युद्धस्थलबाट मान्छेको गर्दन काटिएको आवाज आइरहेछ– कच कच कच।
तपाईंले सुन्नुभयो?
पाटन, भिमसेन मन्दिरको दोस्रो तलामा रहेका मूर्तिहरू हेरेर आएदेखि मेरो दिमागमा महाभारत युद्ध चलिरहेको छ। मंगलबार भाद्र कृष्ण नवमीका दिन पाटनमा भिन्द्यो अर्थात् भिमसेन जात्रा थियो। त्यही जात्रासँग जोडिएर आउँछ महाभारतको प्रसंग।
कुरूक्षेत्रको ठूलो मैदानमा दुर्योधन बडो फूर्तिसाथ सेनाको निरीक्षण गरिरहेका छन्। कृपाचार्य, द्रोर्णाचार्य, अश्वत्थामा, कर्ण, शकुनी इत्यादि उनको पक्षमा छन्। एउटा ठूलो रथमा उमेरले फुलिसकेका 'पितामह' भनेर चिनिएका भीष्म पनि छन्।
उनीहरूको सामुन्ने पाण्डव र उनका विराट सेना चारैतर्फ दौडादौड गरिरहेका छन्। कोही हात्ती, कोही घोडा त कोही खुला मैदानमा।
सेनाको अगाडि–अगाडि नहकुल र सहदेव र पाञ्चालदेशका क्षत्रीयहरू छन्। यी सबैले भिमसेनलाई अगाडि पारेका छन्।
जसरी संस्कृतबाट आएको 'भिम' शब्दको अर्थ ठूलो वा भव्य हो, आफ्नो भव्य शरीरकै कारण यो नाम भिमले पाएका हुन्। नामजत्तिकै शक्तिशाली र बलवान भएकैले उनी युद्धको पहिलो लहरमा छन्।
महाभारत युद्धको भयंकर उद्धघोषका साथ कुरूक्षेत्रमा शंख बज्छ, नगडा गड्किन्छ। पृथ्वीलाई नै फाड्लाजस्तो चर्को ध्वनिसहित कुरूक्षेत्रमा युद्ध चल्न थाल्छ।
युद्धबाट असंख्य मान्छेका कोमल गर्दन छिनालिरहेको आवाज आउन थाल्छन्– कच कच कच कच।
त्यहीबीच दुर्योधनका माइला भाइ दुशासन युद्धमा लडिरहेको भिमले टाढाबाट नियालिरहेका छन्। उनलाई देख्नेबित्तिकै भिमले वर्षौंअघि हस्तिनापुरमा भएको एक राजसभा सम्झिन्छन्।
दाइ युधिष्ठिरले आफ्नो मनपसन्द खेल जुवामा आफ्नो सबै सम्पत्ति र इन्द्रप्रस्थ हारिसकेका हुन्छन्। त्यति हुँदाहुँदै पनि हौसिँदै उनले पाण्डव पत्नी द्रौपदीलाई दाउमा लगाउँछन्। द्रौपदीलाई जितिसकेपछि दुशासनले उनको कपाल लुछ्छन्, राजसभामा ल्याउँछन् र चीरहरण गर्छन्।
त्यो अपमानमा द्रौपदीले प्रतिज्ञा गर्छिन्, 'जबसम्म दुशासनको छातीको रगतले मेरो कपाल धुन्नँ, तबसम्म म कपाल खुल्लै राख्छु!'
भिमले त्यही सभामा सबैसामु वाचा गर्छन्, 'जबसम्म दुशासनको छाती चिरेर रगत पिउँदिनँ, तबसम्म मेरा पूर्वजहरूलाई अनुहार देखाउँदिनँ!'
