जनावर भनेपछि हुरूक्कै हुने टीकाराम सार्कीको बाल्यकाल गाईलाई चराउँदै बित्यो। सानैमा त उनको नजिकको साथी पनि गाई नै थियो।
उनलाई ढुक्क तब हुन्थे जब उनले गाईलाई पेटभरि खाना खुवाउँथे।
त्यसैले उनी स्कुलको छुट्टीपछि साँझपख गाईलाई चराउन चौरमा दौडिहाल्थे।
उसो त सबै जनावरको पनि फिक्री हुन्थ्यो।
टीकाराम घरमा पालेका कुकुर, कुखुरा, बिरालोलाई पनि उत्तिकै माया गर्थे।
कैलालीको गोदावरी नगरपालिका-१ का टीकारामले ८ कक्षासम्म मात्रै पढ्न पाए। उनले ९ मा पढ्दै गर्दा वैवाहिक बन्धनमा बाँधिएपछि पढाइलाई निरन्तरता दिन सकेनन्।
काम गरेर कमाइ गर्न सक्ने भएपछि उनी ड्राइभरको काम गर्न थाले। घर गुजारा चलाए।
लामो समय गाडी लाइनमा काम गरेपछि उनले आफ्नै व्यवसाय सुरू गर्ने सोच बनाए। त्यसपछि उनले अतरियामा आटा चक्की मिल सञ्चालनमा ल्याए। ५ वर्षसम्म उनले त्यो मिल चलाए। व्यवसाय राम्रो चलेन। उनले गत वर्ष मिल चलाउन छोडिदिए।
खाली र फुर्सदको समय भएकाले कहिले गाउँमै कहिले शहरतिर निस्किन्थे। उनको ध्यान सडकमा छाडा छोडिएका गाई-गोरुतिर गयो।
‘गाई-गोरु, जनावरदेखि मलाई माया हुन्थ्यो र ठूलो हुँदै गएपछि पनि मेरो स्वभाव बदलिएको रहेनछ,' उनले भने, 'सडकमा अलपत्र परेका गाई-गोरु देखेर मेरो म खाइरह्यो।'
उनले अतरिया, धनगढीलगायत बजारका सडकमा छाडा गाई-गोरु भोकभोकै अलपत्र अवस्थामा भौतारिएको देखे।
छाडा गाई-गोरु सडकमै मरेका, हातखुट्टा भाँच्चेको, घाइते भएर छट्पटाइरहेका दृश्य देख्दा उनलाई पीडा हुन थाल्यो।
उनका गाउँका किसानहरू पनि खेतीपाती सखाप गरिदिन थालेको भन्दै छाडा गाई-गोरु देखेर हैरान बनेका थिए।
गाउँदेखि सहरसम्मका मान्छे हैरान बनेको बेला टीकारामलाई भने, छाडा गाई-गोरुप्रति दया-माया पलाउन थाल्यो।
‘दूध आउन्जेल खाने त्यसपछि सडकमा गाईलाई छोडदिने? यो देखेर मलाई धेरै दु:ख लाग्छ। भन्ने बेला गौमाता भन्ने, पछि दूध खाएर रोडमा छोड्दिन त मिल्दैन नि। तर के गर्नु छोड्दिन्छन्,’ उनले भने, 'यस्तो अवस्थामा देखेर मेरो मनमा यिनीहरूको संरक्षण गर्नुपर्छ भन्ने भाव आयो, उसै पनि म जनावर भनेपछि धेरै दयालु मान्छे हुँ।’
त्यसपछि उनी छाडा गाई-गोरुको संरक्षण गर्छु भनेर कस्सिए। यो काम सुरू गर्न उनलाई सहज थिएन। उनले एक जना अर्का साथीसँग मिलेर काम सुरू गर्ने सोच बनाए। साथीले पनि उनको प्रस्तावलाई हुन्छ भनेपछि टीकारामलाई सहज भयो।
उनीहरूले गत वर्षको कात्तिक महिनाबाट काम सुरू गर्न थाले।
