बुबा अर्की श्रीमती बिवाह गरेर विदेशिए। आमाले पनि अर्कै केटासँग विवाह गरिन्। भएकी एक दिदीको ४–५ वर्षअघि नै मृत्यु भयो। विचल्लीमा परिन्, कास्कीको मादी– ९ सिप्लीबेसीकी कोपिला बिक।
जब उनी अभिभावकविहीन भइन्, मादी–१० मकैखोलास्थित मामाघर बसेकी थिइन्। मामाघरकी हजुरआमाले पोखरास्थित कोपिला नेपाल नामक संस्थामा भर्ना गरेर त्यही बस्ने, पढ्ने व्यवस्था मिलाइन्। सानैदेखि अभिभावक गुमाएकी कोपिलामा कहिलेकाँही मानसिक समस्या देखिन्थ्यो, संस्थामा १० वर्ष बस्दा उनले ३ कक्षासम्म मात्र पढ्न सकिन्।
सो संस्थाको बसाइपश्चात उनी मामाघर नै गएर बसिन्। जहाँ हजुरआमा पुतली परियारले उनलाई असाध्यै माया गर्थिन्। चाडपर्वमा पोखरा घुमाएर गाउँ लैजान्थिन्।
कोपिला गाउँ फर्किँदा उनको मिल्ने साथी थिइन्, लक्ष्मी परियार। उनीहरु समकक्षी थिए। कोपिला लक्ष्मीको घर गइराख्थिन्। उनीहरु नजिकैकौ मौरीखोलामा पौडी खेल्न होस् या पानी भर्न प्राय सँगै जान्थे। लक्ष्मीका बुबा कृष्ण भन्ने किसान दमाइले पनि कोपिलालाई उत्तिकै माया गर्थे।
गाउँमा रहेको स्कुल जनकल्याण माविको नयाँ भवन निर्माण भइरहेको थियो। गाउँमा मजदुर थिएनन्। ठेकेदर पदम तामाङले अन्य जिल्लाबाट मजदुर मगाए। त्यसैमा एक थिए, स्याङ्जाको हरिनास गाउँपालिका– ६ चालिसेका मोटे भन्ने रामबहादुर थापा। मोटेको वास्तविक नाम खड्कबहादुर खवास हो। उनलाई धेरेजसोले मोटे भन्छन्, केहीले रामबहादुर।
ठेकेदार पदमले काम गर्न बोलाएपछि खड्कबहादुर जेठ १ गते विद्यालय भवन बनाउन त्यो गाउँ पुगे। जेठ २ देखि नै उनले काम थाले। खड्कबहादुर गाउँ जाँदा श्रीमती लिएर गएका थिए। स्याङ्जामा उनको अर्की श्रीमती सुत्केरी थिइन्। यसरी पहिले नै खड्कबहादुर दुई श्रीमतीका श्रीमान थिए।
स्कुल भवन बनाउने काम गर्दागर्दै गाउँमा खड्कबहादुरको कोपिलासँग चिनजान भयो। उनले प्रहरीलाई दिएको बयान अनुसार जेठ १५ गते उनीहरुबीच चिनजान भएको थियो। त्यसपछि उनीहरु एकअर्कालाई भेट्ने क्रम दिनानुदिन बढ्न थाल्यो। खड्कबहादुरले बालिकालाई चाउचाउ लगायत खानेकुरा किनिदिन थाले।
खड्कबहादुरले भेटघाटका लागि स्कुल बनाइरहेको ठाउँमा कोपिलालाई बोलाउँथे। कोपिला पनि जान्थिन्। उनीहरु गफिन्थे। उनीहरु दुबै जना सकेसम्म एकान्तमा भेटघाट गर्थे। कोपिला पौडी खेल्न जाने माैरीखोला पनि उनीहरुको एउटा भेटघाट गर्ने ठाउँ बनेको थियो। नजिकिँदै जाँदा खड्कबहादुरले कोपिलामाथि कूदृष्टि लगाए।
कोपिला २०७७ असार ११ गते घनिष्ठ साथी लक्ष्मीको घरमा थिइन्। खड्कबहादुर त्यहीं पुगे। उनीहरुबीच अस्वभाविक गतिविधि भएको आशंकामा कोपिलाका बुबा किसानले खड्कबहादुरलाई हप्काए, सोधपुछ गरे। खड्कबहादुरले केही होइन भनेर टारिदिए।
खड्कबहादुरले प्रहरीलाई दिएको बयानअनुसार लक्ष्मीको घरमा पनि कोपिलालाई बलात्कार गरेका थिए। किसानले थाहा पाएको आशंकमा उनलाई तनाब भएको थियो। अस्वभाविक हर्कत भएको भन्दै किसानले कोपिलाका हजुरआमालाई पनि सचेत गराए।
असार १५ गतेका दिन बिहानै हजुरआमासँग कोपिलाले २ सय रुपैयाँ मागिन्। तर उनले पैसा पाइनन्। घरबाट निस्केकी कोपिलालाई दिउँसो बनिरहेको स्कुलभन्दा केही तल स्थानीय विष्णुमाया भुजेलले भेटिन्। कोपिलाले प्याजी रङको कुर्ता र हरियो सुरुवाल लगाएकी थिइन्। विष्णुमायाले सोध्दा ‘खोलातिर जान लागेको,’ भनी जवाफ दिइन्, र अघि बढिन्।
