उज्ज्वल विक्रम थापाले भेट्नेबित्तिकै सोधे, 'तिम्रो मुटु कति बलियो छ?'
तेजाब र आगोले पोलेका पीडितको उपचारमा थापा सहयोग पुर्याउँछन्। यस्तो काम गर्न र त्यस प्रकारका बिरामी हेर्न मुटु बलियो मात्र होइन, करूणामय पनि हुनुपर्छ।
प्रश्न सोधेपछि औंला मोबाइल स्क्रिनतर्फ दौडाएका उनले यस्तै बिरामीको फोटो देखाउँछन् भन्ने अनुमान लाउन गाह्रो थिएन।
जुम्लादेखि आगोले जलेर उपचारका लागि काठमाडौं आएका बच्चाबारे कुराकानी गर्न उनलाई धेरैपटक सम्पर्क गरेकी थिएँ।
अनुमान गर्दै भने, 'मैले सामाजिक सञ्जालमा ती बालकको फोटो देखेको छु।'
सामाजिक सञ्जालमा हालिने फोटा र आफूकहाँ आइपुग्ने पीडितको अवस्थामा धेरै अन्तर हुने बताउँदै थापाले भने, 'मैले देख्दा यस्तो देख्छु।'
उनले खिचेको फोटोमा बालकको जिउभन्दा तलको सबै भाग जलेको थियो। सामाजिक सञ्जालमा त खुट्टा काटिएको र ब्यान्डेजले बेरिएको मात्र थियो। उपचार गराउँदा गराउँदै बालकको ज्यान गयो। उनलाई लिएर आएकी आमा मनिता रावत जुम्ला फर्किसकिन्।
ती बालकबारे थापाले नै बेलिविस्तार लगाए।
मनिता कोक्रोमा छोरा सुताएर घर सफा गरिरहेकी थिइन्। सानो घरमा आगो–चुलो नजिकै हुन्छ। कोक्रोभन्दा केही मिटर पर आगो थियो। आडैमा राखिएको डोकोमा केही सुख्खा पात थिए। एक्कासि डोको ढल्यो। पातहरू छरिए, आगोले टिप्यो। पातबाट सल्केको आगो पलभरमै कोक्रोसम्म पुग्यो।
कामको धूनमा लागेकी मनिताले छोरालाई आगोले भेटेको थाहा पाउँदा ढिला भइसकेको थियो, कम्मरमुनिको भाग धेरै जलिसकेको थियो।
हतारहतार त्यहाँबाट निकालेर नजिकैको अस्पताल पुर्याइयो। आर्थिक अवस्था कमजोर भएको मनिताको परिवारले काठमाडौं ल्याउन सक्ने अवस्था थिएन। एक हप्तापछि बल्ल एक दाताको सहयोगमा मनिता बच्चा लिएर काठमाडौं आइन्।
रातो कुर्ता, कालो सुरूवाल, कालै झोला भिरेर आएकी थिइन् मनिता। उनले लगाएका गुलाबी चप्पलले कीर्तिपुर अस्पताल खोजे। त्यहीँ उनको भेट उज्जवल विक्रम थापासँग भयो। मनिताजस्ता मान्छेको खबर थापालाई पुगिहाल्छ। उनका म्यासेज बक्स र फोनमा दिनकै त्यस्ता बिरामीका खबरको चाप हुन्छ। त्यहीँमाथि कीर्तिपुर अस्पताल, सुस्मा कोइराला अस्पताल, शंखरापुर र टिचिङ अस्पताल, महाराजगञ्ज पुग्नु उनको दैनिकी नै हो।
मनिताका छोरालाई देख्ने बित्तिकै उनलाई लाग्यो, 'बाँच्ने सम्भावना एकदमै कम छ।'
बच्चाको ज्यानको करिब ४५ प्रतिशत भाग जलेको थियो। खुट्टा त कुहिन थालिसकेका। त्यसैले घटनाको नवौं दिनमा खुट्टा काटियो। उपचारमा लगभग तीन लाख खर्च भयो।
बच्चा बाँचेन।