महाभारत युद्ध उक्त वाचा पूरा गर्ने बहाना बनेर आउँछ। जसै रणभूमिमा दुशासनसँग आँखा जुध्छन्, उनलाई आफूसँग लडाइँ गर्न इंगित गर्दै भिमले भन्छन्, 'कायर, यति पर बसेर के लडिरहेको छस्? आइज मेरो अगाडि।'
दुशासन पनि हौसिन्छन्।
दुवैजना गदा लिएर लामो समयसँग हानाहान गर्छन्। उनीहरूको शरीर थाक्दै जान्छ। शरीर थाके पनि भिमको मनभित्रको आक्रोश थाकेको छैन। त्यही भएकाले जोडजोडले उनी दुशासनलाई हानिरहेका छन्। भिमजस्तो बलवानसँग लड्ने दुशासनको दुस्साहस बिस्तारै सेलाउँछ।
एकछिनमा उनको हातबाट गदा भुइँमा खस्छ। भिम पनि आफ्नो गदा फालेर हातैले उनलाई हान्न तम्सिन्छन्। दुशासन जसै भुइँमा घाइते भएर लड्छन्, भिमले आफ्ना खुट्टाले उनको छातीमा जोडले थिच्छन्। दुशासन हल न चल हुन्छन्।
भिम आफ्ना दुई हातको बलमा दुशासनका हात शरीरबाट अलग पार्दै चिच्याउँछन्, 'दुष्ट, यो त्यही हात होइन जसले पाञ्चाली (द्रौपदी) को कपाल लुछेको थियो।'
हात शरीरबाट अलग भएका दुशासनको चित्कार परपरसम्म सुनिन्छ। त्यो चित्कार मन्द हुन नपाइ भिमले उनको छातीलाई पनि हातैले च्यात्छन् र उनको रगत पिउँछन्।
भिमले द्रौपदीलाई पनि दुशासनको छातीको रगत दिन्छन्। द्रौपदी आफ्नो कपाल त्यो रगतले धुन्छिन्। उनको प्रतिज्ञा पूरा हुन्छ।
पाटन, मंगलबजारस्थित कृष्ण मन्दिरको आडैमा रहेको भिमसेन मन्दिरमा रहेका मूर्तिमा यही कथा छन्। दोस्रो तलामा धातूले बनेका पाँच मूर्ति राखिएको छ।
बीचमा दुशासनको वध गरिरहेको दृश्यमा भिमसेन र दुशासन।
दायाँतर्फ रगतले कपाल धोएकी द्रौपदी।
दुई छेउमा रगत लिन अञ्जुली थापेर बसेका काली र भैरव।
महाभारतको यही कथामा आधारित भएर नेपालका विभिन्न ठाउँमा मूर्ति र पौभा चित्रहरू बनेका छन्। पाटनकै तुसा हितिमा पनि उक्त कथा कुँदिएको छ।
यही कथामा आधारित गीत पनि काठमाडौंका दाफा भजनमा सुन्न सकिन्छ। अस्ट्रेलियाका संस्कृत एवं नेपाल भाषाका विद्वान सिगफ्राइड लियान्हार्डले 'संग्स अफ नेपाल' किताबमा पनि एउटा त्यस्तै गीत संकलन गरेका छन्।
दुशासन वधलाई वर्णन गर्दै उक्त गीतमा भिमको शक्ति वर्णन गरिएको छ- भिमले बाघ र हात्तीलाई खुट्टाले, सिंहलाई पाखुराले किच्न सक्छन्। घोडालाई भुइँमा पछार्न सक्छन्। उनीसँग को डराउँदैनन्?
