।
२०७७ जेठ २० गते जिल्ला अदालत सुर्खेतमा दर्ता भएको मुद्दा प्रतिवादीको ठेगाना स्पष्ट नभएको भन्दै अड्किएको छ।
प्रहरीले पठाएको ठेगानामा म्याद तामेल हुन नसकेको जिल्ला अदालत सुर्खेतले जनाएको छ।
जिल्ला अदालतका एक कर्मचारीका अनुसार सुरूमा यो मुद्दामा प्रतिवादीको ठेगाना बबई उल्लेख थियो। उक्त ठेगानामा म्याद तामेली गरिए पनि ठेगाना गलत भएकाले रद्द भएको थियो।
‘स्पष्ट ठेगाना नभएर पहिला बबईमा म्याद तामेली भएको रहेछ, त्यो तामेली म्याद बदर भएको रहेछ,’ ती कर्मचारीले भने।
उनका अनुसार २०७७ फागुन ११ गते स्पष्ट ठेगाना खुलाउन भनेर जिल्ला अदालतले सरकारी वकिल कार्यालयलाई पत्र पठाएको छ।
सोही आधारमा सरकारी वकिलले कार्यालयले फागुन १६ गते ईलाका प्रहरी कार्यालय छिन्चुलाई स्पष्ट ठेगाना खुलाउन भनेर पत्र पठाएको छ।
‘म्याद तामेल नभएको भएर अहिले प्रक्रियामै रहेछ, छिन्चु प्रहरीले जवाफ पठायो भने बल्ल अगाडि बढ्ने भयो,’ उनले भने।
सुरूमा यो घटना दर्ता हुनै समय लागेको थियो।
तीन वर्षअघिको घटना भए पनि उनले लिखित जाहेरी दिएको २०७६ असार २० मा हो।
‘सुरूमा उजुरी दिए पनि गाउँमा मिलाउनुपर्छ भनेर दबाब आएको थियो, त्यतिबेला गाडी पनि बन्द भएर प्रहरीमा जान पाइएन,’ सविताले भनिन्, ‘पछि गाडी खुले पनि मलाई सञ्चो थिएन। उजुरी पहिलै गरे पनि जाहेरी लेखेको अलिक पछि हो।’
सविताको जाहेरीमाथि प्रहरीले अनुसन्धान गरेर १ वर्षपछि अदालतमा मुद्दा चलायो। अहिलेसम्म अदालतले उनको वकपत्र पनि नलिएको उनकी वकिल गीता कोइरालाले बताइन्।
घटना यस्तो थियो :
तीन वर्ष पहिलेको कुरा हो। मध्यरातमा भेरीगंगा नगरपालिकाकी सविता (नाम परिवर्तन) को कोठामा कसैले बाहिरबाट ढकढक गर्यो। एकछिनपछि 'ढोका खोल्' भन्ने आवाज आइहाल्यो। जेठाजुको आवाज सुनेर सविता डराइन्। छेउमै सुतेका छोराछोरीलाई च्यापिन्।
जेठाजु रक्सीले मातेका छन् भन्ने उनको बोलीबाटै थाहा हुन्थ्यो। सविताले ढोका खोलिनन्। जेठाजुले ढोका जोरले हानेर खोले, भित्र पसेर सवितामाथि जबर्जस्ती गरे।
‘त्यो दिन ठूली छोरी मसँग भएको भए पनि त्यति हुन सक्थेन कि, ठूली छोरी मामाघर गएकी थिई,’ सविताले भनिन्, ‘एउटा तीन वर्षको, अर्को वर्ष दिन नपुगेको बच्चा काखमा थिए। ममाथि जबर्जस्ती हुँदा साना बच्चाको के लाग्थ्यो र !’
