म्याग्दीकी भुलकुमारी रोकालाई नपढ्नु भनेको भुल बराबर लाग्थ्यो। धेरै ठाउँ पढाइकै कारण उनले 'ठक्कर' समेत खान परेको थियो।
४८ वर्षीया उनले धेरै पटक सुनेकी पनि थिइन्, 'पढेको र नपढेको मान्छेमा धेरै फरक हुन्छ।'
कस्तो फरक भनेर उनलाई थाहा पाउन मन थियो।
जंगलमा घाँस–दाउरा खोज्न जाँदासमेत कापी बोकी हिँड्ने उनलाई पढ्ने–सिक्ने रहर थियो। तर घरायसी व्यस्तताले पढाइ छाड्नुपर्यो। १९–२० वर्षमा बिहे भयो। नयाँ घरमा बुहारी बन्दाको कर्तव्यले थिच्यो। पछि श्रीमान विदेश गए। तीन बच्चा हुर्काउँदा र घर सम्हाल्दा पढ्ने सपना सपनै भयो।
छोराछोरी स्कुल पढ्न जाँदा कहिलेकाहीँ उनी सोच्थिन्, 'यिनीहरूसँगै स्कुल जानुपर्छ कि क्या हो?'
फेरि सोच्थिन्, 'नानीहरूलाई पढाउने समयमा कहाँ आफू पढ्नु!'
यस्तै अलमलबीच उनका धेरै वर्ष बिते।
२०७३ सालमा बेनीमा एउटा स्कुल खुल्यो, उज्यालो वैकल्पिक विद्यालय। प्रौढहरूलाई औपचारिक शिक्षाको पहुँचमा ल्याउन स्थापित उक्त स्कुलमा विशेषगरी १५ वर्षमाथिका महिला पढ्छन्।
यो स्कुलबारे भुलकुमारीले थाहा पाइन्।
उनको लेख-पढ गर्ने रहर ब्युँतियो। त्यतिबेला उनका कान्छा छोरा एसइइ तयारीमा थिए भने ठूली छोरी र छोरा स्नातक पढ्दै थिए। छोराछोरीको जिम्मेवारी साना हुँदाजस्तो थिएन।
त्यसैले उनले सोचिन्, 'यस्तो उमेरमा पनि पढ्न पाइन्छ भने जसरी पनि जाने हो!'
स्कुल खुल्नेबित्तिकै उनी भर्ना भइन्। सुरूमै उनलाई कक्षा पाँचमा राखियो।
उनले 'म त केही जान्दिनँ, तल कक्षामा बस्ने हो' भने पनि स्कुलको नियमले मानेन। त्यसैले सुरूका दिनमा उनलाई निकै मेहनत पर्यो। प्रश्नका उत्तर कसरी दिने, पाठले के भनेको हो जस्ता जिज्ञासा उनलाई सधैं हुन्थ्यो।
उनी घरका काम जतिसक्दो चाँडो सकेर कक्षामा आइपुग्थिन्। उज्यालोमा पढाइ ११ देखि तीन बजेसम्म हुन्छ। त्यहाँ दिइएका गृहकार्य सबै कामधन्दा भ्याएर रातभर बसेर गर्थिन्।
एकदिन कक्षा छुट्यो भने धेरै पाठ छुट्छ भन्ने लाग्थ्यो उनलाई। छुटाएका पाठ भोलिपल्ट उनीजस्तै साथीहरूलाई सोधिहाल्थिन्।
पढाइप्रति यही लगावका कारण भुलकुमारीले यो वर्ष एसइइ पास गरेकी छन्। उनले २.६० जिपिए ल्याइन् जुन उनको समूहको सबभन्दा धेरै अंक हो। ३६ वर्षीया तिर्सना भण्डारीले पनि यति नै अंक ल्याएकी छन्।
