भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको घटनाको सामान्य रिपोर्ट तयार पार्न समेत सरकारले एक महिनाको समय लगाएको छ।
गत साउन १५ गते भारततर्फ जाने क्रममा दार्चुला ब्यासका जयसिंह धामी तुइन तरिरहेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएका थिए। लगत्तै गृह मन्त्रलायले सहसचिव जनार्दन गौतमको नेतृत्वमा घटनाको अध्ययन गरेर रिपोर्ट तयार पार्न समिति बनाएको थियो।
समितिले साउन २१ गते भारत पुगेर घटनास्थलबारे जानकारी लिएको थियो भने साउन २३ गते नेपाल तर्फको तुइन भएको स्थानको निरीक्षण गरेको थियो।
भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएको प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीले छानबिन समितिलाई बयान दिएका छन्। तर सरकारले बयान र घटनास्थलको निरीक्षणपश्चात रिपोर्ट तयार पार्न सकेको छैन।
‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच-छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौं’, प्रत्यक्षदर्शी स्थानीय विक्रमसिंह धामीले सेतोपाटीसँग भने, ‘पाँच-छ जना तुइनबाट भारत लागेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन्।’
घटनालगत्तै दश दिनको समय पाएको छानबिन समितिको म्याद साउन २५ गते एक साताका लागि थपिएको थियो। त्यसपछि पनि समितिको म्याद भदौ १ गते सात दिनका लागि थप्दा समेत रिपोर्ट तयार नभएपछि सरकारले भदौ ८ गते समितिको पुन: म्याद थप गरेको छ। पटक पटक म्याद थप्दा समेत समितिले रिपोर्ट तयार पार्न सकेको छैन।
छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम, सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ ज्योत्सना भट्ट सदस्य छन्।
समिति संयोजक गौतमले १५ गतेसम्म समितिको म्याद भएकाले रिपोर्ट बनाउने काम जारी रहेको बताए।
'हामीले अहिले केही बोल्न मिल्दैन। काम गर्दैछौं। रिपोर्ट बुझाएपछि गृहले सार्वजनिक गर्छ', गौतमले सेतोपाटीसँग भने, 'बिदामा भएका दुई जनामध्ये एक जना फर्किसक्नु भएको छ। एक जना एक दुई दिनमा आउनुहोला। हामी दुई/तीन दिनमा सक्ने गरी लागेका छौं।'
गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बिहीबार छानबिनलाई तीव्रता दिने बताएका थिए।
'छानबिन प्रतिवेदन यथाशीघ्र आउनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु', खाँणले समितिमा भने, 'महाकाली क्षेत्रमा २०५० साल देखि २०७८ सम्ममा २६ जना नेपालीको तुइनबाट खसेर ज्यान गएको रहेछ। यो वास्तवमा ठूलो संख्या हो।’
गृहमन्त्री खाँणले समितिमा भएका दुई जना बिदामा रहेको बताएका थिए।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट हाल पारिवारिक कामको सिलसिलामा दिल्लीमा रहेको र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा पनि परिवारको सदस्य बिरामी परेका कारण छानबिन समितिको काममा सहभागी हुन नपाएको जानकारी सांसदहरूलाई दिएका थिए।
राज्य व्यवस्था समितिले बिहीबार खाँणलाई दार्चुला घटनाबारे सोधपुछका लागि बोलाएको थियो।
समिति बैठकमा नेकपा एमालेका सांसद लालबाबु पण्डितले खाँणलाई 'तीन पटक म्याद थपिएको र अझै कति थपिने हो' भनेर प्रश्न गरेका थिए।