राति ३ बजे भएको यो घटना उनले आफ्ना श्रीमानलाई सुनाउन फोन डायल गरिन्। विदेश भएका श्रीमानले उनलाई ढाडस दिएनन्, बरू उल्टै आरोप लगाए।
‘श्रीमानलाई रूँदै फोन गरेर त्यो सबै कुरा भनेँ, उहाँ त झन् रिसाउनुभयो,’ उनले भनिन्, ‘मेरो दाइभाइ त्यस्तो व्यवहार गर्दैनन्, तँ नै उस्तै होस् भनेपछि मलाई अति तनाव भयो। त्यसपछि उहाँलाई कहिल्यै फोन गरिनँ।’
श्रीमान विदेश भएकाले उनले आफ्ना तीन सन्तानलाई दु:खसुख गरी हुर्काएकी थिइन्।
जेठाजुसँग उनको लेनदेनको विषयमा खटपट चलिरहन्थ्यो। श्रीमान विदेश जाँदा लिएको ऋण तिर्न साहुले ताकेता गरेपछि उनले अर्को साहुसँग मागेर पुरानो साहुलाई तिरेकी थिइन्।
त्यसपछि उनलाई परिवारले ‘बाठी बनेर अर्को ठाउँ ऋण थपेको’ भनेर हेप्न थाले। यही विषयमा जेठाजु–बुहारीबीच खटपट चलिरहन्थ्यो। विदेशमा भएका श्रीमानले उनलाई खासै वास्ता गर्थेनन्।
जेठाजुले बलात्कार गरेको कुरा पनि उनले पत्याएनन्। आफ्नै दाजुको सफाइ दिए।
यतिसम्म गरे कि, उनीमाथि भएको घटनाको विषयमा भोलिपल्टै गाउँका मान्छेहरूलाई आफैंले सुनाएछन्। एउटा गाउँलेबाट अर्को गाउँलेलाई हुँदै यो कुरा गाउँभर फैलियो।
परिवारले भने उनका जेठाजुको गल्ती नभएको भन्दै ‘इज्जत फालेको' आरोप सवितालाई लगाए। घरबाट निस्कन दबाब दिए।
‘घरबाट सबैले निस्की भन्न थाल्नुभयो। म या त मर्नुपथ्यो, या त घरबाटै निस्कनुपर्थ्यो,’ सविताले भनिन्, ‘हाम्रो इज्जत गयो, अब तँ यो घरमा बस्नु हुँदैन भनेर भन्नुभयो। केटा मान्छेको त्यसरी इज्जत जाने भए मेरो इज्जत कसरी रहन्थ्यो?’
उनले छोराछोरीको लागि भए पनि बाँच्नुपर्थ्यो त्यसमाथि उनी कानुनी लडाइँ लड्नु थियो। त्यसका लागि उनी घरबाट निस्कनुपर्यो।
उनी माइतीमा गइन्। सवितामाथि भएको घटनाको बारेमा माइतीमा पहिले नै कुरा पुगिसकेको थियो। माइतीलाई पनि उनका घरपरिवारले जबर्जस्ती गर्ने जेठाजुको बचाउ गरेर घटनाको बेलीविस्तार लगाएका थिए।
अरू त अरू सवितालाई आफ्नी आमाले नै भित्र पस्न दिइनन्। सानी छोरी काखमा बोकेर आएकी सविताले ‘बरू छोरी राखिदिनू, म निस्कन्छु’ भनेर पनि बिलौना गरिन्। माइतीले भने उनीमाथि भएको घटनाको वास्तविकता नबुझेरै हपार्न थाले।
माइतीले घर पस्न नदिए पनि उनलाई एक जना चिनजान भएकी महिलाले सहयोग गरिन्। दुई सय रूपैयाँ दिइन्। त्यही लिएर सविता प्रहरीमा पुगिन्।
प्रहरीमा उनले जेठाजुविरूद्ध उजुरी दिइन्। प्रहरी उनको गाउँमा पुग्दा परिवारले बेइमानी गर्ने जेठाजुलाई लुकाइसकेका थिए।