थापाले भने, 'यो क्षेत्रमा १५–१६ वर्ष काम गरेको अनुभवमा के थाहा पाएको छु भने, आमाबुवालाई मैले सक्दो गरेँ तर बचाउन सकिनँ भन्दा त्यति आत्मग्लानी हुँदैन। केही गर्न पाइनँ भन्ने भयो भने जिन्दगीभर पीडा हुन्छ। त्यसैले बच्चा बाँच्दैन भन्ने थाहा भए पनि उपचारको पहल गरिरहन्छु।'
उनले अगाडि थपे, 'म दिमागले होइन, मनले काम गर्छु। प्रयास गर्नुपर्छ। बाँच्ने/नबाँच्ने त सबै निधारमा लेखेको हुन्छ।'
थापाका अनुसार जलनपछिको १२ घन्टालाई 'लाइफ सेभिङ टाइम' भनिन्छ। यसपछि भने 'डिहाइड्रेसन' सुरू हुन्छ र शरीरको पानी सोसिन थाल्छ। विस्तारै यसले मिर्गौला फेल गराउँछ। अधिकांश जलनका बिरामीले यस्तै कारणले ज्यान गुमाउने उनी बताउँछन्।
त्यसैले मनिताका छोरालाई पनि त्यही दिन काठमाडौं ल्याउन सकेको भए बाँच्थ्यो कि भन्ने सोचेर उनी बेलाबेला पिरोलिन्छन्।
थापा साना केटाकेटीको उपचारमा बढी खट्छन्। उनीहरूको उपचार सहज होस् भनेर उनले हालै सुस्मा कोइराला मेमोरियल अस्पतालमा बालबालिका जलन उपचार वार्ड बनाएका छन्। त्यसका लागि 'रूटिन अफ नेपाल बन्द' नामक पेजले पनि सहयोग गरेको छ।
यो वार्डका भित्ता, तन्नादेखि पर्दासम्म केटाकेटीका लागि सजाइएको छ। सिलिङमा बत्तीमार्फत चन्द्र र सूर्य देखाइनेछ।
साना केटाकेटी धेरैजसो अन्जानमा जल्ने हुन्। त्यसक्रममा उनीहरूका हात/खुट्टा जल्छन्। कतिले गुमाउन पुग्छन्। वार्डको भित्ता कार्टुनमा यो कुरा देखाइएको छ।
थापाले ती चित्रको कथा सुनाए।
बच्चाहरूमाझ लोकप्रिय भारतीय कार्टुन श्रृंखला मोटु–पत्लुको मोटु पात्रको खुट्टा छैन। सबै हाँस्दै, कुद्दै खेल्छन्। मोटु दुःखी छ।
राति सुतेका बेला उसले शिवजीलाई सपनामा देख्छ। शिवजीले भन्छन्, 'खोलामा जाऊ, त्यहाँ एउटा बट्टा भेट्छौ।'
मोटु बैसाखीको सहारामा भोलिपल्ट खोलामा पुग्छ। साँच्चिकै बट्टा भेट्छ। त्यसमा पखेटा हुन्छ। अरू साथी हिँड्छन्, मोटु भने पखेटा लगाएर उड्न सक्ने हुन्छ।
'त्यो चित्र कथाबाट हामीले हातखुट्टा नहुँदैमा पिर नगर्नू भन्ने सन्देश दिन खोजेका हौं,' थापाले भने, 'यसमार्फत उनीहरूले आफ्नो पीडा केही हदसम्म भुलून् भन्ने चाहना हो।'
जलन उपचारका लागि काठमाडौं उपत्यकामा कीर्तिपुर, सुस्मा कोइराला र टिचिङ अस्पताल छन्। तर तेजाबका विभिन्न मुद्दाका कारण कीर्तिपुर अस्पतालकै नाम प्रख्यात छ र बिरामीको चाप हुन्छ। थापाले सुस्मा मेमोरियलमा वार्ड बनाएर 'यहाँ पनि अस्पताल छ' भन्ने सन्देश पनि दिन खोजेका हुन्।
उनका अनुसार १८ वर्षभन्दा कम उमेरकालाई सुस्मा कोइराला अस्पतालमा सर्जिकल, ड्रेसिङ र बेड शुल्क लाग्दैन।