भुलकुमारी र तिर्सनासहित ६० वर्षीया भुलमाया तिलिजा, ५५ वर्षीया लालकुमारी सापकोटा, ३७ वर्षीया सविना नेपाली, ३० वर्षीया रेणु बिक, २८ वर्षीया पुष्पा शाही, २४ वर्षीया ललिता तिलिजा र २५ वर्षीया सलिना बिक गरी नौ जनाले यसपालि उज्यालोबाट एसइइ उत्तीर्ण गरेका हुन्। उनीहरूको जिपिए २.४० देखि २.६० सम्म छ।
भुलकुमारी सुरूसुरूमा पढ्न जाँदा मान्छेहरूले 'मर्ने बेलामा हरियो काँक्रो' भनेको उनलाई हिजोजस्तै लाग्छ। त्यतिबेला 'राम्रो कुरा सिक्दा के हुन्छ' भन्दै उनी आफ्नो मनोबल बढाउँथिन्। अहिले तिनै मान्छेको बधाइको ओइरो लागेको छ।
मंगलबार उनी काठमाडौंमा रहेका छोराछोरीको खातामा पैसा हालिदिन म्याग्दी बजारको बैंक गएकी थिइन्। त्यहाँका मान्छेले उनलाई बधाइ दिँदै भने, 'हजुरले त छक्क पार्नुभयो। बुढी भए पनि टाठो हुनुहुँदो रहेछ।'
लेखपढ गरेकै कारण अहिले उनी बैंकको काम आफैं गर्न सक्छिन्। कुनै बेला अर्को मान्छेलाई लेखिदिनभन्दा गाली खानुपरेको थियो। त्यो बेला उनलाई खुबै रून मन लागेको थियो। अहिले त पढाइले दिएका खुसीका पल मात्र छन्।
परिक्षाफल आएको साता दिन पुग्दा पनि आइरहेका बधाइले दंग परेकी उनले भनिन्, 'अझ पढ्न–सिक्न मन छ। अगाडिका कक्षाहरू पनि पढ्छु।'
भुलकुमारीकी सहपाठी भुलमाया तिलिजा ६० वर्ष भइन्। उज्यालोबाटै एसइइ दिएर उनले २.४५ जिपिए ल्याएकी छन्। उनी समूहकै सबभन्दा पाको उमेरकी हुन्।
म्याग्दीलाई 'थन्किएको र दुर्गम गाउँ' भन्ने भुलमायाले सानोमा पढ्न मन भएर पनि पाइनन्।
'हाम्रो पालामा स्कुलहरू त खुलेका थिए तर आमाबुवाले कहिल्यै पढ्न जा भन्नुभएन,' उनले भनिन्।
गाईगोठ र घरायसी काममै दिन बिते। २०४६ सालतिर बिहे भएपछि जीवनको अर्को अध्याय सुरू भयो। ४८–४९ सालतिर प्रौढ शिक्षा पढे पनि बालबच्चा हेर्ने मान्छे नभएपछि रोकियो।
दुई महिनाको साधारण लेख–पढले के नै हुन्थ्यो? भुलमायालाई भने आफ्नो नामसम्म लेख्न सक्ने भए हुन्थ्यो भन्ने लागिरहन्थ्यो।
सक्रिय स्वाभावकी भुलमाया गाउँबाट सदरमुकाम बेनी झरेपछि विभिन्न संघ–संस्थामा आबद्ध भइन्। समाजसेवा गर्न थालिन्। त्यस्ता संस्थामा काम गर्दा महिला सहभागिताको माग बढी हुन्थ्यो। नपढेकै कारण आफूले विभिन्न अवसर गुमाउन परेको उनले बताइन्, 'जहाँ गए पनि शिक्षा नै ठूलो रहेछ।'
गण्डकी प्रदेशकी पूर्वमन्त्रीसमेत रहेकी सांसद नरदेवी पुनसँग उनले यसबारे कुरा गरिन्। पुनले वैकल्पिक विद्यालयबारे बताइदिइन्। त्यसका लागि गर्नुपर्ने प्रक्रियाहरू बुझाइन्।
विभिन्न कारणले पढ्ने इच्छा भएर पनि पढ्न नपाएका आमाहरूलाई पढ्ने अवसर दिन उज्यालो विद्यालय खोल्न पुनको ठूलो हात भएको भुलमाया बताउँछिन्।
