जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत् प्रहरी जवान तस्मिन पुन मगरले सेयर भरेर दुई महिनामै ५१ हजार ९८ रूपैयाँ कमाए।
उनी प्रहरी कर्मचारीको कपाल काट्ने काम गर्छन्। उनले आफूसँगै श्रीमती, बुवा-आमा र छोराछोरीको नाममा डिम्याट अकाउन्ट खोलेका छन्।
‘म परिवारका सबैको सेयर भर्ने गर्छु, सबैको गरेर मैले दुई महिनामा दुई लाख रूपैयाँ सेयर खरिद-बिक्री गरेर कमाएँ,’ मगरले भने।
स्याङ्जा प्रहरीमा चार सयभन्दा बढी प्रहरी कार्यरत् छन्। त्यसमध्ये ७५ प्रतिशत कर्मचारीले डिम्याट खाता खोलेका छन्।
सबैले विभिन्न कम्पनीबाट आइपिओ खुल्दा सेयर भर्छन्। टाढा-टाढा र दुर्गम भेगमा भएका प्रहरीहरूले भने आइपिओ भर्न पाएका छैनन्।
तर, जहाँ बैंकको शाखा नजिक छ, त्यहाँका प्रहरी कर्मचारीलाई डिम्याट खाता अनिवार्य खोल्न ‘निर्देशन’छ। त्यो निर्देशन प्रहरी उपरीक्षक होविन्द्र बोगटीले दिएका हुन्।
‘जबरजस्ती होइन, तर सेयर भर्दा आम्दानीको छुट्टै माध्यम बन्छ भनेर मैले मेरा सबै प्रहरी कर्मचारीलाई डिम्याट खाता खोल्न र सेयर भर्न प्रोत्साहित गरिरहेको छु,’ बोगटी भन्छन्, ‘म आफैं पनि सेयर भर्छु।’
शान्ति सुरक्षामा खटिने प्रहरीले सेयर भर्न समय पाउँछन् र? प्रश्नमा बोगटी भन्छन्, ‘सबै प्रहरी २४ सै घन्टा काम गर्दैनन्, कामकै सिलसिलामा पनि उनीहरूलाई सेयर भर्न समस्या छैन।’
किनभने, अहिले हरेकको हातमा मोबाइल र इन्टरनेट छ, त्यसैले उनीहरूले जतिबेला पनि अनलाइनबाट सेयर भर्न पाउने बोगटीको तर्क छ।
बोगटीका अनुसार प्रहरी कर्मचारीलाई अर्थोपार्जनका लागि सेयर भर्न प्रोत्साहित गरिएको हो।
उनका अनुसार जुनियर प्रहरी कर्मचारी धेरैको तलब कम छ। तर, उनीहरू नै बढी ड्युटीमा खटिएका हुन्छन्। उनीहरूलाई सरकारले अतिरिक्त सेवा सुविधा दिएको हुँदैन।
यसरी काम गर्ने प्रहरीले जिम्मेवारीको क्रममा थोरै आर्थिक लाभको ‘अफर’ आउँदा खुसी भएर लिन पनि सक्छन्। त्यसले उनीहरूको व्यावसायिक जीवनलाई असर पारिरहेको हुन्छ।
‘त्यसरी कमाएको पैसाले उनीहरूलाई कहिल्यै आत्मनिर्भर र प्रगतिको बाटोमा डोर्याएको हुँदैन,’ बोगटी भन्छन्, ‘कम्तीमा प्रहरीले कानुनसम्मत तरिकाले पैसा कमाउन् भनेर मैले सबैलाई डिम्याट खाता खोल्न लगाएर सेयर कारोबारमा आकर्षित गराएको हुँ।’
अहिले हरेकसँग मोबाइल छ, साथमा इन्टरनेट। धेरै प्रहरी कर्मचारी फेसबुकलगायत सामाजिक सञ्जाल चलाएर समय खर्च गरिरहेका हुन्छन्। ‘यो समयलाई सदुपयोग गरेर सिर्जनशील काम गरी केही आम्दानी गर्न सकुन् भन्ने मेरो अपेक्षा हो,’ बोगटी भन्छन्।