जलनका बिरामी निको हुन कम्तीमा दुई महिना लाग्छ। तर यी तीन अस्पतालमा यस्ता बिरामीका लागि मुश्किलले सय बेड छन्। काठमाडौंबाहेक जनकपुर र भेरीमा जलन उपचार हुने अस्पताल छ।
'तर त्यहाँ उपकरण नभएकाले डाक्टरले सिधै कीर्तिपुर जान भनिदिन्छन्। सुदूरपश्चिम वा पूर्वको मान्छे काठमाडौं आइपुग्दा बिरामीको अवस्था जटिल भइसक्छ। त्यसैले हरेक प्रादेशिक अस्पतालमा जलन उपचार गर्ने ठाउँ हुनुपर्छ।'
नेपालमा स्वास्थ्य क्षेत्र निकै फितलो भएकामा उनको गुनासो छ। बर्सेनि करिब तीन हजार मानिस जलनले मर्ने उनले जानकारी दिए। कति त रेकर्डमै आउँदैनन्। सीमा क्षेत्रका मान्छे अस्पताल अभावमा भारत पनि पुग्छन्।
झन् साना केटाकेटीले राम्रो उपचार नपाएर ज्यान गुमाउनुपर्दा उनलाई कहिलेकाहीँ सोच आउँछ, 'इन्फ्यान्ट बर्नको आन्दोलन गर्ने बेला भयो।'
त्यो आन्दोलनको मुख्य एजेन्डामा आगोले पोलेका मान्छेलाई तत्काल उपचार खर्च हो। अहिले त 'एसिड बिल' कै लडाइँले उनलाई व्यस्त बनाएको छ।
'जलनजस्तो संवेदनशील विषयमा कसैले आवाज उठाउँदैनन्। किनकी यसका धेरैजसो पीडित गरिब हुन्छन्, मर्नेहरू पनि गरिबै हुन्छन्,' उनले भने।
यसो भन्दै गर्दा उनले फेरि मनिता र उनका छोरालाई सम्झिए।
मनितासँग काठमाडौं आउँदा जम्मा एक सय ४३ रूपैयाँ थियो।
'जुम्लाको कुन गाउँ?' भनेर सोध्दा राम्ररी जवाफसमेत दिन नजान्ने उनलाई प्रहरीको सहयोगमा घर पुर्याइएको थियो। त्यसका लागि एउटा एयरलाइन्सले सहयोग गरेको थियो।
'राम्ररी पुर्याइदिनू' भनेर खबर गरेकाले प्रहरीले फोटो खिचेर थापालाई पठाएका थिए, 'यिनै महिला होइनन्? हामीले राम्ररी पुर्याइदियौं, है!'
मनिता काठमाडौं आउँदा लगाएको रातो कुर्ता, कालो ब्याग र गुलाबी चप्पलमै थिइन्।
थापाले फोटो हेरेर चिनिहाले। सँगै झल्याँस्स भए, 'ओहो! उनलाई मैले यहाँ बसुन्जेल कहिले फरक लुगामा देखिनँ। यो कुरा दिमागमा पहिल्यै आएको भए एकजोर लुगा किनिदिन हुन्थ्यो!'
मनिताजस्तै आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यले ज्यान गुमाउनु नपरोस् भनेरै हो उनले सरकारसँग माग गरेका- क्यान्सर उपचारमा जस्तै जलनमा पनि एक लाख रूपैयाँ दिनुपर्यो!
धेरै मान्छे आफैंले बिताएको दैनिकीका कारण क्यान्सरको शिकार हुन्छन्। जलन त अधिकांश दुर्घटना हो, अनजानमा हुन्छ।
'एकदमै पीडा हुने यस दुर्घटनाको उपचार महँगो छ। दुर्गम ठाउँका मान्छेलाई त यहाँ आइपुग्ने पैसा खोज्नै समय लाग्छ। सरकारले सहयोग गरिदिने हो भने मान्छे हतार गरेर यहाँसम्म आउन सक्छन्, हामीले ज्यान बचाउन सक्छौं,' उनले भने।