दैलेखको ठाँटीकाँध गाउँपालिका–५ की मञ्जु विककी छोरी भदौ ५ गतेदेखि बिरामी परिन्।
डेढ महिनाकी उनकी छोरी करिश्मालाई निमोनिया भएको थियो। सामान्य समस्या होला र निको भइहाल्ला भन्ने सोचेर मञ्जुले भोलिपल्टसम्म पर्खिइन्।
छोरीलाई धेरै नै समस्या हुन थालेपछि स्थानीय मेडिकलमा उपचार गर्न लगिन्। त्यहाँ पनि निको नभएपछि मञ्जुले ७ गते स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर्याइन्।
स्वास्थ्य केन्द्रले यहाँ निको नहुने भनेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लैजान सिफारिस गर्यो। मञ्जुलाई हत्तपत्त सुर्खेत लैजाने उपाय आएन। स्वास्थ्य केन्द्रकै कर्मचारीलाई कसरी लैजाने भनेर सोधिन्।
त्यहाँका कर्मचारीले एम्बुलेन्सलाई पैसा दिएपछि लैजान्छ भनेर सिकाए। उनका श्रीमान रोजगारीको लागि भारतमा छन्। मञ्जुसँग घरमा पैसा थिएन। छोरीलाई सुर्खेत लैजान लागि चाहिने पैसा खोज्न उनी आफन्तकहाँ धाइन्।
उनले आफन्तको सहयोग पनि पाउन सकिनन्। रात परिसकेको थियो। केही उपाय नपाएकी मञ्जुले आफ्ना जेठाजु पर्ने जीवन विकलाई फोन गरिन्। उनी सुर्खेतमा थिए। जीवनले गाउँपालिकाको एम्बुलेन्समा भाइकी छोरीलाई उपचारका लागि ल्याउने प्रयास गरे।
‘अस्पतालले रिफर गरेछ, बुहारीले पैसा जुटाउन आफन्त–साथीभाइलाई भनिछन्,’ जीवनले भने, ‘सबैले पैसा छैन भनेर टारेछन्, निराश भएर घर फर्किएर उनले मलाई फोन गरेकी थिइन्। मैले पनि निकै प्रयास गरेँ, एम्बुलेन्सले पैसाविना ल्याउन मानेन।’
ठाँटीकाँध गाउँपालिकामा चल्ने तीनवटा एम्बुलेन्स छन्। त्यसमध्ये गाउँपालिकाको एम्बुलेन्स विग्रिएको छ। अरु दुईवटा एम्बुलेन्स स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ।
त्यसदिन गाउँपालिकाको विशाला स्वास्थ्यचौकीको एम्बुलेन्स आठविस नगरपालिकाको अर्को बिरामी लिएर सुर्खेत गएको थियो। वडा नम्बर ५ को प्राथमिक स्वास्थ्य केन्द्रबाट चल्ने एम्बुलेन्सले भने पैसा नदिएसम्म बिरामी नलिने भनेपछि शिशुलाई अस्पताल लैजान ढिला भएको जीवनले बताए।
उनका अनुसार त्यो एम्बुलेन्स त्यसै दिन सुर्खेतबाट फर्किएको थियो। जीवनले सुर्खेतबाट एम्बुलेन्सका चालकलाई फोन गरे। एम्बुलेन्सका चालकले पहिले तेल छैन भनेर बहाना बनाए, पछि गाडी विग्रिएको भनेर।
‘उहाँहरुको आर्थिक अवस्था कमजोर भएकोले अहिले नै पैसा दिन सक्नुहुन्न, बच्चालाई सुर्खेत ल्याइदिनुस्। म यतै पैसा दिउँला भनेर भनेँ,’ जीवनले भने, ‘चालकले त्यसरी हुँदैन, गाउँपालिकाको सिफारिस ल्याउनुस् नत्र भने अध्यक्षलाई भन्न लगाउनुस् भन्नुभयो, गाउँपालिकाका अध्यक्षलाई फोन गरेर भन्न लगाएपछि उहाँले तेल छैन भन्न थाल्नुभयो।’
