नेपालमा अहिलेसम्म कोरोनाको एक करोड डोज खोप लगाइएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका अनुसार हिजो (मंगलबार) साँझसम्म एक करोड ९२ हजार १ सय ६४ डोज खोप मानिसहरूमा लगाइएको पाइएको हो।
खोप शाखाका प्रमुख डा. झलक गौतमले हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आएको जानकारी दिए। जसमध्ये एक करोड मात्रा लगाइसकिएको र बाँकी रहेको ३३ लाख मात्रा अहिले देशका विभिन्न ठाउँमा लगाइराखिएको छ।
यसबाहेक सरकारले खरिद गर्ने भनिएको थप खोपहरू कहिले आउँछ भन्ने टुंगो छैन। जसले गर्दा दसैंअगावै ३३ प्रतिशत मानिसलाई खोप लगाउने सरकारको कार्यक्रम प्रभावित हुने देखिएको छ।
गत साउन २८ गते स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिनिधिसभा बैठकमा खोप आपूर्तिबारे जानकारी गराउँदै असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने प्रतिवद्धता व्यक्त गरेका थिए। त्यो भनेको झन्डै एक करोड मानिसलाई पूर्ण मात्रामा खोप लगाउनु हो।
सरकारले भनेजस्तै असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई खोप लगाउन अहिले भएका खोपबाहेक थप ६० लाख बढी मात्रा खोप आवश्यक पर्ने देखिन्छ। किनभने अहिलेसम्म प्राप्त खोपले झन्डै ७० लाख जनालाई पुग्ने देखिन्छ। त्यसैले थप ३० लाख मानिसलाई खोप लगाउन ६० लाख मात्रा थप खोप आपूर्ति गर्नुपर्ने देखिएको हो।
यदि एउटा मात्रा मात्र लगाए पुग्ने खोप ल्याउने हो भने पनि थप ३० लाख बढी खोप आवश्यक पर्ने देखिन्छ। सरकारले भने तत्काललाई दुबै मात्रा लगाउनुपर्ने खोपलाई नै प्राथमिकतामा राखेको छ।
तर थप खोप आयातमा ढिला भइरहँदा दसैंअगावै ३३ प्रतिशत मानिसले खोप पाउने कुरामा अन्यौल पैदा भएको छ। किनभने सरकारले चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज 'भेरोसेल' खोप खरिद गरेको भए पनि हालसम्म जम्मा १६ लाख खोप मात्र आइपुगेको छ। थप खोप कम्पनीले कहिले पठाउँछ भन्ने स्पष्ट छैन।
खोप शाखाका प्रमुख गौतमले अगस्टसम्ममा ६० लाख डोज खोप आइसक्नुपर्ने भए पनि हालसम्म १६ लाख डोज मात्र आइपुगेको जानकारी दिए।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग 'नन डिस्क्लोजर' सम्झौता गरेका कारण खोपहरू ठ्याक्कै कुन मितिमा पठाउने भनेर सम्झौतामा उल्लेख नभएको गौतमले जनाए। यद्यपि कम्पनीले अगस्टसम्ममा सम्झौता भएको खोप पठाइसक्ने जानकारी भनेर जानकारी गराएको उनी बताउँछन्। साथै कोभ्याक्स सुविधामार्फत आउने भनिएको थप खोप पनि नआएको उनले बताए।
यस्तै, १८ वर्षमुनिका किशोरकिशोरीका लागि लगाउन मिल्ने 'फाइजर' र 'मोडर्ना' खोप पनि खरिद गर्ने गृहकार्य भइरहेको स्वास्थ्य मन्त्रालयले जनाए पनि त्यसमा ठोस प्रगति भने भएको छैन।
खोप शाखाका प्रमुख गौतमले पनि तत्काल थप कुनै खोप आउने भनेर जानकारी नभएको बताए।
उनले निर्धारित समयभित्र अनुमानित खोप आएमात्र दसैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाउन सकिने जनाए।
मन्त्रालयले थप खोप आयात गर्नलाई पत्राचार गरिरहेको भए पनि थप खोप आउने टुंगो नभएको उनी बताउँछन्।
अहिले देशभर दैनिक झन्डै एक लाख मात्रा खोप लगाइराखिएको छ। गौतमले खोप पर्याप्त भएको अवस्थामा दैनिक ५ लाख मात्रासम्म लगाउन सकिने जनाए।
'अहिलेसम्म दैनिक ३ लाख ९ हजार मात्रासम्म लगाएको रेकर्ड छ। तर खोप भएको अवस्थामा अधिकतम दैनिक ५ लाख मात्रा लगाउन सकिन्छ,' उनले भने।
अनुदानमा कुन देशले कति दिए खोप ?
नेपालले करिब एक करोड ३३ लाख डोज खोप प्राप्त गरे पनि ६६ लाख डोजबाहेक बाँकी खोप भने विभिन्न देशले अनुदानमा दिएको हो। अर्थात् प्राप्त खोपमध्ये आधा बढी खोप नेपालले अनुदानमा पाएको हो।
नेपाललाई सुरूमा भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो। पछि नेपाली सेनालाई थप एक लाख डोजसहित गरेर भारतले जम्मा ११ लाख डोज खोप अनुदानमा दिएको छ।
सबभन्दा धेरै खोप अनुदानमा दिनेमा भने चीन छ। चीनले अहिलेसम्म १८ लाख डोज खोप दिइसकेको छ। त्यसबाहेक चीनले थप १६ लाख डोज खोप अनुदानमै दिने भनेको छ।
यस्तै, अमेरिकाले पनि १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई दिएको छ। जोन्सन एन्ड जोन्सनको उक्त खोप एक डोज लगाए पुग्ने खोप हो। त्यस्तै, जापानले एस्ट्राजेनेकाको १६ लाख डोज खोप दिएको छ। सरकारले उक्त खोप यसअघि 'कोभिसिल्ड' खोपको पहिलो मात्रा लगाएकालाई दिएको थियो।
केही साताअघि बेलायतले पनि १ लाख ३० हजार एस्ट्राजेनेकाकै खोप अनुदानमा दिएको थियो। भुटानले भने २ लाख ३० हजार एस्ट्राजेनेकाको खोप पैंचो दिएको थियो। सुरूमा अनुदानमा भनिए पनि पछि मन्त्रालयले फिर्ता गर्ने सर्तमा भुटानले खोप दिएको जानकारी गराएको थियो।
अनुदानबाहेक सरकारले चीनबाट भेरोसेलको ४० लाख डोज खोप खरिद गरेको हो। पछि थप ६० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिए पनि अहिलेसम्म १६ लाख डोज खोप मात्र आइपुगेको छ। बाँकी खोप छिट्टै उपलब्ध गराउने भनिए पनि खोप कहिले आउँछ भन्ने टुंगो छैन।
यसबाहेक तत्काल थप खोप आउने देखिएको छैन। स्वास्थ्य मन्त्रालयले थप खोप आयातका लागि पत्राचार र गृहकार्य भइरहेको जनाए पनि त्यसमा ठोस उपलब्धि भएको देखिँदैन।