डेढ वर्षअघि जुम्लाको हिमा गाउँपालिका-३ की भीमा (नाम परिवर्तन) सीप विकाससम्बन्धी एक तालिममा सहभागी हुन गाउँपालिकाको कार्यालयमा आएकी थिइन्। तालिम आवासीय रूपमा चलिरहेको थियो।
बीचमा एकदिन तालिम लामो समय चल्यो। तालिम चल्दै गर्दा बेलुका अबेर भयो। भीमाको मोबाइलको चार्ज सकिएको थियो। उनलाई घरमा आमासँग फोन गर्नु थियो। उनले त्यो कुरा गाउँपालिकामा भएका एक कर्मचारीलाई सुनाइन्।
ती कर्मचारीले आफू बस्ने कोठामा गएर मोबाइल चार्ज गरेर फोन गर्न भने। उनी मोबाइल चार्ज गर्न त्यो कोठामा गइन्। उनलाई थाहा नदिएर पछिपछि ती कर्मचारी पनि गए। कोठामा एक्लै भएकी भीमालाई निरीह बनाएर शारीरिक सम्बन्ध राखे।
उनी त्यतिबेला १६ वर्षकी मात्र थिइन्। उनीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राखेका कर्मचारी हिमा गाउँपालिकामै कार्यरत खरिदार दानबहादुर रोकाया थिए।
सम्बन्धपछि भीमा गर्भवती भइन्। गएको कात्तिकमा उनको बच्चा जन्मियो। जन्मिएको १० महिनापछि तिनै व्यक्ति (खरिदार)ले बच्चा गायब बनाइदिएका छन्।
भदौ ३ गते उनले आफ्नो अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई अपहरण गरेर गायब बनाएका हुन्।
बच्चा अपहरण गरेको अभियोगमा रोकायामाथि मुद्दा चलिरहेको छ। भदौ ५ गते उनी सुर्खेतबाट पक्राउ परेका थिए। ७ गते सुर्खेत प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार उनीमाथि जिल्ला अदालतबाट सुरूमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
शिशुलाई अपहरण गर्नेमा उनकै संलग्नता देखिएको उनले बताए।
‘अहिलेसम्मको अवस्थालाई हेर्दा घरबाट बच्चा निकालेर लैजानेमा उनकै संलग्नता देखिएको छ, सोधपुछका क्रममा मैले लिएको हुँ भन्नेसम्म आएको छ,’ डिएसपी थापाले भने, ‘बाँकी प्रमाण जुटाउने गरी अनुसन्धान भइरहेको छ।’
रोकायविरूद्ध पीडित पक्षले जाहेरी दिएर सोमबार अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
रोकायले आफ्नो बच्चा जन्मिएपछि उनैसँग विवाह गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने मनस्थितिका साथ बच्चा अपहरण गरेको देखिएको छ।
भदौ ३ गते राति भीमा घरमा बच्चासँग पल्टिरहेकी थिइन्। उनका पुरानो र नयाँ दुई वटा घर छन्। पुरानो घरबाट साँझको खाना खाएर नयाँ घरमा आएकी उनलाई राति ९ बजे एक्कासी कसैलै बोलाएको आवाज आयो। त्यो आवाज रोकायको नै थियो।
ती व्यक्तिले ‘तिमीलाई घरमा आमाले बोलाउनुभएको छ’ भने। पुरानो घरमा भएकी आमाले बोलाएको भनेपछि भीमा त्यतै लागिन्। उनले आमासँग ‘मलाई बोलाउनुभएको हो’ भनेर सोधिन्। उनकी आमाले आफूले नबोलाएको बताइन्।