'मान्छेहरूले जसले तुइन काटे उसको फोटो खिचेर राखिसके, यो रिपोर्ट ढिला गर्नमा गृह मन्त्रालय आफ्नै साइडबाट भूमिका खेलिरहेको छ कि छैन?', पण्डितको प्रश्न थियो, 'यदि व्यक्तिले काम गर्न नसक्ने हो भने व्यक्ति परिवर्तन गरेर भए पनि रिपोर्ट आउनुपर्यो। यो ढिलाइप्रति मेरो आपत्ति छ।'
नेपाली कांग्रेसकै सांसद देवेन्द्र कँडेलले पनि दार्चुला घटनाबारे भारतको ध्यानाकर्षण गराउनुपर्ने बताएका थिए।
उनले राजदूतमार्फत् भारत सरकारसँग कुराकानीका लागि पहल गर्न सुझाएका थिए।
कांग्रेस सांसद डिला संग्रौलाले समितिले लामो समय लगाएको बताएकी थिइन्।
'धेरै लामो समय भयो। सत्यतथ्य छानबिन हुनुपर्छ', संग्रौलाले बैठकमा भनेकी थिइन्।
दार्चुलाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले गृहमन्त्रीले कर्मचारीका आफन्त बिरामी भएका कारण प्रतिवेदन ढिलाइ भएको जानकारी दिएको बताए।
'हामीले स्थानीयबाट घटनाबारे थाहा पाइराखेका छौं। तर यथार्थ के हो छिटो सार्वजनिक गरिदिएको भए त्यसलाई हामी अनुसन्धानको तथ्य मान्थ्यौं। छानबिन नभएको भए हामीले यस्तो सुनिन्थ्यो भनेर भन्न मिल्थ्यो। सरकारले छानबिन गरिरहेको छ भनेको छ। त्यसैले हाम्रो भनाइ के हो भने यो छिटोभन्दा छिटो सार्वजनिक हुनुपर्छ', बडुले सेतोपाटीसँग भने, 'तुइन नेपाल र भारत जोडिने विषय हो। त्यसकारण भारतको सरकारसँग कूटनीतिक तहमा स्थायी समाधानका लागि गम्भीर कुरा गर्नुपर्छ।'
उनले केही समययता नियमित हुने नेपाल र भारतका प्रशासनबीचको बैठक समेत हुन नसकेको बताए।
'हाम्रो सिडिओ र उताका डिस्ट्रिक मेजिस्ट्रेटबीच शान्ति सुरक्षाबारे महिना/दुई महिनामा कुराकानी भइराख्छ', बडुले भने।
तिनीहरूलाई सरकार–सरकारले कुरा गरेर यस्तो समस्या दोहोरिन नदिन कुरा गर्नुपर्ने उनले बताए।
राज्य व्यवस्था समितिमै रहेका नेकपा एमालेका सांसद महेश बस्नेतले सेतोपाटीसँगको कुराकानीमा प्रतिवेदन तयार गर्न समय धेरै लागेकोमा आश्चर्य प्रकट गरे।
'यस्तो प्रतिवेदनका लागि २६/२७ दिन लाग्नुपर्ने होइन', बस्नेतले सेतोपाटीसँग भने, 'छानबिन समितिका सदस्य बिदामा रहेको भनेर पन्छने काम सरकारले गरेको छ।'
बस्नेतले भारतसँग सम्बन्ध सुधार्ने नाममा तुइनबाट खसेका धामीलाई न्याय दिनबाट सरकार चुकिरहेको बताए।
'मित्र राष्ट्रसँगको सम्बन्ध बनाउने बहानामा अपराधीलाई बचाउने र धामीलाई न्याय नदिन गृहमन्त्रीको भूमिका देखियो', बस्नेतले भने, 'समिति बैठकमा उहाँले नपत्याउँदा बहाना बनाउनुभयो।'
बस्नेतले सरकार भारत नरिसाओस् भनेर काम गरिरहेको आरोप लगाए।
'यो उहाँहरूको कूटनीतिक क्षमताको कमजोरी जस्तो लाग्छ। किनभने यो विषयमा राम्रोसँग कुरा गर्ने हो भारत रिसाउनुपर्ने विषय होइन। भारतले आफ्नो पक्षको कमजोरी स्वीकार्न सक्छ', बस्नेतले भने।
सरकारले त्यो खाले पहलकदमी र पहुँच नगरेको उनले बताए।
उनले दिल्लीस्थित नेपाली राजदूतले घटनाबारे सूचना नभएको बताउनुले सरकार जिम्मेवार नभएको देखिएको बताए।
'क्षतिपूर्ति दिने कुरा संसदीय समितिको निर्देशनबमोजिम भएको हो', बस्नेतले भने, 'सरकारले त समितिको रिपोर्ट सार्वजनिक गर्छ भन्ने लागेको छैन।'