पोखरा महेन्द्र पुलकी माया गुरूङ शनिबार ९३ वर्षीय बुवा भेट्न गौंडामुख गएकी थिइन्।
साँझ ६ बजे गौंडामुख गएकी मायालाई छोरी युकीले राति साढे ८ बजेतिर आत्तिदै फोन गरिन् र घर अघिको सडक भासिएको बताइन्। पानी बेस्मारी परेको थियो। माया राति नै महेन्द्र पुल फर्किन सकिनन्।
महेन्द्र पुलमा राति साढे ८ बजेतिर अचानक सडक भासिएको थियो। पार्किङ गरिराखेको गाडी अघिको सडक भासिने क्रम बिस्तारै बढ्न थाल्यो। राति नै प्रहरी टोलीले सडक थप भासिन नदिन वर्षाको भेल तर्काए। भासिने क्रम रोकिएन। मायाको घर अगाडि फुटपाथसम्मै खाल्डो पर्यो।
सडकमा परेको खाल्डो घरतर्फ बढेकाले वरिपरि बासिन्दा रातभरि निदाउन पाएनन्। सडक भासिएका कारण तत्काल ५ घर जोखिममा देखिए। मायाकी छोरी युकी रातभरि सुत्न पाइनन्। भासिने क्रम घरतर्फ बढेर घर नै गड्ने हो कि चिन्तामा उनले रात बिताइन्।
भासिएको ठाउँमा पानी झर्न छाडेपछि भासिन पनि कम भएको स्थानीय बताउँछन्।
मायाले महेन्द्र पुलमा उक्त घर बनाएको १८ वर्ष भयो। यसअघि कहिल्यै यस्तो जोखिम व्यहोर्न नपरेको उनले सुनाइन्।
‘१८ वर्षअघि टहरा थियो, त्यसपछि हामीले घर बनाएका हौं,’ उनले सेतोपाटीसँग भनिन्, ‘अहिलेसम्म यस्तो भएको थिएन।’
उनको घरअघि सडकमा केही समयअघि मात्रै पोखरा खानेपानी आयोजनाले पाइपलाइन बिछ्याउन खाल्डो खनेको थियो।
खानेपानी आयोजनाले पाइप बिच्छ्याएर पुर्यो तर समयमै कालोपत्रे गरेन। खाल्डो राम्रोसँग नपुरेका कारण भासिएको हुन सक्ने मायाको आशंका छ।
पोखराको जमिन यसरी अचानक आफैं गडेर खाल्डो बन्ने क्रम बढ्दै गएको छ। पोखराका समथर जमिन आफैं भित्र गडेर गएको ठाउँमा खाल्डा परिरहेको छ।
महेन्द्र पुलमा जस्तै चिप्लेढुङ्गामा गत असार २० गते सडक भासिएको थियो। कालोपत्रे सडक अचानक भासिएर खाल्डो परेको थियो। साँझपख सडकमा परेको खाल्डोले दुर्घटना हुन नदिन तत्काल महानगरले डोजर लगाएर खाल्डो पुरेको थियो।
यस्तै खाल्डो केही महिनाअघि पोखरा महानगर-४ वडा कार्यालय अगाडि पनि परेको थियो।
रोकिराखेको ट्रकका पांग्रा भासिएको ठाउँमा गडेको वडा अध्यक्ष शंकर बास्तोलाले बताए। उनका अनुसार यसरी सडक भासिने क्रम बढिरहेको भन्दै वडाबासीको गुनासो ज्यादा आउन थालेको छ।
पोखरामा अहिले खानेपानी आयोजना विस्तार गर्न जाइकाले काम गरिरहेको छ। नयाँ पाइपलाइन बिछ्याउन धमाधम सडक फोरिएका छन्, तर समयमै कालोपत्रेको काम गरेका छैनन्।
जसले गर्दा सडक भासिने क्रम बढेको वडा अध्यक्ष बास्तोलाले बताए।
खाल्डो राम्रोसँग नपुर्दा किन भासिन्छ त पोखराको जमिन्? हामी यो प्रश्न लिएर भूगर्भविद् प्राध्यापक खगेन्द्र पौडेलकहाँ पुग्यौं।
पोखराको जमिन भासिनुको कारण बुझ्न १२ हजार वर्षअघि पोखरा उपत्यकाको भुगोल निर्माणको चरण बुझ्नु पर्ने उनले बताए।
उनका अनुसार अहिलेको पोखरा उपत्यका बन्न तीन वटा भूकम्प र पहिराको हात छ।