भुलमायाका एक छोरा छन्, अमेरिका बस्छन्। घरमा श्रीमान छन्। मधुमेहको चापले एक वर्षयता हिँडडुल गर्न नसक्ने गरी थलिएका छन्। यो सबै परिस्थिति झेल्दै उनले जसोतसो एसइइ दिएकी थिइन्। महेनतले उनलाई सफलता दिलायो।
भुलमायाका साथीहरू यसपछिको पढाइ निरन्तरता दिने कुरा गरिरहेका छन्।
त्यस्तो बेला उनी भन्छिन्, 'खोइ! आँट्न सक्दिनँ होला। समयले पनि अवसर दिएको छैन। तिमीहरू मभन्दा साना छौ, पढ है।'
उज्यालो वैकल्पिक विद्यालयको यो सफलताले अहिले पूरै बेनी उज्यालिएको छ। यी आमाको मेहनत र सफलताको कथाले उनीहरूजस्तै चुलोचौका र गोठमा सीमित अरू महिलामा पनि पढ्ने उत्सुकता बढेको विद्यालयका सचिव लोक पुन मगर बताउँछन्।
'सुरूमा उहाँहरू नै पढ्ने इच्छा देखाएर आउनुभएको थियो,' उनले भने, 'त्यसपछि हामीले नगरपालिका, गण्डकी प्रदेश पूर्वमन्त्री लगायतको सहयोगमा विद्यालय स्थापना गर्यौं।'
पाँच वर्षअघि स्थापित यो स्कुलमा एकदेखि दस कक्षासम्म पढाइ हुन्छ। तर आमाहरूको पढ्ने क्षमता हेरेर सुरूकै कक्षामा भर्ना गरिन्छ भन्ने छैन। कोही पढाइमा राम्रो छन् भने कक्षा उकालिन्छ। कक्षा ८ पछिको पढाइ भने निरन्तर हुन्छ। अहिले एसइइ दिएका सबै आमाले कक्षा पाँचबाट सुरू गरेका हुन्।
विद्यालयमा महिलाहरूले नेपाली, अंग्रेजी, गणित लगायत विषय पढ्नुसँगै कम्प्युटरसमेत चलाउन सिक्दै छन्। अहिले यो स्कुलमा बीसदेखि ६० वर्ष उमेर समूहका ६८ आमा अध्ययनरत छन्। पहिले त योभन्दा धेरै थिए। समयक्रममा कोही बसाइ सरेर गए, कोही घर व्यवहारका कारण टाढिए। पहिलो ब्याचको यो सफलताले भने संख्या बढ्नेमा आफूहरू आशावादी भएको मगरले बताए।
'पहिले बीचमै पढाइ छाड्नुभएकाले पनि पढेको भए त पास हुने रहेछौं भनेर अहिले भन्न थाल्नुभएको छ,' उनले आशावादी हुँदै भने, 'कोरोना सहज भयो भने माहोल पनि राम्रो बन्छ होला।'
उज्यालोले छरिदिएको यो उज्यालोका कारण पहिले कामकाजका लागि नाम लेख्न नआएर औंठा छाप दिने यी आमा अहिले हस्ताक्षर गर्न सक्छन्। मोबाइलमा फोन नम्बर डायल गर्न नसकेर सहारा लिनुपर्ने उनीहरू अहिले हिसाबकिताब गर्नै सक्षम छन्।
यी आमाहरू देशकै उदाहरण भएको बताउँदै मगरले भने, 'बुढेसकालमा केही गर्न सकिन्न भनेर भन्ने मान्छेलाई उहाँहरूले पढेर देखाइदिनुभयो। पढ्न उमेर कहिल्यै बाधा हुँदैन भन्ने उदाहरण उहाँहरू नै हो। अब अक्षर नचिनेकै कारण विभिन्न कामबाट यी आमाहरू बञ्चित हुनपर्ने छैन।'