काठमाडौंमा सोमबार बिहानैदेखि पानी परिरहेको छ। आइतबार मध्यरातदेखि काठमाडौंको मौसममा बदली भएको थियो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो।
‘राति गड्याङगुडुङ पनि भएको थियो। सामान्यत: मनसुनको बेला पानी पर्दा त्यसरी गड्याङगुडुङ हुँदैन। प्रि-मनसुनमा हुन्छ,’ मौसमविद् अर्यालले सेतोपाटीसँग भने,‘अहिले बंगालको खाडीको उत्तर-पश्चिम भूभागमा बनेको न्यून चापीय रेखाबाट आएको जलवाष्प र यहाँको स्थानीय वायुको असरले त्यस्तो भएको हो।’
उनका अनुसार राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।
‘हाम्रो एयरपोर्टको स्टेशनमा बिहान छ बजेसम्म १०५ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंमा केही घन्टा यति धेरै पानी पर्नु बिरलै हुने घटना हो,’ मौसमविद् अर्यालले भने।
भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ।
बल्खुस्थित तरकारी बजारमा पानी पसेको छ र बागमती करिडोरको बाटोमा पानी डुबान भएको छ।
मौसमविद् अर्यालका अनुसार अहिले बागमती प्रदेशभरि वर्षा भइरहेको छ। केही घन्टाअघि लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो।
‘कर्णाली र सुदूरपश्चिमबाहेक अरू प्रदेशमा यो प्रणालीको असर देखिन्छ,’ मौसमविद् अर्यालले भने,‘काठमाडौं उपत्यकाको हकमा मध्यान्हदेखि भारी वर्षा हुन क्रम रोकिने र आकाश खुल्ने देखिन्छ।’