भिमसेन मन्दिरका यी मूर्ति भने मल्ल राजा योगनरेन्द्रका पालामा बनेका हुन्। मन्दिरका पूजारी रविन कपालीका अनुसार कलाकारले भिमसेन बनाउँदा योगनरेन्द्रकै क्रोधित रूपलाई मूर्तिमा ढालेका थिए।
अहिले तीन तला देखिने भिमसेन मन्दिर सुरूमा चपाः अर्थात सामुदायिक भवन थियो। नेवार समुदायमा चपाः, दिगी र सतः गरेर तीन प्रकारका सामुदायिक भवन हुन्छन्। यो चपाः राजा सिद्धिनरसिंह मल्लले सन् १६२७ मा बनाएका थियो। सन् १६६२ मा यहाँ आगलागी भयो। पछि श्रीनिवास मल्ल र उनका छोरा योगनरेन्द्रले सोही स्थानमा अहिलेको भिमसेन मन्दिर बनाएका हुन्।
राजा योगनरेन्द्रले बनाएको दुशासन वधको मूर्ति नक्कल मात्र हो। योभन्दा पुरानो मूर्ति मन्दिरको तेस्रो तलामा छ। दोस्रो तलाको मूर्ति धातुको भए पनि माथिल्लो तलाको मूर्ति माटोले बनेको छ जसभित्र भुस भरिएको मन्दिरका पुजारीले बताए।
मन्दिर जिर्णोद्धार भइरहेकाले माथिल्लो तलामा राखिएको माटोको मूर्ति देख्न हामीले पाएनौं।
'यहाँको जस्तै हो ठ्याक्कै, तर माटोले बनेको। पहिले आगो लाग्दा मूर्तिको सबै शरीर जल्यो, टाउको भने जस्ताको त्यस्तै बाँकी छ,' कपालीले भने, 'बचेको टाउको न फालियो, न त्यसमा कसैले शरीर हाल्ने आँट गरे। नयाँ बनाउने पहल पनि भएन। त्यही भएर त्यसै राखिएको छ।'
यो मूर्ति श्रीनिवास मल्लको पालामा थियो। तर मन्दिरभन्दा पहिले नै चपाः भएकाले मूर्ति श्रीनिवासको पालाभन्दा पुरानो हुन सक्ने पुजारी बताउँछन्।
यो मन्दिर र चपाःको सम्बन्ध भिन्द्यो जात्राका बेला झनै प्रष्ट हुन्छ। मन्दिर र पछाडिको चपाः बीच अहिले साँघुरो बाटो छ। बाटोका कारण यी दुई अलग संरचनाजस्तो लाग्छ। तर जात्राको समयमा चपाः र मन्दिरबीच काठको पुल हालिन्छ।
त्यही बीचको पुलबाट जात्राका बेला भिसमेनलाई बाहिर लगिन्छ र जात्रा सकिएपछि फिर्ता ल्याइन्छ। जमिनमुनिबाट मन्दिरमा भिन्द्योलाई भित्र ल्याउन हुँदैन भन्ने जनविश्वास छ।
जात्रामा लगिने भिमसेन माथि कुरा गरिएका दुई भिमसेनमध्ये कुनै पनि होइनन्। यी त मन्दिरमा भएका तेस्रा भिमसेन हुन्। मन्दिरको दोस्रो तलाको एक कुनामा दराजजस्तो भागमा यिनलाई राखिएको छ। उनको वरिपरि दुशासन, द्रौपदी, भैरव र काली छैनन्। राजा योगनरेन्द्रले भिन्द्यो अर्थात् भिमसेन जात्रा भनेर सुरू गर्दा यी भिमसेनलाई सन् १७०१ मा बनाएका हुन्।
यी एक्ला भिमलाई माथिका दुई भिमसेनजस्तो सधैं देख्न पाइन्न। जात्राको दिन मात्र हो। अन्य दिन त ताल्चा लगाएर राखिएको हुन्छ। भक्तजनले बाहिरबाट ढोग्न मात्र पाउँछन्।
