ललितपुर, पुल्चोकस्थित लालीगुराँस बहुउद्देशीय सहकारी संस्थाअगाडि मासिएको फल्चा (पाटी) पुनः निर्माण हुने भएको छ। ललितपुर महानगरपालिकाले बिहीबार उक्त फल्चा शिलान्यास गर्दै पुनर्निर्माण हुने जनाएको हो।
यो फल्चा रातो मच्छिन्द्रनाथ र इन्द्रजात्रासँग सम्बन्धित छ। यहाँ फल्चा हुँदाको समयमा यहीँ बसेर स्थानीयहरूले जात्राबेला समय् बजी खान्थे। समयक्रममा फल्चा मासियो। अनि त समय् बजी खुवाउने कार्यक्रम कहिले घःमाः राखिएको लामोपाटी त कहिले पुल्चोककै सोह्रखुट्टेपाटी त कहिले सडक किनारमै पाल टाँगेर हुँदै आएको छ।
यो फल्चा बनेपछि ती कामहरू फेरि सुरू हुने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले खुसी साटे। उनले भने, 'आज हाम्रो लागि ऐतिहासिक दिन हो। किनभने हामीले हाम्रो ऐतिहासिक फल्चा ब्युताउँने अवसर पाएका छौं।'
बिहीबार बिहान यहाँ फल्चा शिलान्यास गर्नुअघि लालीगुराँस सहकारीका कर्मचारीले विरोध गरेका थिए। महानगरले जबरजस्ती सहकारी प्रवेश गर्ने ढोका नै बन्द गर्ने गरी फल्चा निर्माण गर्न लागेको भन्दै उनीहरू आक्रोशित भएका हुन्। पछि प्रहरी परिचालन गरेर त्यहाँको माहोल सामान्य बनाइएको थियो।
शिलालेखअनुसार दुई सय छ वर्ष पुरानो समय् फल्चा ब्युँताउने हो भने लालीगुराँस सहकारीको बाटो बन्द नै हुन्छ। सहकारीको भवन प्रवेश गर्ने दुइटा बाटो बनाएको छ- एउटा माथि चढ्ने सिँढी, अर्को बेसमेन्ट जाने।
बेसमेन्ट जाने बाटोको छेउमा डेरी पसल छ भने त्यसको माथिल्लो तल्लामा कार्पेट पसल छ। सहकारीले यी दुवै भाडामा लगाएको हो। महानगरले पाटी पुनर्निर्माण गर्यो भने सहकारी भवन छिर्ने यी दुवै बाटो बन्द हुनेछन्। उसले पुनर्निर्माणको विरोध गर्नुको कारण यही हो। लामो समयदेखि लालिगुराँस र महानगरबीच मुद्दा पनि चलेको थियो।
सहकारीले हालेको उच्च अदालतदेखि सर्वोच्चसम्मका सबै मुद्दा महानगरपालिकाले जितेको छ। यसअघि विभिन्न समयमा हालिएका मुद्दामा सर्वोच्च अदालतले दुईचोटि र उच्च अदालतले एकचोटि पाटी निर्माण गर्न बाटो खोलिदिएका थिए।
गत भदौ ३ गते यही आधारमा ललितपुरले पाटी शिलान्यास गर्ने तयारी गरेको थियो। पाटी छिटो बनाउन स्थानीयको पनि दबाब भइरह्यो। तर त्यसको अघिल्लो दिन लालीगुराँस सहकारीले जिल्ला अदालत ललितपुरको अन्तरिम आदेश लिएर आयो जसमा फल्चा बनाउन रोक्नु भन्ने आदेश थियो।
अदालतको सम्मान गर्दै तत्कालका लागि काम रोक्का गरेको मेयर महर्जनले बताएका थिए।
अहिले उक्त राेक्का फुकुवा भएको बताउँदै उनले भने, 'यही भदौ २२ गते भने हामीलाई जिल्ला अदालतले पहिलेका फौसला हेरेपछि काम रोक्का गर्नुपर्दैन भनेको छ। रोक्नुपर्ने कुनै कारण नभएको र फल्चाले सडक मापदण्ड पनि नमिच्ने भनेको छ।'
यहाँ बन्न लागेको फल्चा १ आना १ दाम क्षेत्रफलको छ। यसका लागि महानगरले करिब ३० लाख रूपैयाँ र स्थानीयले करिब तीन लाख उठाएका छन्। पहिले पाटी भत्काउँदाका अवशेषहरू, टुँडाल, मूर्ति र शिलालेख नजिकै प्रहरी चौकीमा राखिएको छ। अब फल्चा निर्माणक्रममा यी सबै सामान हालिने महानगरपालिकाले जनाएको छ।
यही वर्ष पुस अन्तिमसम्ममा फल्चा बनाइसक्ने महानगरको लक्ष्य छ।
२०२३ सालमा खिचिएको अशोक स्तुप क्षेत्रको तस्बिरमा त्यो पाटी प्रस्टै देखिन्छ। रातो मच्छिन्द्रनाथ जात्रा बेला समय् बजी खुवाइने त्यो फल्चा (पाटी) मर्मतसम्भार अभावले जीर्ण हुँदै गएको थियो तर जिर्णोद्धार गर्न कसैले वास्ता गरेन।
उल्टो २०२९ सालतिर विदेशी पाहुनालाई वृक्षारोपण निम्ति पुल्चोक हुँदै गोदावरी लैजान खोज्दा बाटोछेउको जीर्ण पाटी दरबारलाई शोभनीय लागेन। त्यसैले दरबारकै निर्देशनमा उक्त पाटी भत्काइयो।
नक्साअनुसार पुल्चोक सडकको पश्चिमतर्फ रहेको लालीगुँरास सहकारीको भवन पूर्वी मोहडाको छ। मेयर महर्जनका अनुसार भवन नै नक्साविपरीत बनेको छ। दक्षिण मोहडाको भवन बनाउने गरी नक्सापास गरिएको भए पनि पूर्वी मोहडाको बनाएको उनी बताउँछन्।
लालीगुराँस सहकारीले करिब १२ वर्षअघि अनिल राजभण्डारीसँग यो घरजग्गा किनेको हो। साढे आठ आना क्षेत्रफलमा बनेको घरमा त्यति बेला माथिल्लो तल्ला थपिएको थिएन। तीन वर्षअघि मात्र थपिएको हो।
स्थानीयका अनुसार पहिले अशोक स्तुपसँगै लस्करै ६–७ वटा फल्चा थिए। तीमध्ये एउटामा रातो मच्छिन्द्रनाथको रथ तान्न प्रयोग गरिने लामो काठको घःमाः राखिएको हामी अहिले पनि देख्छौं। यसलाई लामोपाटी भनिन्छ। त्यससँगै अशोक स्तुपको आडैमा नामसंगाती फल्चा छ जहाँ भजन गाइन्छ, मन्त्र पाठ गरिन्छ। यी दुइटाको बीचमा समय् फल्चा थियो।
जहिलेदेखि फल्चा मासियो, त्यसयता समय् बजी खुवाउने कार्यक्रम अलपत्र छ।
यो पनि हेर्नुहोस्:
ललितपुर मेयरको 'भीष्मप्रतिज्ञा'- पुल्चोकमा २०० वर्ष पुरानो पाटी ब्युँताएरै छाड्छौं
२०६ वर्ष पुरानो पुल्चोक पाटी पुनर्निर्माणमा यस्तो छ सर्वोच्च र उच्च अदालतको फैसला