कोपिला एक दिन पनि गाउँका केटाकेटी सहित मौरीखोलामा पौडी खेल्न गइन्। दिउँसो २ बजेपछि अरु केटाकेटीलाई उनले घरतिर जान भनिन्। एउटी सानी बालिका एन्जिला पनि कोपिलासँगै खोलामा थिइन्। उनलाई कोपिलाले खोलाबाट केही पर गाउँतर्फ आफैले लगिन्। ‘अब घर जाउ’ भनेर छाडिन् र कोपिला फेरि खोलातर्फ फर्किन्।
कोपिला जुन लुगा लगाएर गएकी थिइन्, त्यही लुगा लगाएर पौडिन्। पौडिदा भिजेको लुगा लगाएर गाउँ फर्किनन्। खोलाकिनारकै एउटा ढुङ्गामा पल्टिएर उनले लगाएको लुगा सुकाइन्। अरु दिन पनि उनले पौडी खेल्न जाँदा यसरी नै आफूले लगाएको लुगा सुकाउँथिन्। अर्को लुगा लैजान्थिनन्।
त्यसपछि हराएकी कोपिला १० दिनसम्म भेटिइनन्। कहाँ गइन्, कता लागिन्? कसैलाई पत्तो भएन। हजुरआमा पुतली र परिवारले गाउँघर वरिपरि जंगलतिर खोजेका थिए तर पाएनन्। दश दिनपछि असार २५ गते कोपिलाको लाश भेटियो, कुहिएर मान्छे चिन्नै मुश्किल पर्ने अवस्थामा।
गाउँ जाने बाटोभन्दा केही माथि एउटा पातीघारी छ। त्यही घारीमा उनको लाश भेटिएको थियो। स्थानीय सुरेश गुरुङको पातीघारीमा तिनै खड्कबहादुरले कोपिलाको हत्या गरेका रहेछन्। प्रहरीलाई दिएको बयानमा खड्कबहादुरले बलात्कारपछि कोपिलाको हत्या गरेको स्वीकारेका छन्। हत्यामा आफू बाहेक अरु कसैको संलग्नता नरहेको पनि उनले बताएका छन्।
बलात्कार पश्चात कोपिलाले आफूलाई बिहे गर्नुपर्ने शर्त राखेको खड्कबहादुरले बताएका छन्। यसअघि नै २ श्रीमती रहेका खड्कबहादुरलाई यो कुरा सह्य भएन।
बिहे गर्न ढिपी कसेपछि कोपिलालाई एक झापड हानेको खड्कबहादुरले बताएका छन्। बलात्कार पश्चात कुटाई खाएकी कोपिला पातीघारीमै चिच्याउँछिन् र रुन्छिन्। त्यसपछि नै खड्कबहादुरले उनको हत्या गरेको स्वीकारेका छन्।
कोपिलाले लगाएको सुरुवालकै गलपासो हालेर हत्या गरेको खड्कबहादुरले बताएका छन्। चिच्याएर रुन थालेपछि आवाज रोक्न उनले कोपिलाको घाँटी कसेका थिए। कोपिलाको मृत्यु भएपछि खड्कबहादुर त्यहाँबाट निस्केर आफू बस्ने ठाउँतिर लागे।
कोपिलाको शव देखेका सुरेश गुरुङले गाउँले र जनप्रतिनिधिलाई खबर गरे। उनीहरु शव भएको पातीघारी पुगे। किराले खान थालेको कोपिलाको लाश हेर्न खड्कबहादुर पनि पुगे। उनैले छिटो प्रहरी बोलाउनुपर्छ भन्न थाले। कोपिलाको शव पोष्टमार्टम गर्न प्रहरीले पोखरा ल्यायो। खड्कबहादुर पनि सँगै आए। पोखराको रामघाटमा कोपिलाको दाहसंस्कार भयो। खड्कबहादुर पनि दाहसंस्कारमा गए।
शव भेटिएपछि अनुसन्धानमा जाँदा प्रहरीले खोलामा एउटा टिसर्ट भेटेको थियो। कतिपयले त्यो टिसर्ट कोपिलाकै भएको जिकिर गरे। उनका हजुरआमा पुतलीले भने त्यो टिसर्ट नातिनी कोपिलाको नभई मोटे (खड्कबहादुर)को बताइन्। तर कसैले पत्याएनन्। चलाखीपूर्ण तरिकाले त्यो टिसर्ट पनि कोपिलाको शवसहित पोखरा आयो, कोपिलाासँगै जलेर खरानी भयो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले खड्कबहादुर र अरुलाई नियन्त्रणमा लियो। तर नियन्त्रणमा लिँदा आप्mनो अपराध स्वीकार गरेनन्। कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार खड्कबहादुरले त्यतिबेला घटनाका बारेमा आफूलाई केही जानकारी नभएको बताइरहे। प्रहरीले पनि तत्काल प्रमाण जुटाउन सकेन। खड्कबहादुर रिहा भए, बर्षदिनसम्म यो घटना यत्तिकै रह्यो।
