जातीय छुवाछुतको सिकार भई लगातारको वर्षाले डुबानमा परेको चापाकलबाट गोबर र हिलो मिसिएको पानी खान बाध्य भएका महोत्तरीको सम्सी गाउँपालिका–५ स्थित पोखरभिण्डाका जयकुमारी मल्लिकलाई खानेपानीको व्यवस्था गरिएको छ।
डोम जातले छोएको पानी नचल्ने भन्दै स्थानीयले कलबाट पानी भर्न नदिएको भनी समाचार प्रकाशित भएपछि प्रदेश २ का मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाको पहलमा जयकुमारीको परिवारलाई खानेपानीको व्यवस्था गरिएको हो।
निरन्तर वर्षाको पानीले गएको जेठ महिनादेखि नै घर समेत डुबानमा परेका ती डोम परिवारलाई खानेपानी भर्नमा कुनै अवरोध नहुने व्यवस्था मिलाउन पोखरभिण्डा प्रहरी चौकीका सई रामबाबु यादवलाई शुक्रबार दिउँसो मुख्यन्यायाधीवक्ताले फोन गरेका थिए। लगत्तै आफूले पुगेर समस्या बुझेको र खानीपानीको व्यवस्था मिलाइदिएको सई यादवले जानकारी दिए।
उनका अनुसार ती डोम परिवारको घरबाट झण्डै पाँच सय मिटर दूरीमा रहेको निजी विद्यालयमा रहेको कलबाट खानेपानी भर्ने व्यवस्था मिलाइएको हो।
जयकुमारीका छिमेकीले अझै पनि पानी भर्न दिन नमानेपछि शिक्षकलाई आग्रह गरी उनको परिवारलाई विद्यालयमा खानेपानीको व्यवस्था मिलाइदिएको सई यादवले बताए।
‘सबैले आँगनमा कल छ। घरमा छोरीबुहारी छन्। छोइन्छ भन्दै थिए। तर छुवाछुत गर्नु हुँदैन भनेर त्यहाँ केही स्थानीयलाई सम्झाइबुझाइ गरेर आएको छु। उनीहरूमध्येबाट २/३ जनाले नुहाइधुवाइ नगरी कलबाट बाल्टिनमा पानी भरेर लैजान सहमत भएका छन्,’ सई यादवले भने, ‘३/४ सय मिटर दूरीमा रहेको अर्का एक जना ठाकुर परिवारले पनि पानी भरेर लानसक्ने भनेका छन्। तर घर डुबेपछि बस्ने समस्या छँदैछ।’
वर्षाको पानी जमेर घर डुबानमा परेपछि ९ जनाको ती डोम परिवार दुइटा सानो खाट नालामाथि राखेर माथिबाट त्रिपाल झुण्डयाइ बस्दै आएका छन्।
दुई साताअघि त्रिपालमुनि जयकुमारीकी जेठी बुहारी रंजुले छोरालाई जन्म दिएकी थिइन्। वर्षाले सुत्केरी गराउन निकै समस्या परेको र हावा, पानी उछिटिएर पर्दा शिशु बिरामी परेको उनका छोरा सुनिल मल्लिकले बताए।
‘नानी बिरामी परेपछि अहिले जनकपुरमा उपचार गराउन आएका छौं। आफूसित पैसा पनि छैन। ससुरालीबाट लिएर उपचार गराउँदैछु,’ उनले भने।
समाचार पढेर जय कुमारीको परिवारलाई वर्ल्ड भिजन इन्टरनेसनल नामक गैरसरकारी संस्थाले पनि खाद्यान्न, किचेन सामग्री र त्रिपालको व्यवस्था गरिदिएका छन्। शुक्रबार उनको परिवारलाई एक महिना खान पुग्नेगरी चामल, दाल नुन, तेल लगायतको खाद्यान्न, दुइटा भान्छामा पुग्ने भाँडाकुडा (किचेन सेट), चार वटा त्रिपाल, दुइटा सोलारबत्ती सेट, बस्ने ओछ्यान लगायतको सामान सहयोग गरेको संस्थाका प्रतिनिधि प्रमिल अधिकारीले जानकारी दिए।
‘हामीले वडाध्यक्षसँग कुरा गरेर खानेपानीका लागि कल पनि बनाइदिने प्रस्ताव राखेका छौं। तर कहाँ बनाउने त्यहाँ ठाउँ नै छैन पानी जमेको छ,’ उनले भने।
त्यहीँ टोलमा वर्षाका कारण अझै ९/१० जनाको दलित तथा अतिविपन्न परिवारलाई गुजारा गर्न निकै समस्या भएको उनले बताए।
उनीहरूलाई राहतको आवश्यकता रहेको भनी आफूले जिल्ला प्रशासन कार्यालयमा समेत पत्राचार गरिदिएको सई यादवले बताए।
पटक-पटक स्थानीय सरकारलाई राहतको व्यवस्था मिलाउन आग्रह गरे पनि उनीहरूले नसुनेपछि आफूले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर समस्या बताएको सई यादवले सुनाए।
यो पनि :
‘छोइन्छ भनेर कलमा भर्न दिँदैनन्, गोबर मिसिएको पानी खानुपर्छ’