सुरूमा उनीहरूले १ नम्बर वडा कार्यालय रहेको नगरपालिका र विद्युत कार्यालयको डेढ बिघा जग्गामा अस्थायी गौशाला बनाए।
गौशाला निर्माणका लागि त्रिपाल नगरपालिकाले दियो। गाउँका स्थानीयले बाँस दिए। आधा उनीहरू दुई जनाले लगानी गरे।
गौशाला बनाएपछि पहिलो चरणमा बजारका ५ सय छाडा गाई-गोरुलाई राखे।
पछि बिस्तारै स्थानीयले दैनिक गौशालामा छाडा गाई-गोरु ल्याउन थाले। गौशालामा १५ सय गोईगोरुको संख्या पुग्यो।
‘गौशालामा गाई-गोरु कोचाकोच गरेर राख्नुपर्यो, व्यवस्थापन कसरी गर्ने म त आत्तिन थालें,' उनले भने।
काम गर्न थालेको पाँच महिनापछि कोरोनाले लकडाउन भयो। लकडाउनमा उनीहरूले गौशाला चलाउन हम्मेहम्मे खेप्नुपर्यो।
‘प्रहरी बाहिर नआउनू भन्थे, आफू बाँचे पो गाई-गोरुलाई बचाउन सकिन्छ भन्थे, लकडाउनमा काम गर्न गाह्रो भयो, त्यसैबेला गौशालाबाट धेरै गाई-गोरु भागेर गए,’ उनले भने।
लकडाउनपछि उनीहरूले गोदावरी नगरपालिका-३ चौकीडाँडाको सामुदायिक वनमा साढे २ बिघा जग्गा भाडामा लिएर त्यहाँबाट गौशाला सारे।
त्यहाँ पनि सुरूमा पहिले जसरी नै गौशाला तयार पारे। त्यो केही महिना चल्यो।
‘छाना बनाएको थियौं तर, भत्कियो। बाँस कुहियो, आफैं झऱ्यो। आधा भत्किएपछि गाई-गोरुलाई चोट पटक लाग्ला भनेर पुरै भत्कायौं’, उनले भने।
७ महिना सँगै सहकार्य गरेपछि उनका साथीले घरायसी कामका कारण काम छोड्नु परेको टीकारामले सुनाए।
साथीले काम छोडेपछि टीकाराम अहिले एक्लै गौशाला चलाइरहेका छन्।
उनी अहिले गाई-गोरुका लागि छाना र दाना नहुँदा चिन्तामा छन्। बनाएको टहरा केही महिना अघि भत्कियो। पुन: तत्काल निर्माण गर्न उनले सकिरहेका छैनन्।
अहिले पानी परिरहेको समयमा गाई-गोरुका लागि ओत लाग्ने छाना नहुँदा उनको मन रोएको छ। उनी छाना बनाउन स्थानीय र प्रदेश सरकारले केही सहयोग गर्छ कि भन्ने आशमा छन्।
‘पानी परेको छ, हिलो छ, उनीहरूले तपतप पानीमा भिज्नु परेको छ, यो देख्दा मेरो मन धेरै रून्छ। दाना पानी, कामदारलाई तलब दिन पनि धेरै समस्या छ,' उनले भने, 'आफ्नो खल्तीबाट हुन्छ कि साथीहरूसँग सरसापट मागेर हुन्छ यसरी अहिलेसम्म त चलाउँदै आएको छु।’
नगरपालिकालाई समस्या सुनाउँदै आए पनि ध्यान दिएको जस्तो उनलाई लाग्दैन।
गौशालामा गाई-गोरु पालनपोषण गर्न कठिन भएपछि उनी स्थानीय र प्रदेश सरकारलाई गुहार मागिरहेका छन्। तर, अहिलेसम्म उनले सहयोग भने पाउन सकेका छैनन्।
