काठमाडौंको कमलपोखरी कुनै समय डम्पिङ साइट बन्यो। पछि पुनर्निर्माणको नाममा पोखरी सुकाइयो। मरेका माछा र चिरा परेको हिलो माटोको खण्डहर बन्यो। पोखरीजस्तो पर्यावरणीय स्थल बिगारेको भनेर अभियन्ताहरूले विरोध पनि गरे।
अहिले भने बल्ल यो पोखरी भन्न लायक भएको छ। पोखरीमा लबालब पानी भरिएको छ। वरिपरि हरियाली बगैंचा बनेको छ। सहर र गाडीहरूको कोलाहलबीच चराहरूको चिरबीर सुनिन थालेको छ। कमलपोखरी बस्न-घुम्न लायक ठाउँ बनेको छ।
२०७६ साल असारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर-१ का अध्यक्ष भरतलाल श्रेष्ठले शिलान्यास गरेर यो पोखरी निर्माण थालेका थिए। करिब नौ करोड ४७ लाख रूपैयाँ बजेट यसका लागि महानगरले छुट्याएको थियो। जय धनञ्जय (कँडेल निर्माण सेवा) ले करिब साढे ६ करोडमा निर्माण सम्पन्न गर्ने भनेर टेन्डर लिएको थियो। विभिन्न कारणले यसको काम रोकिए पनि हाल पोखरीले आफ्नो स्वरूप पाएको छ।
काठमाडौं नगरपालिका अन्तर्गतको सहरी पूर्वाधार विकास विभाग प्रमुख रामबहादुर कुँवरका अनुसार यहाँ पहिलो चरणको काम लगभग सकियो। अब दोस्रो चरणको काम दसैंसम्ममा सकिने उनले जानकारी दिए।
पोखरी वरिपरि रेलिङ हाल्ने, काठहरूमा रङ लगाउने, चार कुनाका मण्डपमा शिव लगायत देवीदेवताका मूर्ति राख्ने, ९ चैत्यहरू हाल्ने लगायत काम बाँकी छ। त्यसका साथै थप दूबो, फूल र रूख-बिरूवा रोप्ने योजना पनि महानगरको छ।
'पोखरीको धार्मिक तथा ऐतिहासिक महत्व कायम राख्दै यसलाई हरियाली पनि बनाउने हाम्रो योजना हो,' कुँवरले बताए।
महानगरका अनुसार यहाँ काम सुरू गर्नुअघि वास्तुविदलाई देखाएर वास्तुअनुसार पोखरी निर्माण गरिएको हो। वास्तुअनुसार भन्नाले मण्डप, पुल कता, कसरी बनाउने लगायत कुरा हुन्। त्यस्तै अंक पाँचलाई पनि प्राथमिकता दिइएको छ। पाँच मण्डप, पाँच फाउन्टेन, पाँच साना कमल पोखरी र पाँच ढुंगेधारा।
पोखरीको चार कुनामा चार कलात्मक मण्डप र बीचको पुलको अन्तिममा एउटा मण्डप बनेको छ। काठबाट बनेका ती मण्डप महानगरले भक्तपुर र भैंसेपाटीबाट ल्याएको जनाएको छ।
यसको प्रयोजन के भन्ने प्रश्नमा कुँवर भन्छन्, 'पोखरीको धार्मिक मान्यता कायम राख्नु। यो पोखरी छठ मनाउने मुख्य स्थलका रूपमा रहँदै आएको छ। पाँच मण्डप छठका बेला सूर्यलाई अर्घ्य दिन प्रयोग हुन्छ। विशेष मान्छेले मण्डपबाट अर्घ्य दिन्छन्, सर्वसाधारणले पोखरी किनारबाट। यसका लागि वरिपरि सिँढी राखेर हामीले घाट बनाएका छौं। अन्य समय यो पाटीका रूपमा पनि प्रयोग हुनेछ।'
वरिपरि छाप्न र सिँढी बनाउन महानगरले दोलखा र सिन्धुपाल्चोकदेखि ढुंगा ल्याएको थियो। छ इन्च मोटाइ, दस इन्च चौडाइका उक्त ढुंगा करिब तीन हजार स्क्वायर मिटर ल्याइएको हो।
