गत सोमबार संखुवासभाको मादी-१ उम्लिङका तेजबहादुर कार्कीको परिवारै सखाप हुने गरी भएको हत्याकाण्डको अनुसन्धानमा जुटेका एक प्रहरी अधिकृतले बुधबार साँझ सेतोपाटीसँग भनेका थिए, ‘हामीलाई परिवारकै सदस्यमाथि शंका छ।’
५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको घटनामा परिवारका को सदस्यतिर प्रहरी शंका थियो? परिवारका दुई जना जवान छोरा विदेशमा थिए। घरमा ९० वर्षका हजुरबुबा मात्रै संयोगले बाँचेका थिए।
प्रहरीले सुरूमा गरेको शंका नातामा भतिजा पर्ने उम्लिङकै लोकबहादुर कार्कीतिर लक्षित रहेछ, जसलाई पक्राउ गरे पनि प्रहरीले औपचारिक रुपमा बोलेको छैन।
प्रहरीले कार्की परिवारको पृष्ठभूमि, घटनास्थलको अवस्था, गाउँलेको बयानलाई आधार मानेर अनुसन्धान अघि बढाएको जानकारी दिएको थियो। यसअघिका उस्तै प्रकृतिका घटना पनि प्रहरीका लागि अध्ययन सामग्री थिए।
पछिल्लो समयमा भएका जघन्य अपराधका यस्ता घटनामा धेरैतिर परिवारकै सदस्यको संलग्नता देखिने गरेको अनुभवका आधारमा उनीहरूले यस्तो शंका गरेका थिए।
‘घटनाको पृष्ठभूमिहरू त मुख्य आधार हुने नै भए,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने, ‘पछिल्लो समयमा पारिवारिक अपराधका घटना बढेका छन्। बुझ्दै जाँदा यहाँ पनि त्यस्तै देखियो।’
संखुवासभा काण्ड हुनुभन्दा दुई वर्षअघि अर्थात २०७६ जेठ ६ गते राति पाँचथर मिक्लाजुङ–३ को आरुबोटे गाउँमा दुई परिवारका नौ जनाको यही शैलीमा विभत्स हत्या भएको थियो। दुई वटा परिवारका सबैजसो सदस्यको ज्यान लिने गरी भएको त्यो घटनामा पनि परिवारकै सदस्य ज्वाइँ मुख्यकर्ता थिए।
यद्यपि, ससुराली परिवार सखाप पारेर हत्यारा स्वयंले ‘आत्महत्या’ गरेका कारण त्यो नरसंहारमा प्रहरी अनुसन्धान नै टुंगियो। ‘अपराधी मरेपछि अपराध पनि मर्छ भनिन्छ,’ पाँचथर प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले भने, ‘त्यसैले, हत्यारा पनि झुण्डिएको अवस्थामा फेला परेपछि घटनाको थप कुरा अघि बढेन।’
प्रहरीले हत्यारा भनेर किटान गरेका व्यक्ति झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धान रोकिए पनि गाउँले भने अझै विश्वस्त हुनसकेका छैनन्। मिक्लाजुङ–३ का वडाध्यक्ष हस्तराज फियाक प्रहरीले अझै पनि अनुसन्धान जारी राख्नुपर्ने बताउँछन्। उनको अपेक्षा पूरा हुने छाँट किन पनि छैन भने प्रहरीले त्यो घटनाको फाइल ‘बन्द’ गरिसकेको छ।
डिएसपी थापाका अनुसार त्यो घटना पारिवारिक किचलोले निम्त्याएको विभत्स घटना थियो। मिक्लाजुङ-३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको घरमा नौ जनाको ज्यान लिने घटना बमबहादुरकै कान्छा ज्वाइँ मनबहादुर माखिमको ‘सनक’को परिणाम थियो।
उनले ससुरा बमबहादुर फियाक, सासु पुर्सीमाया, पत्नी मनकुमारीको हत्या गरेका थिए। बमबहादुरकी अर्की छोरीतर्फकी नातिनी १० वर्षीया आशिका खजुमलाई पनि मनबहादुरले हत्या गरेका थिए। मनबहादुर त्यतिमै रोकिएनन्। साँढु दाइ धनराज शेर्माको परिवारका कोही पनि सदस्य नरहने गरी नरसंहारमा उत्रिए। धनराजसहित उनका परिवारमा पत्नी जस्मिता, १२ वर्षीया छोरी युहाना, १० वर्षीया मुना र भतिजी ८ वर्षीया इच्छाको पनि सोही घटनामा हत्या भएको थियो।
संखुवासभा घटनामा पनि लोकबहादुरको ‘सनक’ले काम गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तेजबहादुरले आफूलाई पहिला गालीगलौज गरेको लोकबहादुर सम्झिएपछि ‘रिस’ उठेको र त्यसपछि आँगनबाट दाउरो टिपेर उनलाई हिर्काउन अगाडि बढेको बताएका छन्।
यसरी प्रहार गर्दा तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आइन्, लोकबहादुरले उनलाई पनि दाउरोले हिर्काए।