‘मैले आफ्नो अंशबाट पाएको सम्पत्ति थियो त्यसैले यो काम सुरूवात गरेको हुँ। लगानी ५० लाखभन्दा माथि लगाएको छु। अहिले दैनिक एक ट्रली पराल पाँच हजार रुपैयाँको लाग्छ, एक वर्ष भइसक्यो। घेरबार बनाउँदा टहरा गर्दा, कामदारवालालाई तलब दिँदा, गोदाम घर बनाउँदा मेरो त्यति लगानी पुगिसक्यो,' उनले भने।
उनले गौशालामा गाई-गोरुलाई पाइप लगाएर खानापानी खुवाउन सजिलो होस् भनेर (गुड) बनाउनका लागि नगरपालिकाबाट ४ लाख रुपैयाँ सहयोग भएको बताए।
‘मेरो लगानी यत्रो लाग्दा नगरपालिकाले यति सहयोगचाहिँ गरेकै हो,' उनले भने।
सयौंको संख्या रहेका छाडा गाई-गोरु व्यवस्थापन गर्न गाह्रो भइरहेकाले नगरपालिकाले थप सहयोग गरिदिनुपर्ने उनी बताउँछन्।
गौशालालाई व्यवस्थित बनाउन पनि थप सरकारले लगानी गर्नु पर्ने उनको माग छ।
उनले गौशालालाई राधाकृष्ण गौसंरक्षण सेवा समिति गठन गरेर दर्ता गरेका छन्।
‘सार्वजनिक काम गरेकोले समिति नै आवश्यक पर्छ। ९ जना समितिमा छौं। बजेट माग गर्न समिति भए, सजिलो हुन्छ, समितिका मान्छे पनि सहयोग गर्छन्,’ उनले भने।
सुरूमा १५ सय बढी गाई-गोरु भए पनि बीचमा धेरै भागेर गएपछि अहिले २ सय बढी मात्रै छन्। त्यहाँ अधिकांश गाई छन्। गोरु केही मात्रामा राखिएका छन्।
उनले गौशालामा ५ जना कर्मचारी राखेका छन्। राती र दिउँसो चौकीदार २ जना पुरुष र ४ जना महिला छन्।
उनीहरूले त्यहाँका गाई-गोरुको हेरचाह, खानापानी दिने, चराउन लैजाने, गोबर फाल्नेलगायत काम गर्छन्।
टीकाराम आफैं पनि यहीँ काम गर्छन्।
गौशाला चलाउन चुनौती भएका बेला घरपरिवारको सहयोगले भने टीकारामलाई उर्जा मिल्छ।
‘घरपरिवारले गौमाताको संरक्षण गर्नु राम्रो काम हो। निरन्तरता दिनु, राम्रो हुन्छ, अहिलेको फाइदा होइन भोलि राम्रो हुन्छ भन्ने सुझाव दिन्छन्,’ उनले भने।
व्यवस्थित भएपछि टीकारामको गौशालाबाट आयस्रोत गर्ने पनि लक्ष्य छ।
दूध उत्पादन गर्ने, गहुँत/गोबर प्रशोधन गर्ने, प्रांगारिक मल उत्पादन गर्ने, गोबरबाट दाउरा बनाउनेजस्ता काम गर्ने योजना उनको छ।
तत्काल उनलाई गौशालामा राखेका गाई-गोरुको पालनपोषण गर्न समस्या भएको छ।
‘यिनीहरूलाई राम्रोसँग पेटभरि दानापानी खुवाउन सकिएको छैन। व्यवस्थित तरिकाले राख्न सकिएको छैन, त्यसैले तत्काल आयस्रोत गर्न सकिएलाजस्तो छैन,' उनले भने।
सुदूरपश्चिम प्रदेशको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा छाडागाईको समस्या अहिले पनि उस्तै छ। यहाँका स्थानीय तहले गौशाला निर्माण गरेर व्यवस्थापन गर्ने भनेपनि भनेजस्तो काम भएको छैन।