पोखरीका चार कुनामा फाउन्टेन छन्। पाँचौं फाउन्टेन पोखरी बीचमा छ। अहिले पोखरीमा लबालब पानी भएकाले ती फाउन्टेन देखिँदैनन्। तर तिनलाई चलाउने हो भने त्यसको स्वरूप देखिने कुँवरले बताए।
फाउन्टेनतिरै कमलका साना चार पोखरी र बीचमा कमल आकारको कृत्रिम फूल राख्ने तयारी महानगरले गरिरहेको छ।
'पोखरीमा राख्न लागिएको फूल सम्पदा अभियन्ताले भनेजस्तो कंक्रिटको होइन, फाइबरको हो। त्यो वरिपरि रहने बत्तीको उज्यालोसँग संयोजन हुन्छ र आकर्षक देखिन्छ,' कुँवरले भने, 'अरू चार फाउन्टेनमा सानासाना पोखरी छन्, जुन प्राकृतिक कमल फूलकै लागि हो।'
वास्तुअनुसार नै बनाइएका पाँच ढुंगेधारा पनि हामीले एउटा कुनामा देख्न सक्छौं। त्यसमा पछि काठमाडौं उपत्यका खानेपानी आयोजनासँग सहकार्य गरेर पाइपलाइन जडान गरिनेछ।
पोखरीमा भएको पानी पनि महानगरले आयोजनासँग सहकार्य गरेर निःशुल्क हालेको हो। खानेपानी आयोजनाले वैशाखतिर मेलम्चीबाट ल्याइएको पहिलो चरणको पानी केही धमिलो भएकाले धोबीखोलामा छाड्ने योजना राखेको थियो। तर त्यो पानी महानगरले कमलपोखरीमा खसाल्न आग्रह गर्यो।
'हामीलाई पानी आवश्यक थियो। त्यो पानी खोलामा खेर फाल्नुभन्दा हामीलाई दिनुस् भनेर सहमति गर्यौं,' कुँवरले भने, 'करिब एक करोड लिटर उक्त पानी र आकाशे पानीले नै अहिले पोखरी भरिभराउ भएको हो।'
पोखरी निर्माण गरिरहँदा यहाँको प्रहरी चौकी र स्पोर्ट्स क्लब हटाइएको थियो। हटाइएको क्लब अहिले कुनामा सानो क्षेत्रफलमा बनाइएको छ। पहिले त्यसले ओगटेको ठाउँमा महानगरको योजनाअनुसार ब्याडमिन्टन कोर्ट बन्नेछ।
त्यस्तै चौकी भएका ठाउँ सम्याएर व्यवस्थित पार्क र व्यायाम स्थल बनाउने योजना छ। बाँकी अरू दोस्रो चरणका काम हुन्। यसका लागि नगरपालिकाले एक करोड बजेट छुट्याइसकेको छ।
कमलपोखरीलाई धार्मिक र परम्परागत शैलीमा निर्माण गर्दै यसलाई मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना महानगरको छ।
'बेलुकाका लागि लाइटिङ सिस्टम छ। सानो एम्पिथिएटर जस्तो पनि बनाउने छौं। विभिन्न ब्यान्ड आएर यहाँ सांगीतिक कार्यक्रम गर्छन् र मान्छेलाई मनोरञ्जन दिन्छन्,' कुँवरले भने, 'यहाँ आउने मान्छे र पर्यटकलाई यो आकर्षक मनोरञ्जन स्थल हुनेछ।'
महानगरको योजना यो पोखरीबाटै सम्पदा मार्ग बनाउने पनि छ। योजनाअनुसार नक्सालबाट हाँडीगाउँ हुँदै पशुपति, गौशाला जाने पैदलयात्रीलाई कमलपोखरी पनि घुम्ने स्थल बनाइनेछ।
अहिलेलाई त कमलपोखरी नै सुन्दर बनेको छ। यहाँ बनेका पार्क, मण्डप र विभिन्न संरचनामा अहिलेबाटै मान्छेहरू रम्न थालिसकेका छन्। दोस्रो चरणको काम सकिएपछि झनै सुन्दर, घुम्न लायक र आकर्षक ठाउँ बन्ने विश्वास महानगरको छ।
तस्बिर तथा भिडिओः सुसन चौधरी/सेतोपाटी