यसरी प्रहरीलाई सेयर भर्न प्रोत्साहित गर्दा शान्ति सुरक्षामा पनि सहयोग भएको बोगटी बताउँछन्।
‘आम्दानीको स्रोत देखाइदिएपछि प्रहरी कर्मचारी अतिरिक्त लाभको पछि लागेका छैनन्, उनीहरूलाई कमाइको माध्यम अरू पनि छन् भन्ने लागेको छ,’ बोगटी भन्छन्।
बोगटीका अनुसार सेयर भरेपछि केही समय पर्खाइ भए पनि त्यसको बिक्री महंगो भएपछि आम्दानी बढ्छ। त्यो आम्दानीले प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्यसँगै आम्दानीको कानुनी बाटोको ख्याल भइरहेको हुन्छ।
‘म कमर्सको विद्यार्थी हुँ, समय बित्दैजाँदा मैले पनि आफ्नो पढाइअनुसारको काम गर्न पाएको छु, आफ्ना प्रहरी कर्मचारीलाई आम्दानीको बाटो देखाउन सकेको छु,’ बोगटी भन्छन्।
यसरी सेयर भर्न लगाउँदा आफ्ना सहकर्मी प्रहरीहरू खुसी भएको उनले बताए। ‘पहिलेदेखि हामीलाई यस्तो कुरा सिकाएको भए हाम्रो जीवन अर्कै हुन्थ्यो होला,’ आफ्ना प्रहरीलाई उद्धृत गर्दै बोगटी भन्छन्, ‘म आउनुभन्दा अगाडि आइपिओ भन्ने कसैलाई थाहा थिएन रहेछ।’
अहिले त स्याङजाका प्रहरीहरू आइपियो भर्ने मात्र होइन, सेकेण्डरी मार्केटमा कसरी परेको सेयर बेच्न सकिन्छ भनेर तालिम पनि लिइरहेका छन्।
‘२०-२५ जना प्रहरी कर्मचारी सेयर ट्रेडिङ कसरी गर्ने भनेर कक्षा पनि लिइरहेका छन्, कुन कम्पनी कस्तो छ भनेर उनीहरू जिज्ञासु बनिरहेका हुन्छन्,’ बोगटीले भने।
बोगटीले जिल्ला प्रहरी कार्यालयमा रहेका प्रहरी निरीक्षक हरि पौडेल र शिव थापा क्षत्रीलाई सेयरको विषयमा कक्षा लिनका लागि खटाएका छन्। दुई प्रहरी निरीक्षकले सेयरको विषयमा मातहतका प्रहरी कर्मचारीलाई सिकाउँछन्।
‘एउटा प्रहरी प्रमुखको अदल-बदलले जिल्ला प्रहरी कार्यालयमा के परिवर्तन आउँछ त्यो आफ्नो ठाउँमा छ, तर मैले प्रहरी कर्मचारीलाई आय-आर्जनको बाटो देखाउने प्रयास गरेको छु,’ बोगटीले भने।
बोगटीले स्याङ्जा गएपछि प्रहरीलाई धेरै रचनात्मक काममा डोर्याएका छन्। उनले प्रहरीलाई आफ्ना परिवारसँग सुमधुर सम्बन्ध राख्न हरेक दिन ‘श्रीमतीलाई आइ लभ यु’ भन्नुपर्छ भन्ने नियम बसाएका थिए।
‘प्रहरीलाई यो काम गर भनेर निर्देशन दिने मात्र होइन, उसको दु:ख-पिर के छ भनेर सोच्ने गरेको छु,’ उनले भने, ‘मेरो सरुवा हुने बेला भयो, मेरा सहकर्मीहरूले मलाई यस्तो कामको निरन्तरता होला नहोला भनी पिर मानिरहेका छन्।’