काठमाडौं उपत्यकामा विद्यालय खोल्ने विषयमा अन्योल भएपछि स्थानीय तह, शिक्षक र अभिभावकबीच छलफल हुने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भोलि (सोमबार) दिउँसो एक बजे विद्यालय खोल्ने/नखोल्ने बारे छलफल गर्न बैठक बोलाएको जानकारी दिए।
गत साता विद्यालय खोल्न सकिने आदेश जारी गरेसँगै उपत्यकाका स्थानीय तह विद्यालय खोल्ने तयारीमा जुटेका थिए। तर विद्यालय खोल्नेबारे विभिन्न मतभेद देखिएपछि यसबारे निर्णय लिन स्थानीय तह, शिक्षक र अभिभावकलाई प्रशासनले छलफलमा बोलाएको हो।
प्रमुख जिल्ला अधिकारी पराजुलीले भोलि बस्ने बैठकमा स्थानीय तह, शिक्षक र अभिभावको राय बुझिने र सोहीअनुसार उपयुक्त निर्णय लिने बताए।
‘भोलिको बैठकमा सबै पक्षको कुरा सुनेपछि जे गर्दा राम्रो हुन्छ सोहीअनुसार निर्णय गर्छौं,' उनले सेतोपाटीसँग भने।
सरकारले विद्यालय खोल्न सकिने आदेश जारी गरे पनि स्थानीय तहले विद्यालय खोल्दा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग समन्वय गर्न भनेको छ। सोहीअनुसार उपत्यकामा पनि विद्यालय खोल्न कस्सिएका स्थानीय तह डिसिसिएमसीको निर्णयको पर्खाइमा छन्।
उपत्यकामा विद्यालय खोल्ने तयारी भइरहँदा विज्ञहरूले भने अहिले विद्यालय खोल्ने बेला नभएको बताउँदै आएका छन्। अहिले पनि संक्रमणको जोखिम कायमै रहेको र विद्यालय जाने विद्यार्थीहरू अधिकांश १८ वर्ष मुनिका हुने र उनीहरूले खोप नलगाएको भन्दै त्यसले थप समस्या ल्याउनसक्ने उनीहरूको भनाइ छ।
विज्ञले अहिले विद्यालय खोल्न हुन्न भन्ने राय राखेकै कारण स्थानीय तहलाई तत्काल विद्यालय सञ्चालन गरिहाल्न द्विविधा भएको हो। काठमाडौं महानगरपालिकाले यसै साताबाट विद्यालय सञ्चालन गर्ने आन्तरिक तयारी थालेको थियो। तर यो साता विद्यालय सञ्चालन हुने सम्भावना नरहेको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले सेतोपाटीलाई जानकारी दिए।
'यो साता विद्यालय खोल्ने अवस्था देखिँदैन। भोलि एक बजे काठमाडौं सिडिओले सबै स्थानीय तहको बैठक बोलाउनुभएको छ। त्यसपछि उहाँहरूले के निर्णय गर्नुहुन्छ सोहीअनुसार हामी अगाडि बढ्छौं,' उनले भने।
महानगरको मनस्थिति भने अब विद्यालय सञ्चालनमा ल्याउनु पर्ने रहेको सुवेदी बताउँछन्। केही विज्ञले सकेसम्म छिटो विद्यालय खोल्नुहुन्न भन्ने राय राखेकाले तत्काल निर्णय लिन समस्या भएको उनले जनाए।
महानगरका मेयर विद्यासुन्दर शाक्यले पनि विद्यालय खोल्न हतारो गर्न नहुने भनेको उल्लेख गर्दै उनले भने, 'मेयरज्यूले पनि विद्यालय खोल्न हतारमा निर्णय नगरौं फेरि पछि ब्याक हुनुपर्यो भने समस्या हुन्छ भनेर भन्नुभएको छ। तर हाम्रो अहिलेसम्मको आन्तरिक छलफल र तयारीका आधारमा अब विद्यालय खोल्नुपर्छ भन्ने निष्कर्षमै छौं। अब जिल्ला प्रशासन कार्यालयले के भन्छ त्यो आएपछि मात्र के गर्ने भनेर हामी निर्णय लिन्छौं।'