‘उसले मलाई आमाले बोलाउनुभएको छ जाऊ भनेर भन्यो, म बच्चालाई ओछ्यानमा सुताएर एक्लै आमासँग गएर सोधेपछि आमाले होइन भन्नुभयो,’ भीमाले भनिन्, ‘आमाले बरू छिटो घर जा बच्चा रोयो होला भन्नुभयो, म फर्किँदा त बच्चा नै त्यहाँ थिएन।’
उनी बच्चा छोडेर आमाको घरमा जाँदा र फर्किँदा घरको बाहिर भने कोही थिएन।
भीमासँग जर्बजस्ती सम्बन्ध राखी गर्भवती बनाएपछि रोकायसँगै विवाह गराउने सहमति भएको थियो।
‘गल्ती नगर्नु थियो गरिहाल्नुभयो, यति भइसकेपछि अब पछि उमेर पुगेपछि छोरीको उहाँसँगै विवाह गराउने सहमति भएको थियो,’ भीमाका बुवाले भने।
यो घटना हुँदा भीमाका बुवा रोजगारीका लागि भारतमा थिए। उनी भारतबाट फर्किएपछि पनि छोरीले आफूमाथि भएको घटनाबारे परिवारलाई भनेकी थिइनन्।
पछि उनको परिवर्तन भएको शारीरिक बनावट देखेपछि परिवारले यसमा सोधीखोजी गरे। अन्तमा उनले आफूमाथि भएको घटना र पीडकबारे भनिन्।
भीमाका बुवाका अनुसार उनीमाथि जर्बजस्ती गर्ने गाउँपालिकाका ती कर्मचारी पनि एकै वडाका हुन्। उनी कुटुम्ब लाग्थे।
गत असोजमा रोकाय र उनका आफन्तलाई गाउँमा बोलाएर यो विषयमा छलफल गरिएको भीमाका बुवाले बताए।
‘छलफल गर्ने बेला अब कुटुम्ब नै हुन्, गल्ती गरिहाले विवाह गराइदिउँला भन्ने कुरा भएको थियो। उहाँले पनि विवाह गर्छु नै भन्नुभएको थियो,’ उनले भने, ‘बीचमा दूधभात खुवाएर सुताएको बच्चा यसरी लिएर गायब गराउनुभयो, हामीलाई समस्या भयो।’
छलफल गर्दा रोकायका ठूलोबुवा पनि थिए।
भीमासँग पनि रोकायले बच्चा आफ्नो भएको स्वीकार गरेका थिए।
‘बच्चा मेरै हो भन्नुभएको थियो, म २० वर्ष पुगेपछि बिहे गर्ने कुरा भएको थियो,’ भीमाले भनिन्।
उनका अनुसार बच्चा जन्मिएपछि कतिपय समय रोकायले भीमासँग झगडा पनि गर्ने गरेका थिए।
रोकाय पहिले नै विवाहित भएको खुलेको छ। रोकायको परिवार अस्थायी रूपमा सुर्खेत बस्ने गरेको भीमाका बुवाले बताए।
‘पहिला पनि बिहे भएको छ भन्ने सुनेको छौं, तर हामीले देखेका छैनौं,’ उनले भने, ‘घर त पहिले हाम्रो एकै गाउँमा हो, अहिले उहाँहरूको बसाइ सुर्खेत छ। उहाँको दुबै जना जागिरे हो भन्ने सुनिएको छ। हामी गरिब मान्छे अन्यायमा परेका छौं।’
भीमा अहिले १७ वर्षकी भइन्। उनीमाथि यो घटना हुँदा उनी १६ वर्षकी मात्र थिइन्।
कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग मञ्जुरी लिएर शारीरिक सम्बन्ध राखेको भए पनि त्यसलाई करणी मानिन्छ।
रोकायमाथी जबर्जस्ती करणी र शिशु अपहरणसँग सम्बन्धित दुई मुद्दा आकर्षित हुन्छन्।
हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार खरिदार रोकाय निलम्बनमा परिसकेका छन्।
प्रहरीका अनुसार उनले अपहरण गरेको उक्त बच्चा अहिले कहाँ छ भन्ने कुरा खुलिसकेको छैन।