पोखरा-८ आलुमाइला चोकका सुवास गुरुङले हचुवामा कालिज फार्म खोलेका थिएनन्। उनले कालिज पाल्न ६ महिना लामो अध्ययन गरेका थिए। कालिज पाल्ने तरिका र उपचारका सामान्य विधि सिकेका थिए। पोखराकै कुनो कालिज फार्ममा उनले कालिज पाल्ने तरिका र यसका फाइदा बेफाइदा बुझे र कालिज पालनमा होमिएका थिए।
कालिजलाई घाम, पानी, जाडो र गर्मीले असर गर्दैन भनेर उनलाई भनिएको थियो। अन्य प्रजातिका पशुपंक्षी पाल्नभन्दा कालिजमै उनले धेरै फाइदा देखे।
‘एउटै कालिजको मूल्य ३५ सय पर्छ, जाडो, गर्मी र पानीले केही गर्दैन भनेर कालिज फार्म खोलेको हुँ,’ सुवासले भने, ‘१४ घन्टासम्म परेको भारी वर्षा पानी कालिजले सहन सकेन।’
उनले पोखरा-११ मा सासु कालिज फार्म एन्ड रेष्टुरेन्ट बनाउँदै छन्। यसका लागि उनले २ करोड बढीको योजना बनाएका छन्। यसका लागि उनले काहुँडाडामा ६ रोपनी ३ आना जग्गा लिए। जसमा २ रोपनी कालिज फार्मका लागि छुट्याएका थिए। कालिज फार्म सञ्चालनमा ल्याउँदा र रेष्टुरेन्टका काम थाल्दा उनको ५० लाख लगानी भइसकेको छ।
रेष्टुरेन्ट अहिले निर्माणाधीन अवस्थामै छ। कालिज फार्म भने सञ्चालनमा ल्याइसकेका थिए। उनले पोखराकै विभिन्न फार्मबाट किनेर ११ सय वटा कालिजका चल्ला फार्ममा राखे। कुनै ४० दिनका चल्ला थिए त कुनै १ दिनका चल्ला। उनले सिकेअनुसार ८० दिन कालिजलाई खोरमा राखेर हुर्काए। हुर्काउने क्रममै १७० वटा कालिज मरे।
कालिजका चल्ला ८० दिन खोरमा राखेपछि बाहिर छाड्न सकिने सुवासको सिकाइ थियो। खोर बाहिर खुला ठाउँमा कालिज उडेर अन्त जान नसकोस् भनेर जाली लगाए। त्यही जालीभित्र रहने गरी उनले खोरका कालिजबाहिर निकाले। शुक्रबारबाहिर निकालेर सुवासले कालिजलाई दानापानी दिए। खोरभन्दा खुला ठाउँमा कालिज पनि रमाएकै थिए।
पोखरामा निरन्तर परिरहेको पानी अझै रोकिएको छैन। शुक्रबार पनि पानी परिरहेको थियो। उनले सिक्दा नै कालिजलाई वर्षाले केही असर गर्दैन भनेर सिकेका थिए। कालिजलाई जाली बनाएर राखिएकै ठाउँमा छाडेर सुत्न गए। बिहान उठेर फार्म पुग्दा कालिज जिउँदा थिएनन्।
बाहिर छाडेका ९३० वटा कालिजमध्ये ६११ वटा कालिज रातभरिको पानीले मरेछन्। सुवासले पोखराकै अन्य कालिज पालकलाई सोधे। पानीकै कारण कालिज मरेको उनले थाहा पाए।
‘भित्र खोरमा बसेको कालिज बाहिर निकाल्दा तापक्रम मिलेन,’ सुवासले भने, ‘भित्रबाट बाहिर निकाल्नेबित्तिकै लामो समय पानीले भिजेका कारण कालिज मरे।’
उनका अनुसार कालिजमा कुनै रोगको लक्षण देखिएको छैन।