यता, पीडित परिवारले भने बालिकाको हत्या खड्कबहादुरले नै गरेको जिकिर गरिरहे। पटक– पटक प्रहरी कार्यालय आएर हजुरआमा पुतलीले किटानी जाहेरी दिने बताइरहिन्। आरोपीले अपराध अस्वीकार गरेको र प्रमाण पनि नभेटेको अवस्थामा प्रहरीले पनि खड्कबहादुरलाई नियन्त्रणमा राखिरहन मिलेन।
कोपिलाकी हजुरआमा पुतली र सानीआमा मिना परियार बारम्बार प्रहरी कार्यालय आए। हत्या खड्कबहादुरले नै गरेको जिकिर गरिरहे। कोपिलाकी सानीआमा मिना मादी गाउँपालिकाको वडा सदस्य समेत हुन्। कोपिलामाथि यति ठूलो अपराध हुँदा समेत कसैले सहयोग नगरेको उनीहरुको गुनासो छ। ‘हामीलाई गाउँलेले हिम्मतको वचन पनि दिएनन्,’ पुतलीले भनिन्, ‘हामी गरिब भएर होला, मुद्दा लड्न हामीसँग पैसा पनि थिएन।’
त्यसो त मिनाले गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ र अन्य जनप्रतिनिधिलाई घटनाका बारेमा बारम्बार जानकारी गराइन्। अध्यक्ष श्यामले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए। तर अभियुक्त खुलमखुला हिँडिरहेको पीडित परिवारले पचाउन सकेनन्।
‘हामीले त्यतिभाँती भनेको आखिर त्यही मोटे (खड्कबहादुर) रहेछ त,’ पुतलीले भनिन्। प्रहरी कार्यालय धाउँदा उनलाई प्रहरीले गेटबाटै भित्र छिर्न समेत नदिएको गुनासो गरिन्।
पातीघारीमा बालिका बलात्कारपछि हत्या भएको घटना यत्तिकै तुहिँदै थियो। गाउँमा भने बालिकाको हत्या खड्कबहादुरले नै गरेको चर्चा थियो। तर प्रमाण थिएन। यो घटना यत्तिकै सेलाउन थाल्यो। कास्कीका प्रहरी प्रमुख भएर असार २१ गते पोखरा आएका एसपी रमेश थापाले यो घटनालाई आफै खटेर फेरि अनुसन्धान अघि बढाए।
‘बालिका बलात्कारपछि हत्या हुनु अत्यन्त संवेदनशील घटना थियो, त्यही भएर यसैमा केन्द्रित भएर अनुसन्धान अघि बढाएँ,’ एसपी थापाले भने, ‘म आफैं घटनास्थल पुगेर अनुसन्धान गरेको थिएँ।’ घटनाको अनुसन्धान गर्न एसपी थापा साउन १८ गते गाउँ पुगे। कोपिलाका नजिकका साथी र केटाकेटीसँग भेटेर कुरा गरे। कोपिला नजिकिएका व्यक्तिहरुसँग पनि सोधपुछ गरे।
गाउँ पुगेर सोधपुछ थालेपछि एसपी थापाले खड्कबहादुरलाई शंका गर्न थाले। सोधपुछका क्रममा गाउँलेले पनि उनैप्रति इङ्गित गरेका थिए । खड्कबहादुर पटक–पटक कोपिला भेट्न खोलामा पुग्ने गरेको उनले थाहा पाए। सोधपुछका लागि प्रहरीले फेरी खड्कबहादुरलाई स्याङ्जाको पुतलीबजार नगरपालिका–४ शिवमन्दिर चोकबाट पक्राउ गर्यो। एसपी थापाले गाउँबाट ल्याएको सूचनाका आधारमा खड्कालाई प्रश्न गरे।
अब भने खड्कबहादुरले घटनाबारे आफूलाई थाहा छैन भन्न सकेनन्। किनकि, एसपी थापाले त्यसदिन कोपिलासँग खड्कबहादुर रहेको सूचना ल्याएका थिए। त्यही सुचनाका आधारमा खड्कबहादुरले बलात्कारपछि हत्या गरेको स्वीकार मात्र गरेनन्, त्यो घटना घटाउनुका कारण र कोपिलासँगको सम्बन्ध केलाए। प्रहरीलाई भिडिओ बयान दिँदै उनले आफू कसैको करकापमा नपरी उक्त घटना घटाएको बताएका छन्।
प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट १० दिन म्याद पाएको छ। खड्कबहादुरलाई सुस्त मनस्थितिकी बालिका बलात्कार र हत्याको अभियोग लगाउने प्रहरीको तयारी छ। उनलाई बाचुञ्जेल कारागार राख्न माग गर्दै मुद्दा दायर गर्ने तयारी रहेको एसपी थापाले बताए। उनले भने, ‘जघन्य अपराधमा संलग्न व्यक्ति कानुनी दायराबाट उम्कन सक्दैन, एकदिन कारबाही हुन्छ हुन्छ।’