त्रिभुवन विश्वविद्यालयले थेसिस चोरेको/नचोरेको भनेर पत्ता लगाउन सफ्टवयेर सञ्चालनमा ल्याएको छ।
विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार असार दोस्रो सातादेखि 'अथेन्टिकेट' नामक उक्त सफ्टवेयर सञ्चालनमा ल्याइएको हो।
यो सफ्टवेयरले थेसिस कुन भागमा कति चोरी भएको छ भनेर पत्ता लगाउँछ। सो नतिजा सफ्टवेयरले प्रतिशतमा देखाउँछ र विश्वविद्यालयको निर्देशिकाभन्दा बढी प्रतिशत चोरी भएको पाइएमा त्यो थेसिसले मान्यता पाउँदैन।
विश्वविद्यालयको निर्देशिकामा थेसिसको 'परिचय', 'पूर्व अध्ययनको समिक्षा' र 'अध्ययन विधि' खण्डमा २५ प्रतिशत र 'निष्कर्ष', 'सारंश' र 'सिफारिस' खण्डमा १० प्रतिशतसम्म अरूबाट सार्न पाउने भनिएको छ।
अब यो सफ्टवेयर सञ्चालनमा आएसँगै थेसिस चोरी हुने प्रवृत्ति घट्ने विश्वास गरिएको छ।
केन्द्रीय पुस्तकालयका प्रमुख श्रेष्ठका अनुसार अहिलेलाई 'एमफिल' र 'पिएचडी' तहमा सुरू गरिएको र छिट्टै स्नातकोत्तर र अन्य विषयमा पनि सुरू गर्ने विश्वविद्यालयको तयारी छ।
हेर्नुस्, उक्त सफ्टवेयरले थेसिस चोरेको कसरी पत्ता लगाउँछ भनेर सेतोपाटीले तयार पारेको भिडिओः