कालिज फार्म खोल्नेबित्तिकै पहिलो चरणमा पालिएको कालिज नै आधाभन्दा धेरै मरेर गए। सुवासले मरेका कालिज सोमबार खाल्डो खनेर पुरेका छन्। अब बाँचेका ३१९ वटा कालिजमात्रै सुवासको फार्ममा छ। बाँचेका कालिज मर्न नदिन उनले जालीमाथि प्लाष्टिकले छोपेका छन्। वर्षाको पानीबाट कालिज जोगिएका छन्।
सुवासका फार्ममा मरेका कालिज करिब ३ महिनाका थिए। उनका अनुसार पोथी कालिजले अन्डा पारेपछि मात्रै भाले बिक्री गरिन्छ। यसका लागि कम्तिमा ७ महिना पाल्नुपर्ने सुवासले बताए।
‘अब तीन महिनापछि कालिज बेच्ने बेला हुन्थ्यो,’ उनले भने, ‘फार्ममै कालिज मर्दा मेरो १७ लाख रुपैयाँ क्षति भयो।’
कालिज पाल्दा पहिलो चरणमै ठूलो नोक्सानी ब्यहोरेका सुवासले हिम्मत भने हारेका छैनन्। उनले फेरि कालिजका नयाँ चल्ला अर्डर गरेका छन्। १/२ दिनमै ५ सय वटा चल्ला ल्याउँदैछन्। पोखरामा रहेका अन्य कालिज फार्मबाट चल्ला अर्डर गरेको सुवासले बताए।
लकडाउनका बेला कालिज फार्म र रेष्टुरेन्टको काम अघि बढाएका सुवासले आफ्नै फार्ममा उत्पादन भएको कालिज रेष्टुरेन्टमा पकाएर पस्कने धोको छ।
‘लकडाउनको समय भनेको फार्म खोल्ने र रेष्टुरेन्ट बनाउने समय हो,’ उनले भने, ‘पछि त पक्कै खुल्ला नि।’
सुवासको सासु कालिज फार्म एन्ड रेष्टुरेन्ट रहेको काहुँडाडा पोखराको अर्को पर्यटकीय क्षेत्र हो। जहाँबाट पोखरा शहर र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रष्ट देखिन्छ भने उत्तरतर्फ अन्नपूर्ण श्रृङ्खलाका सबैजसो हिमाल देखिन्छ। पोखरा भित्रका मात्रै नभएर अन्य ठाउँबाट आएका युवाहरू काहुँडाडा उक्लन थालेका छन्। त्यही सम्भावना देखेर नै सुवासले काहुँडाडामा लगानी गरेका हुन्।
कालिज फार्म र रेष्टुरेन्ट चलाउन लागेका सुवास यसअघि नै बाख्रा पालक हुन्। पोखरा-२२ पुम्दीभुम्दीमा अहिले पनि उनको बाख्रा फार्म छ। जहाँ अहिले पनि ८० वटा बाख्रा छन्। २ जनाले कामदार राखेर बाख्राको हेरचाह गरिरहेका छन्। उनले खोलेको इन्द्रेणी बाख्रा फार्ममा कहिलेकाँही ११५ वटासम्म बाख्रा पुग्छ। बाख्रा पालनमा भन्दा कालिजमा फाइदा देखेर नै उनले कालिज फार्म र रेष्टुरेन्टमा लगानी गरेको बताए।
सुवासको उक्त बाख्रा फार्म २०७२ मा दर्ता गरेर चलाएका हुन्। त्यसअघिदेखि नै उनले बाख्रा पाल्न थालेका थिए। अरू काममा भन्दा किसानीमै फाइदा भएकाले यतातिर लागेको उनको भनाइ छ। कालिजमा गरेको पहिलो लगानी खेर गएपछि उनले छोटो भिडिओ बनाएर मृत कालिजलाई समवेदना दिएका छन्।
भिडिओमा उनले भनेका छन्, ‘भारी वर्षाका कारण सबै सखाप भएको छ। यहाँ ५ सय बढी चल्ला छन्। भारी वर्षाका कारण यिनीहरूले आफ्नो ज्यान बचाउन सकेनन्। सबै मेरो कालिज परिवारलाई हार्दिक समवेदना!’