बिहानको ९.२० बजेको थियो। एक वृद्ध अस्पतालमा टिकटको लाइन बस्न नसकेर भरतपुर अस्पताल अगाडि रहेको साझा फार्मेसी नजिकै रहेको चौतारीमा सुस्ताउँदै थिए। उनी बिहान ७.३० बजे अस्पतालमा बहिरंग सेवाको टिकट लिनका लागि आएका थिए।
भरतपुर महानगरपालिका-५ निवासी ७५ वर्षीय चीनबहादुर देउजाले श्रीमतीलाई टिकटको लाइनमा राखेर आफू टिकटको प्रतीक्षामा थिए। उनीसँग कुराकानी हुँदै गर्दा बल्लतल्ल असिनपसिन हुँदै उनकी श्रीमती टिकट लिएर आइन्।
टिकट त पाए तर आजै परीक्षण हुन्छ कि हुँदैन भन्नेमा उनलाई चिन्ता लागिरहेको थियो। हाडजोर्नी र नशाको समस्या लिएर उनी अस्पताल आएका थिए।
उनले भने, ‘पहिले पहिले त टिकट काट्ने ठाउँमा ज्येष्ठ नागरिकका लागि छुट्टै लाइन हुन्थ्यो। अहिले त त्यस्तो रहेनछ।’
ज्येष्ठ नागरिकको लाइन नहुँदा बिहानेखि लाइन बस्नुपरेको उनको गुनासो थियो।
एकातर्फ आफ्नो रोग अर्काेतर्फ कोरोनाको डरकाबीच भिडभाड देखेर उनको मन आत्तिएको थियो।
उनले भने, ‘एउटा रोगको उपचार गर्दा अर्काे रोग लाग्छ कि भन्ने डर लागिरहेको छ।’
देउजा त प्रतिनिधि पात्रमात्रै हुन्। भरतपुर अस्पतालमा परीक्षणका लागि जाने सबैको अवस्था उस्तै छ।
चितवनसहित १९ भन्दा बढी जिल्लाबाट यहाँ उपचारका लागि बिरामी आउने गर्दछन्। सहज टिकट काट्न नपाउँदा बिरामी र उनका आफन्तले कष्ट व्यहोर्दै आउनुपरेको छ।
कोभिडको त्रासमा पनि कुनै स्वास्थ्य मापदण्डबिना नै बिरामी र आफन्तले टिकट काट्नुपरेको छ। कतिपयका आफन्त नभएर बिरामी आफैं आउनु पर्दा झन ठूलो पीडा व्यहोर्नु पर्छ।
अस्पतालमा बिहान ८ बजेदेखि ११ः३० बजेसम्म मात्रै बहिरंग सेवाको टिकट पाइन्छ। टिकटका लागि छोटो समय दिइएका कारण एउटै समयमा भिडभाड हुने गर्दछ।
भिड हुने भएपछि बिरामी बिहान ६ बजेदेखि नै लाइनमा बस्ने गर्दछन्। गैंडाकोटबाट उपचारका लागि आएका झलक शर्मा लाइनमा बस्दाको सास्ती सुनाउँदै थिए।
उनले भने, ‘अस्पतालमा टिकट काट्नै सास्ती छ। टिकट काट्ने समयमा जनशक्ति बढाएर छिटो गर्नुपर्यो।’
बिहान देखिएको दृश्य हेर्दा अस्पतालमा कुनै हाटबजार लागे जस्तो देख्न सकिन्थ्यो। बहिरंग सेवाबाट उपचार लिन आउने बिरामीको लाइन लामो देख्न सकिन्थ्यो। त्यतिमात्रै नभएर टिकट काउण्टर अगाडिको खाली ठाउँमा खचाखच भिडभाडले गर्दा बिरामी एउटा रोगको उपचार गर्न आउदा अर्को रोग सारेर जाने हुन कि भन्ने डर बढेको उनले बताए।
भरतपुर महानगरपालिका–९ का विजङग भट्टले अस्पतालको कमजोरीका कारण टिकट काउण्टरमा भिड बढेको बताए।
उनले भने, ‘स्रोतसाधनको उपभोग गरेर टिकट काउण्टरमा भिडभाड बनाउनुभएन। चिकित्सक पनि समयमा आएर बिरामी परीक्षण गरिदिनु पर्यो।’
समयमा टिकट काटे पनि ११ बजे चिकित्सक आउने हुँदा कुरेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।
उनले भने, ‘टिकट काट्न लाइन बस्नुपर्यो। अनि चिकित्सक समयमा आउँदैनन्। बिरामीको समस्या कस्ले बुझ्छ ?’
गितानगरबाट उपचारका लागि आएका वसन्तबहादुर थापाले अस्पतालको टिकट काउण्टरदेखि स्वास्थ्य परीक्षण गर्दासम्म भिडभाडमा बस्नुपर्ने बताए।
उनले भने, ‘सरकारको सामाजिक दूरी गाउँघरमा मात्रै हुँदोरहेछ।’
अस्पतालमा स्वास्थ्यको मापदण्ड पालना नभएकोमा उनले गुनासो गरे।
अस्पतालमा कार्यकारी प्रमुख (मेसु) निरन्तर परिवर्तन हुँदा काम हुन नसकेको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सूचना प्रविधि विभागलाई अनलाइन टिकटका लागि तयारी गर्न भनिएको बताए।
यसैगरी अस्पतालमै सबै रोगको बिरामी आएपछि परीक्षण गरेर सामान्यलाई त्यहीबाट औषधि लेखेर पठाउने र जटिललाई विशेषज्ञकहाँ पठाउने गरी (एमडिजिपी) क्लिनिक सञ्चालन गर्ने भनिएको भए पनि काम हुन नसक्दा समस्या भएको अधिकारीको भनाइ छ।
गएको एक वर्षमा सातौं मेसुको कार्यभार आजबाट डा कृष्ण पौडेलले सम्हालेका छन्। अस्पतालभित्रकै एक चिकित्सकले भने, ‘एक वर्षमा सात पटक स्वागत र ६ पटक बिदाइ कार्यक्रमबाहेक अस्पताल सुधारका कुनै काम हुनसकेन।’
अस्पतालमा दैनिक एक हजार ५०० हाराहारी बहिरङ्ग सेवाका बिरामी आउने गर्दछन् । (रासस)