सरकारले सहमति पालनामा चासो नदिएको बन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी काम छाडेर आन्दोलनमा उत्रिएका छन्।
चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम छोडेपछी आजबाट बिपीको ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प हुने भएको छ।
धरानमा दैनिक सरदर ३ हजार विरामीले ओपीडी सेवा लिन्छन् भने २० वटा शल्यक्रिया दैनिकजसो हुने गरेको छ।
यसअघि सात दिनभित्र सहमति कार्यान्वयन नगरे स्वास्थ्य उपचार सेवामा सहभागी नहुने आन्दोलनकारीले अल्टिमेटम दिएका थिए।
अल्टिमेटम दिएको पनि १० दिन पूरा भइसकेको छ।
आन्दोलनकारीले आकस्मिक र कोभिडबाहेकका सेवामा सहभागी नहुने घोषणा गरिसकेका छन्। अहिले उनीहरु एकै ठाउँ भेला भएर कविता वाचन गरिरहेका छन्।
तर सूचना अभावले आज आइपुग्ने बिरामीलाइ आन्दोलन स्थलमै सेवा दिने तयारी भएको सयुक्त संघर्ष समितिले जानकारी दिएको छ।
समितिका सदस्य डाक्टर पदम नेपालीका अनुसार सूचना अभावले आज आएका विरामी जाच्ने तयारीमा लागेको जानकारी दिए।
प्रतिष्ठानको शुद्धिकरण अभियानका लागि संघर्ष गरिरहेको संयुक्त समितिले सरकारले सहमति पालनामा ढिलाई गरेको भन्दै सात दिनभित्र सम्झौता कार्यान्वयन नगरे पुनः आन्दोलनको चेतावनी दिएको थियो।
प्रतिष्ठानको आर्थिक तथा शैक्षिक सुधारका लागि ८३ दिनदेखि निरन्तर आन्दोलनमा रहेका चिकित्सक तथा विद्यार्थीको संयुक्त संघर्ष समितिले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै माग सम्बोधन गर्न आग्रह गरेका थिए।
प्रतिष्ठान शुद्धिकरणको आन्दोलन ५० दिन पुग्दा साउन १९ को मध्यरातमा आन्दोलनकारी र सरकारबीच ६ बुँदे सहमति भएको थियो।
विवादमा परेका सबै पदाधिकारी हटाउने प्रक्रिया सुरु गर्ने, प्रतिष्ठानको आर्थिक अनियमितता छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, अख्तियारमा रहेका मुद्दाहरुको छिटो किनारा लगाउने, पदाधिकारी नियुक्तिका लागि यसअघि बनेका विभिन्न समिति र आयोगले निर्धारण गरेका मापदण्ड लागु गरेर नयाँ मापदण्ड तय गर्ने लगायतका सहमति भएको थियो।
डा. कृष्णप्रसाद पौडेल नेतृत्वको सरकारी वार्ता टोलीले आन्दोलनकारीसँग यस्तो सहमति गरेको ३३ दिन पूरा भएको छ। जबकि सम्झौताका दिनदेखि नै त्यसलाई कार्यान्वयनमा लैजाने भनेर सरकारले वचन दिएपछि स्वास्थ्य सेवा ठप्प पार्ने घोषणाबाट आन्दोलनकारी पछि हटेका थिए।