वास्ताविकता बुझेपछि माइतीले उनलाई साथ दिए। उनी केही समय माइतीमै बसिन्। जेठाजुको बलात्कारमा परेर उनी गर्भवती भएकी थिइन्। सात महिनापछि उनले बच्चा जन्माइन्। जन्मिएको एक महिनापछि बच्चा पनि मर्यो।
सविताका १४, ७ र ४ वर्षका छोराछोरी छन्।
‘आफूलाई खाना खर्च जुटाउनै गाह्रो हुन्छ, त्यसैमाथि बच्चाहरू बिरामी भए भने झन् समस्या हुन्छ,’ उनले भनिन्, ‘अहिले पनि छोरी बिरामी भएर दिनदिनै पाँच सय रूपैयाँ पर्ने सुइँ लगाउनुपर्छ, काम केही पनि छैन।’
सुख्खा समयमा खोलाबाट बालुवा निकालेर दैनिकी चलाइरहेकी उनलाई अहिले त्यही काम पनि गर्न मिलेको छैन।
विभिन्न संघसंस्थाले दिएको सहयोगले उनलाई जेनतेन चलेको छ। परिवारबाट भएको अन्यायका विरूद्ध लड्न उनले अधिवक्ता गीता कोइरालालाई गुहारेकी छिन्।
आफूमाथि बलात्कार गर्ने जेठाजुविरूद्ध मुद्दा हालेको थाहा पाएपछि परिवारले ती जेठाजुलाई भगाइसकेका छन्। घटना घटाएर यता ती जेठाजु गाउँमा नभएको उनले बताइन्।
‘मैले मुद्दा हालेको थाहा पाएर जेठाजुलाई श्रीमानले नै विदेशबाट पैसा पठाएर भगाउनुभयो, अहिलेसम्म पनि जेठाजु फरार नै हुनुहुन्छ,’ सविताले भनिन्।
उनको यो मुद्दा अहिलेसम्म अघि बढ्न सकेको छैन।
उनीमाथि जेठाजुले जबर्जस्ती गरेको दुई वर्षपछि उनका श्रीमान विदेशबाट आएका थिए। श्रीमान आएर सविताको नागरिकता खोस्ने प्रयास गरे। मुद्दा मामिलामा जान चाहिने प्रमाण खोस्नका लागि उनले धेरै प्रयास गरे।
नसकेपछि श्रीमानले सविता र छोराछोरीमाथि समेत कुटपिट गरे। श्रीमानको कुटाइबाट सविता दुई महिनासम्म थला परिन्।
श्रीमानले आफ्ना दाईसँग अनैतिक सम्बन्ध राखेको विषय बनाएर सवितासँग सम्बन्ध विच्छेद गर्नको लागि मुद्दा दिएका छन्।
उनलाई श्रीमानले मुद्दा दिएको पनि थाहा थिएन। त्यो कुरा थाहा पाएपछि उनले प्रतिउत्तर लगाउन अधिवक्ता कोइरालाकहाँ पुगेकी हुन्।
‘एक त यो घटना मलाई छोड्ने निहुँ बनेको थियो, त्यसमाथि मलाई श्रीमानले आफूले विदेशबाट पठाएको पैसा हिनामिना गरी भनेर झूटो आरोप लगाइरहनुभएको छ,’ उनले भनिन्, ‘आफू विदेश जाँदा लिएको ऋण तिर्ने बेलासम्म मात्र मेरो नाममा पैसा पठाउनुहुन्थ्यो, पछि सबै जेठाजुका नाममा पठाउनुहुन्थ्यो। पैसा आएपछि जेठाजुले नै एक हजार रूपैयाँ मलाई खर्च दिनुहुन्थ्यो।’
उनी घरबाट निस्किएर माइतीमा बस्दासमेत घरपरिवारले सताइरहे। परिवारका मान्छे आएर उनका छोराछोरी खोसेर लिन खोजे।
