पर्वत चित्रेकी दुर्गा पौडेल छोरा र छोरीसहित माइत पाङ गएर बिहीबार फर्किइन्।
माइतीबाट फर्कंदा कुश्मा-११ सिल्मीस्थित दिदीको घर गइन्। बिहीबार दिउँसोदेखि नै अविरल वर्षा भइरहेको थियो। दिदीकै घरमा छोराछोरीसहित दुर्गा बास बसिन्।
राति करिब १२ बजेतिर अचानक पहिरो आयो। घरको एउटा भाग पुरिदियो। दिदीको घरमा पाहुना हुन गएकी ३८ वर्षीय दुर्गा र उनका छोरा ६ वर्षीय गणेशको घटनास्थलमै ज्यान गयो। छोरी अर्को कोठामा भएकाले बाँच्न सफल भइन्। दुर्गा र उनका छोराले ज्यान गुमाए पनि घरधनी मनिलालको परिवार पनि पहिरोबाट जोगिएका छन्।
कुश्मा–११ का वडा अध्यक्ष शिव पौडेलका अनुसार पहिरोले घरका एउटा भागमात्र पुरेकाले मनिलाल र उनका परिवार जोगिन सफल भएका थिए।
पाहुना बन्न गएका दुर्गा र उनका छोरा सुतेकै ठाउँमा पहिरो आएकाले उनीहरूको ज्यान गएको वडाध्यक्ष पौडेलले बताए।
मनिलालको घर राति १२ बजेतिर भत्किएपछि गाउँमा हल्ला भयो। छिमेकी उद्धारका लागि उनका घरतिर लागे। गाउँले मनिलालको घरतर्फ जाँदा उता गाउँका अरू घर पनि पहिरोले पुरिएको वडा अध्यक्ष पौडेलले बताए।
मनिलालको घर पहिरोले पुरिएपछि उद्धारमा छिमेकी डम्मर नेपालीलगायत गएका थिए। गएराति करिब १ बजेतिर झरेको अर्को पहिरोले डम्मरको घर पनि पूर्ण रूपमा क्षति भयो।
मनिलालको घरतर्फ गएकै कारण उनीहरू ज्यान जोगाउन सफल भएका थिए। त्यतिबेला डम्मरको घरसहित स्थानीयको ३ वटा घर पूर्णरूपमा क्षती भएको वडा अध्यक्ष पौडेलले बताए।
‘मनिलालको घरतर्फ उद्धारमा नगएको भए पहिरोले थप मानिसको ज्यान जान्थ्यो,’ वडा अध्यक्ष पौडेलले भने, ‘एकातिर उद्धार गर्न जाँदा आफ्नै घर पुरियो, उद्धारमा गएकै कारण मानवीय क्षति धेरै हुन पाएन।’
पहिरोले घर मात्र नभई गोठ, गाईभैंसीलगायत सम्पत्तिको पनि क्षती पुगेको उनले बताए।
गएराति गएको पहिरोले पर्वतमा मात्र ११ जनाको ज्यान गएको छ।
कुश्मा–११ सिल्मीमा दुर्गा पौडेल, उनका छोरा गणेश छन्। यस्तै, कुश्मा–३ दुर्लुङ भोगेनीस्थित माधव शर्माको घर पहिरोले पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा उनकी १६ वर्षीया छोरी विमला पौडेल, ११ वर्षीय विनिता, ७५ वर्षीया आमा कौशिला, माधवकी ३५ वर्षीया श्रीमती भगवती, ८ वर्षीय छोरा विनोद पौडेलको मृत्यु भएको छ।
यस्तै, पर्वतकै मोदी गाउँपालिका– ५ अम्बोटमा ओखलढुंगा सामुदायिक वनबाट आएको पहिरोमा परेर ५० वर्षीय फूलमाया थापाको मृत्यु भएको छ।
पहिरोले फूलमायाको घर पुरेको प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी मिनबहादुर घलेले बताए।
कुश्मा नगरपालिका-११ पपुवा पाल्चेमा हरि पौडेलको घर पनि पहिरोले पुरिएको छ। गएराति घर पहिरोले पुरिँदा हरिकी ४० वर्षीया श्रीमती मायाकुमारी पौडेल, ३ वर्षीया छोरा प्रयुस पौडेल र ७० वर्षकी आमा डल्ली पाध्या पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
डिएसपी घलेका अनुसार हरिका आमा पहिरोले पुरिएर बेपत्ता भएकी थिइन्। पहिरोमा खोजतलास गर्दा उनको शव भेटिएको डिएसपी घलेले बताए।
पहिरोका कारण पोखरादेखि कुश्मा जाने सडक अवरूद्ध भएको छ।
कास्की र तनहुँमा १/१ जनाको मृत्यु
पोखरा–३२ स्थित बेगनास तालबाट बग्ने खुदीखोलाले बगाएर शुक्रबार बिहान १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रमेश मगर रहेका छन्। खुदीखोला तरेर गगनगौंडा जाने क्रममा उनलाई बगाएको थियो।
खोलामा झण्डै ३० मिटर बगेर मगर रूखमा अड्किएका थिए। उनलाई स्थानीयले उद्धार गरी लेखनाथस्थित शिशुवा अस्पताल लगिएको थियो। मगरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, तनहुँमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ। भिमाद-८ ढुङढुङ्गे अर्चले बस्ने ३४ वर्षीय अर्जुन विक शुक्रबार बिहान दाउरा चिर्ने क्रममा अचानक चट्याङ लागेर घाइते भएका थिए।
उनलाई उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास केन्द्र बेलचौतारा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका डिएसपी घलेले बताए।