गाउँपालिकाका अध्यक्षले नै एम्बुलेन्स पठाउने कुरामा वास्ता नगरेको आरोप उनले लगाए। चालकले एम्बुलेन्समा तेल हाल्न भए पनि केही पैसा मागेका थिए। जीवनले ती चालकलाई तेल हाल्ने ठाउँमा गएर आफूलाई फोन गर्न र आफूले मोवाइल बैंकिङ गरी पैसा विक्रेताको खातामा हालिदिने बताए।
तर पनि चालकले मानेन्। उनले आफ्नो हातमा पैसा पार्नुपर्ने अडान कसे। एम्बुलेन्स चालकसँग नसकेपछि जीवनले प्रहरीलाई खबर गरे। प्रहरीले चालकलाई बोलाएर ती शिशुलाई सुर्खेत लैजान भन्यो। प्रहरीले भनेपछि ती चालक बिरामी बोकेर सुर्खेततिर लागे।
राती अबेर गरी सुर्खेत हिँडेको एम्बुलेन्स बिहान साढे चार बजे वीरेन्द्रनगरदेखि आधा घण्टाको दूरीमा रहेको ओदालताल भन्ने ठाउँमा आइपुग्दा मञ्जुकी छोरीले चल्न र रुन छोडिन्।
छोरीले रुन मात्र छोडेको होला भनेर उनीहरुले प्रदेश अस्पतालसम्म पुर्याए। अस्पतालले उनको मृत्यु भइसकेको बतायो। ‘अस्पतालमा केही समय अघि नै आएको भए मात्र पनि बच्चा बाँच्न सक्थ्यो भन्नुभयो, एम्बुलेन्सको तिर्ने पैसा भएको भए र चालकले अलिकति दया देखाएको भए एक आमाले डेढ महिनाको बच्चा गुमाउनु पर्ने थिएन’ जीवनले भने।
जीवनले दैलेखका प्रमुख जिल्ला अधिकारीलाई पनि फोन गरेका थिए। प्रमुख जिल्ला अधिकारी त्यसबेला काठमाडौंमा थिए। ‘पछि त अध्यक्ष ज्यूले फोन उठाउनै छोड्नुभयो, उपाध्यक्ष र कर्मचारीहरुको फोन लाग्थेन,’ उनले भने, ‘आत्तिएर सिडिओलाई फोन गरेँ, उहाँले बरु म १०० लिटरसम्म व्यक्तिगत भएपनि तेल हाल्दिन सक्छु, बिरामीलाई उद्दार गर्नुस् भनेर सहानुभूति देखाउनुभयो।’
उनले प्रमुख जिल्ला अधिकारीकै समन्वयमा प्रहरीसँग कुरा गरेका थिए। पहिले तेल नभएको भनेका चालकले बाटोमा आउँदा कतै तेल नहालेको उनले बताए।
मञ्जुका बुवा र ससुरा रोजगारीका लागि भारत गएका छन्। घरमा मञ्जु र सासु आमा मात्र छिन्। एम्बुलेन्सलाई तिर्ने पैसा नभएर गुमाउनुपरेकी छोरी करिश्मा उनकी पहिलो सन्तान हुन्। करिश्मालाई गाउँमै कडा निमोनियाले च्यापेको थियो।
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने आफूमाथि गलत आरोप लगाइएको बताएका छन्। अध्यक्षले एम्बुलेन्स नदिएर शिशुको ज्यान गएको भन्ने गलत आरोप आफूमाथि लागेको उनले बताए।
‘पहिलो कुरा त त्यो एम्बुलेन्स स्वास्थ्य केन्द्रको हो, त्यहाँ चालकले पैसा नदिएसम्म लिन नमानेका रहेछन्,’ अध्यक्ष शाहीले भने, ‘बिरामी शिशुका आफन्तले फोन गरेपछि मैले चालकलाई फोन गरेर तुरुन्त बिरामी लिन भनिसकेको थिएँ, तैपनि उसले नमानेपछि केही ढिलो भने भएकै हो।’
आफू पीडितको घरदेखि टाढा भएकाले पनि फोनको भरमा तत्काल समस्या समाधान गर्न नसकिएको उनले बताए।