जात्राको दिन एकाबिहानै ती भिमसेनलाई अँध्यारोमै छामछुम गरेर बाहिर निकालिन्छ। अमात्य गुठियारहरूले मूर्तिको विशेष श्रृंगार गर्छन्। राजोपाध्यायले तान्त्रिक विधिअनुसार जीवन्यास गर्दै पूजा गर्छन्। भिन्द्योलाई नै समर्पण गरेर भजन गाइन्छ, बाजा बजाइन्छ। भजनको तयारी साता दिनअघिबाटै मन्दिरअगाडि रहेको आदर्श कन्या क्याम्पसमा भइरहेको थियो।
साँझ ७–८ बजेतिर बल्ल खटमा राखेर भिन्द्योलाई नगर परिक्रमा गराइन्छ। खटमा एकजना मान्छे पनि हुने भएकाले निकै गह्रुँगो हुन्छ। त्यसलाई बोक्न थिमी, भक्तपुर र काठमाडौंदेखिका मान्छेहरू आउँछन्।
भिन्द्योले यो रूटमा नगर परिक्रमा गर्नुपर्छ– मंगलबजारबाट सौगल, ओकुबहाल, हौगल, तिच्छुगल्ली, पूर्णचण्डी, पिम्बहाल, कुम्भेश्वर हुँदै फेरि मंगलबजार।
यात्रा क्रममा भिन्द्योले छ्याबहाल, सुन्धारा र च्यासलमा रहेका भिमसेनका तीन ठाउँ पनि परिक्रमा गर्छन्। पाटनका अन्य ठाउँमा पनि भिमसेन मन्दिर छन्। प्रख्यात भने मंगलबजारका हुन्।
नगर परिक्रमा गरेर फर्किँदा रातको १२–१ बजिसकेको हुन्छ। त्यस क्रममा कतिपय ठाउँमा खट पल्टिने, ठोक्किने पनि हुन्छ। एकपटकको जात्रामा भिन्द्योको एउटा खुट्टा नै हराएछ।
जात्रामा खुट्टा हराएको सोही दिन थाहा भयो। तर जात्रा सक्किनेबित्तिकै भिन्द्योलाई अँध्यारोमै मन्दिरभित्र ल्याएर ताल्चा लगाएर राख्नुपर्ने नियम छ। त्यसैले भगवानलाई विधिपूर्वक मन्दिरभित्र राखियो। पछि सम्बन्धित मान्छेहरू जात्राको रूट हुँदै भगवान भिमको खुट्टा खोज्न गए। जति खोज्दा पनि भेटिएन।
अर्को वर्ष जात्रा नजिकिँदै गर्दा जात्रा सञ्चालन समितिलाई खुट्टा हराएको कुराले पिरोल्न थाल्यो। उनीहरूको बैठक पनि बस्यो। लामो छलफलपछि क्षमा पूजा गरेर जात्रा अगाडि नै मूर्ति बाहिर निकाल्ने र खुट्टा हाल्ने निर्णय भयो।
'जात्राका भिमसेन पूरै रक्तचन्दन काठले बनेका हुन्। त्यो काठ खोज्नै हामीलाई धेरै गाह्रो भयो,' मंगल टोल सुधार समितिका सचिव रवि दर्शनधारीले बताए। सहभागिताको हिसाबले मच्छिन्द्रनाथपछिको दोस्रो ठूलो भिन्द्यो जात्रा यो पटक कोरोना महामारीका कारण नभएको पनि उनले जानकारी दिए।
दर्शनधारी हाल मन्दिरमा भइरहेको जिर्णोद्धारको काम पनि हेरिरहेका छन्। भुइँचालोमा जीर्ण भएको यो मन्दिर सुरूमा भारतले जिर्णोद्धार गर्ने भएको थियो। लामो समयसम्म पनि काम नथालेकाले स्थानीयलाई मन्दिर असुरक्षित भएजस्तो लाग्यो।
त्यसपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले भारतीय राजदूतलाई भेटेरै भनेछन्, 'अन्यथा लिनुहुन्न भने यसको पुनर्निर्माण हामी आफैं गर्न अनुमति चाहन्छौं। चन्दा उठाएर भए पनि बनाउँछौं।'
राजदूत सहमत भएपछि जनस्तरबाटै बनेको समितिमार्फत यो मन्दिर जिर्णोद्धार भइरहेको छ।