सवितालाई घरपरिवारले ४० हजार रूपैयाँ ऋण बोकाएका छन्। श्रीमानले विदेश जाँदा लिएकोमध्ये ४० हजार रूपैयाँ साहुले ताकेता गरेपछि अर्को व्यक्तिसँग सापटी मागेर उनले तिरेकी थिइन्। त्यो पैसा अहिले सविताले नै तिर्नुपर्ने परिवारले भनेका छन्।
‘श्रीमानले फोन गरेर ममाथि जबर्जस्ती गरेका जठाजुमाथि मुद्दा फिर्ता लिन दबाब दिनुहुन्छ। हामीसँग पावर छ, तँसग के छ र लड्छेस् भनेर धम्की दिनुहुन्छ,’ उनले भनिन्, ‘म त कसैका अगाडि बोल्न पनि सक्दिनँ, पढाइलेखाइ पनि छैन।’
श्रीमानले सविताकी बहिनीलाई पनि ‘तैंले दिदीलाई बाठो बनाएर मुद्दा हाल्न लगाइस्’ भनेर धम्की दिने गरेको उनले बताइन्।
सविताले सानै उमेरमा विवाह गर्नुपरेको थियो। माइतीले नै १३ वर्षको उमेरमा उनको विवाह गराएका थिए।
‘अहिले माइतीसँग पनि गुनासो गर्छु, त्यो उमेरमा विवाह नगरिदिएको भए पढ्न लेख्न सकेर आफ्नो भविष्य बनाउन सक्थें कि भन्दै तर के लाग्छ र?’ उनले भनिन्।
घरबाट निकालिएकी सविताले आफ्ना छोरीहरूलाई माइती नजिकै रहेको सामुदायिक विद्यालयमा पढाउन खोजेकी छन्। तर विद्यालयले जन्मदर्ताको कागज खोजेको छ।
छोरीहरूको जन्मदर्ताको सक्कली कागज उनका श्रीमानले नै गायब गरिदिएका छन्। प्रतिलिपी लिन जाँदा वडा कार्यालयले दिएको पनि छैन। श्रीमानले नै नदिन वडा अध्यक्षलाई दबाब दिएपछि आफूले नपाएको उनले बताइन्।
‘श्रीमानले नै नदिनू भनेर भन्नुभएको रहेछ, मेरै अगाडि पनि वडाध्यक्षसँग फोन गरेर त्यसलाई कुनै पनि प्रमाण नदिनू भन्नुभएको थियो,’ सविताले भनिन्, ‘जन्मदर्ता पाएको भए छोरीलाई सरकारी स्कुलमा पढाउँथें, सक्कल उहाँले नै लिएर लुकाउनुभएको छ। फोटोकपी माग्दा वडाले दिएको छैन।’
भेरीगंगा–१ का वडाध्यक्ष नवराज कार्कीले भने कार्यालयको काम अनलाइन प्रणालीमा गएपछि इन्टरनेटमा आएको समस्याका कारण तत्काल अभिलेखहरू हेर्न नमिलेको बताए।
‘साविकको गाविस कार्यालयमा भएको अभिलेख हो, यो अहिले वडा नम्बर २ को सचिवले काम गर्नेगरी जिम्मेवारी तोकिएको छ,’ वडाध्यक्ष कार्कीले भने, ‘उहाँ तत्काल बिदामा हुनुहुन्छ, इन्टरनेट पनि ढिला भएकाले तत्काल अभिलेख हेर्न नमिलेको मात्र हो।’
२८ गतेदेखि बिदामा भएका सचिव कार्यालय फर्किएपछि उनलाई अभिलेख हेरेर जन्मदर्ताको प्रतिलिपी दिइने उनले बताए।
आफूले पढ्न नपाएर अहिले भोग्नुपरेको समस्या भोलि छोरीले भोग्नु नपरोस् भन्ने सवितालाई लागिरहन्छ। त्यसैले उनी आफ्नो न्यायका लागि लडिरहने बताउँछिन्।