१२ हजार वर्षअघि आएको भूकम्पपछि अन्नपूर्ण हिमश्रृङ्खलाबाट आएको हिमपहिरोले पुरिएर पोखरा उपत्यका बनेको थियो।
त्यसको चार हजार वर्षपछि फेरि अर्को भूकम्प र पहिरो आयो। अनि आजभन्दा ८ सय वर्षअघि आएको अर्को भूकम्प र पहिरोले अहिलेको पोखरा बनेको हो।
३ चरणमा आएको भूकम्पपश्चात हिमपहिरोले पुरिएर बनेको पोखरा उपत्यकाको जमिनमा पनि चुनयुक्त माटो मिसिएको भूगर्वविद पौडेल बताउँछन्।
भूगर्भविद्हरू पोखरा उपत्यकाको निर्माणलाई २ वटा फर्मेसनमा व्याख्या गर्छन्।
एउटा घाचोक फर्मेसन र अर्को पोखरा फर्मेसन।
१२ हजार वर्षअघि आएको हिमपहिरोले पुरिएर बनेको जमिनलाई घाचोक फर्मेसन भनेर बुझिन्छ।
उक्त फर्मेसनभित्र पोखराको सेती नदीदेखि लेखनाथतर्फको भू-भाग बुझिने पौडेलले बताए।
पोखरा फर्मेसनभन्दा घाचोक फर्मेसन पुरानो भएकाले जमिन खँदिलो भएको पौडेलले बताए। माछापुच्छ्रे गाउँपालिकाको भेडाबारीदेखि पोखरा बजार हुँदै तनहुँको भिमादसम्मको उपत्यका अन्नपूर्ण हिमश्रृङ्खलाबाट आएको हिमपहिरोले पुरिएर बनेको उनले बताए।
अहिले पोखरामा भासिरहेको ठाउँ पोखरा फर्मेसनअन्तर्गत पर्दछ। करिब ८ सय वर्षअघिको हिमपहिरोले पुरिएर बनेको पोखरा फर्मेसनको जमिन राम्रोसँग जमेको छैन भने चुनयुक्त माटो जमिनमूनि रहेकाले पानी छिर्नासाथ पग्लेर भासिने क्रम बढेको पौडेलले बताए।
आकाशबाट परेको पानी वा खोलाको पानीमा अम्लीय पदार्थ बढी हुनु र त्यो पानी जमिनभित्र छिर्दा सतहमा भ्वाङ पर्ने गरेको अर्का जियोटेक इन्जिनियर नारायण गुरूङले बताए।
उनका अनुसार चुनयुक्त माटोमा अम्लीय पानी मिसिँदा छिटो पग्लने र चुन बगेर जाँदा सतहमा भ्वाङ पर्छ।
‘जमिनभित्रको चुन पग्लँदा खोक्रो हुन्छ, माथि जमिनको सतहको भार थाम्न नसकेपछि भासिने हो,’ गुरूङले भने, ‘त्यही भएर पानी पर्नासाथ पोखरामा भ्वाङ पर्छ।’
घाचोक फर्मेसनमा बनेको पोखराका सतहभित्र पनि चुन रहेको भन्दै गुरूङले लामो समय भएकाले खदिलो भएको बताए।
पोखरा फर्मेसन भने नयाँ भएकाले भासिने क्रम बढेको उनको भनाइ छ।
पोखराको गुप्तेश्वर गुफा, महेन्द्र गुफालगायत गुफाहरूमा अहिले पनि चुनयुक्त पानी चुहिएको देख्न सकिने भन्दै गुरूङले घाचोक फर्मेसनमा बनेकाले यी गुफाक्षेत्र बलियो भएको बताए।
‘गुफाहरू हेर्दा अहिले पनि त्यहाँभित्र चुन पग्लिरहेको देख्न सकिन्छ, ठूलो भूकम्प आयो वा अरू प्राकृतिक कारणले छिटै भासिन पनि सक्छ,’ उनले भने, ‘प्राकृतिक कारणले अहिलेकै स्वरूपमा चुन पग्लिँदै जाँदा सयौं वर्ष लाग्ला, तर यी गुफाहरू भएका ठाउँ पनि भासिन्छ।’
पोखरा फर्मेसन भासिने क्रममा अरू गुफासमेत निर्माण हुन सक्ने इन्जिनियर गुरूङले बताए।
यसबाट जोगिन पोखराका जमिनभित्र पानी छिर्न दिन नहुने उनको तर्क छ।