मन्दिर पुनर्निर्माणमा चार करोड ९५ लाख रूपैयाँ लाग्ने अनुमान थियो। तर अहिलेसम्म पाँच करोड ७ लाख खर्च भइसकेको छ। मन्दिरमा अब काठका केही काम र माथिल्लो तलाको काम मात्र बाँकी भएको दर्शनधारीले जानकारी दिए।
यो मन्दिरका भिमसेनलाई 'भिन्द्यो आजु' भनेर नेवार समुदायले पुज्ने चलन छ। विशेषगरी उनलाई व्यापारका देउता मानेर पुजिन्छ। उनलाई व्यापारका देउता किन भनिन्छ भन्नेबारे महाभारत युद्धपछिको कथा छ।
महाभारत युद्धमा प्रायः युवा उमेरका सहभागी थिए। युद्धमा उनीहरू मारिए। महिला, बुढाबुढी र केटाकेटीहरू मात्र बचेका थिए। युद्धपछि भारत वर्ष कंगाल भयो। सबै जनधन युद्धमै सकियो।
आर्थिक रूपले भएको क्षति र विपन्नताको परिपूर्तिका लागि भिमसेनले कुबेर (धनका देवता) सँग धन मागे। अनि आफ्ना जनतामाझ बाँडेर भने, 'व्यापार गरी धन कमाउनू।'
ठूलो गरिबीको समयमा भिमसेनले लगाएको गुणका कारण नेवार समाजले उनलाई 'भिन्द्यो आजु' का रूपमा पुज्छन्।
भिमसेन पुजिनुको अर्को पनि कथा छ।
मच्छिन्द्रनाथ यहाँ आएपछि ललितपुरलाई समृद्ध बनाउन उनले सबै भगवानलाई कामको जिम्मेवारी बाँडफाँट गरे। भिमसेनलाई भने यसबारे केही भनिएन।
'मच्छिन्द्रनाथले पाटनमा यत्रो काम गर्न लाग्दा मलाई वास्ता गरेनन्' भन्दै भिमसेन जंगिए।
'तपाईंसँग के छ?' मच्छिन्द्रनाथले सोधे।
भिमसेन असाध्यै बलियो भएको कुरा महाभारतमै छ। उनले मच्छिन्द्रनाथलाई भने, 'म एकलाई तीन र तीनलाई नौ बनाइदिन सक्छु। त्यत्ति शक्ति छ।'
'ओहो, मैले बुझ्न सकिनछु,' मच्छिन्द्रनाथले भने, 'ल, आजदेखि एकको तीन बनाउने देवताका रूपमा तपाईंको पूजा हुनेछ।'
नेपाल भाषामा 'भिं' भनेको शुभ र 'द्यः' भनेको भगवान हो। कतिपयले भने भिन्द्यको कुनै आकार नभएको र महाभारतको भिमसेनसँग कुनै सम्बन्ध नभएको तर्क पनि गर्दै आएका छन्। तर मन्दिरका मूर्ति र यो जात्रा महाभारतकै कथासँग जोडिएर आएका छन्।
यहाँ गाइने भजनहरूमा पनि महाभारतका पात्र र प्रसंग आउँछन्। कुनै गीतमा नेवारी, कुनै मैथिली त कुनैमा हिन्दी भाषाको समेत प्रभाव देखिन्छ। भिमसेनलाई शिव वा भैरवकै अर्को रूप पनि मानिएको छ। शिवको आठौं अवतारको रूपमा तलको 'शिव अंश रे' गीतमा पनि वर्णन गरिएको छः
'न्याम्ह अवतार काल शिवयागु अंशरे
पृथ्वी या भारदको कोतावथेकेनरे
कृष्ण्जुल विश्वरूप दरशन विलरे
युधिष्ठिर महाराजा धर्मशरिररे
भिमश्यन दको वल पिकनाय केनरे
अर्जुनया सरथि कृष्ण जुलरे
भारथ दको त्यातकाव शत्रुदको श्वावन रे
पेम्ह खुम्ह ध्यो भारथ सलेनरे
राज्यश्वरी जोग्य याना स्वर्गस विज्याकरे
न्याम्ह अवतार काल शिवयागु अंशरे'
हिजो मंगलबार पाटनले भिन्द्यो जात्रा 'मिस' गरे पनि यी र यस्तै भजन भिमसेनलाई सर्मपर्ण भए।