‘जमिनभित्र सकेसम्म पानी छिर्न दिनु हुँदैन, आकाशे पानी वा अरू खोलाका पानी ढल बनाएर व्यवस्थित गर्नुपर्छ,’ उनले भने, ‘नत्र जमिन भासिने क्रम अझै बढ्न सक्छ।’
पोखराका जमिनमा घर बनाउँदा पनि ख्याल गर्नुपर्ने गुरूङको सुझाव छ। घर बनाउने जमिनमुनिको अवस्था परीक्षण गर्नुपर्ने भन्दै उनले ४० फिटसम्म खनेर परीक्षण गर्नुपर्ने बताए। यसरी परीक्षण गर्दा जमिनभित्र चुनको अवस्था कस्तो छ, खोक्रो छ कि छैन थाहा पाउन सकिने भएकाले सुरक्षित घर वा अन्य संरचना बनाउन परीक्षण अनिवार्य हुनुपर्ने उनको भनाइ छ।
पोखराको ढल प्रणालीले वर्षाको पानी थेग्न सक्दैन। नेपालमै सबैभन्दा धेरै पानी पर्ने शहर पोखराका ढल व्यवस्थापन पनि अन्य शहरको जस्तै सानो भएकाले सडकबाटै बर्षाको पानी बग्ने गर्छ।
यस्तै, ४० वर्ष पुरानो खानेपानी आयोजनाको पाइपलाइन पनि ठाउँ-ठाउँमा फुटेर पानी चुहिएको पोखरा-४ का वडा अध्यक्ष शंकर बास्तोलाले बताए।
खानेपानी संस्थानलाई पटक-पटक पुराना पाइपलाइन फेर्न र नयाँ पाइपलाइन बनाउन खनिएका खाडल चाँडै पुरेर सडक कालोपत्र गर्न आग्रह गरे पनि नमानेको वडाअध्यक्ष बास्तोलाको भनाइ छ।
केही समयअघि पोखरा महानगरपालिकाले ढल व्यवस्थापन गर्न गुरूयोजना बनाउने बताएको थियो। दातृ निकायको सहयोगमा ढल व्यवस्थापन गुरूयोजना बनाएर लागु गर्ने भनिए पनि अहिलेसम्म काम सुरू नभएको वडाअध्यक्ष बास्तोलाले बताए।
पोखरा महानगरले गठन गरेको शहरी योजना आयोगका उपाध्यक्ष रामचन्द्र लामिछानेले पनि ढल व्यवस्थापन गर्न नसक्दा बर्षाको पानी सडकमै बग्ने गरेको बताए।
पोखरामा पर्ने आकाशे पानी तर्काउन अहिलेको ढल व्यवस्थापनले नसक्ने उनको निष्कर्ष छ।
पोखरालाई भासिनबाट जोगाउन पनि आकाशे पानी, खोला, खोल्सा, नहर र कुलोका पानी समेत उचित व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ।
यसका लागि शहरी योजना आयोगले त्रिवर्षीय योजना बनाउन लागेको उपाध्यक्ष लामिछानेले बताए।
‘हामीले त्रिवर्षीय योजनामा पोखरा महानगरभित्र भौगर्भिक अध्ययन गर्ने भनेका छौं,’ उनले भने, ‘उक्त अध्ययनपश्चात अन्य संरचनाहरू योजनावद्ध बनाउन सिफारिस गर्छौं।’
भौगर्भिक अध्ययनअनुसार कुन ठाउँमा कस्तो संरचना बनाउने भनेर निर्णय गर्न सजिलो हुने भन्दै भासिन सक्ने ठाउँमा ठूला संरचना बनाउन नदिन यस्तो अध्ययन आवश्यक पर्ने उनले बताए।
भौगर्भिक अध्ययनपश्चात उयुक्त ठाउँमा मात्र सर्वसाधारण नागरिकलाई पनि घरलगायत संरचना बनाउन सिफरिस गरिने उनको भनाइ छ।
पोखराका जमिन भासिन नदिन महानगर एक्लैले लागेर नहुने भन्दै उनले प्रदेश र संघ सरकारले पनि सहयोग गर्नुपर्ने बताए।
‘हामीसँग भौगर्भिक अध्ययन गर्न विज्ञ छैनन्, प्रदेश र संघ सरकारले पनि सहयोग गर्नुपर्छ,’ उनले भने, ‘पोखरालाई भासिनबाट जोगाउनका लागि आवश्यक तयारी गर्न महानगर एक्लैले नसक्न सक्छ।’
तस्बिरहरू: युवराज श्रेष्ठ/सेतोपाटी।