सासु ढलेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हिर्काएको लोकबहादुरले बताएका छन्।
उनले दुई नातिनातिना दौडादौड गर्दैगर्दा उनीहरूलाई लेखेटी-लखेटी दाउराले हिर्काएको बताएका छन्।
लोकबहादुर यतिमै रोकिएनन्, त्यसपछि घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काए। यसरी हिर्काउने सिलसिला जारी राख्दा छ जनाको ज्यान गइसकेको थियो, तर ९० वर्षीय बौद्धमान भने जोगिएका थिए।
पाँचथर घटनामा दुई परिवारका सबैको ज्यान लिने गरी मनबहादुर जाइलाग्ने कारण पनि ठूलो थिएन। उनी र पत्नी मनकुमारीबीच लामो समयदेखि खटपट थियो। सधैंजसो मदिरामा लठ्ठिने उनले घरव्यवहार बिगारेको पत्नी मनकुमारीको गुनासो हुन्थ्यो। त्यसैले, पतिले मदिरा पिएर झगडा गर्ने क्रमलाई निरन्तरता दिएपछि उनी धेरैजसो माइतीघरै बस्थिन्। बालबच्चा नभएका कारण पत्नी माइत हिँडेपछि मनबहादुर झनै उग्र मच्चाउँथे। त्यसबेला पनि मनकुमारी माइती आएकी थिइन्। ‘पति–पत्नीबीचको त्यही खटपटले सबैको ज्यान लिने गरी उनले हत्या गरे,’ डिएसपी थापाले भने, ‘अनि भोलिपल्ट उनी पनि झुण्डिएको अवस्थामा फेला परेका थिए।’
पाँचथरको त्यही सामूहिक हत्याकाण्ड सम्झाउने गरी संखुवासभा घटना भयो। यसबेला प्रहरी मात्रै होइन, आम सर्वसाधारणले पनि आरुबोटेको त्यो नरसंहार सम्झिरहेका छन्। जहाँ परिवारका सदस्यले नै धेरै जना आफन्तको एकै चिहान पारेका थिए।
दुई वर्षका बीचमा भएका यी दुई सामूहिक हत्याकाण्डबाहेकका प्रदेश १ मा अरु धेरै हत्याका सिलसिला पनि जारी छन्, जहाँ परिवारकै सदस्यले आफन्तको ज्यान लिएका छन्।
सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनु पर्ने डरलाग्दो पारिवारिक अपराधको दर प्रदेशमा ह्वात्तै बढेको छ। भनाभनबाट सुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको संख्या पनि लगातार बढिरहेका छन्।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो वर्ष दिनको तथ्यांक केलाउँदा र सुरक्षा अधिकारीहरूको अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार नै असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ।
आर्थिक वर्ष २०७७–७८ मा मात्रै प्रदेश १ मा ७ हजार ३ सय ८४ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका थिए। त्यसमध्ये १ सय ४३ वटा कर्तव्य ज्यान मुद्दाका घटना थिए। ती कर्तव्य ज्यानका ती घटनामा परिवारभित्रै भएका हत्याको संख्या मात्रै ५५ वटा छन्। बितेको आर्थिक वर्षको एक वर्षेमा अवधिमा प्रदेशमा ५५ वटा हत्याका घटनामा ५६ जना मारिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकमा उल्लेख छ।
ती घटनामा परेर ज्यान गुमाउनेमा अधिकांश महिला छन्। पारिवारिक विवादका क्रममा मात्रै ४६ महिला मारिएको देखिन्छ। ‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला छन्,’ आर्थिक वर्षको अन्त्यमा सेतोपाटीसँग प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईले भनेका थिए।
सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना धेरै भएका छन्। झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच-पाँच, इलाम र उदयपुरमा चार-चार, खोटाङमा तीन, ओखलढुंगा, तेह्रथुममा, धनकुटा, पाँचथर र संखुवासभामा दुई-दुई तथा भोजपुरमा एउटा हत्याका घटना भएको प्रदेश प्रहरीले जनाएको थियो। जसमा संखुवासभाको यो पछिल्लो घटना थपिएको छ।
पारिवारिक अपराधका घटनामा आवेगले बढी काम गरेको देखिने मनोविद् गोपाल ढकाल बताउँछन्। ‘अहिले परिवारभित्रै हुने अपराधको दर बढेको छ,’ ढकालले सेतोपाटीसँग भने, ‘यसको मुख्य कारण आवेग नै हो। मान्छे भित्रभित्रै कुण्ठित भइरहेको हुन्छ। यसले मानसिक समस्या पनि बढ्दो छ। यही समस्याले पारिवारिक अपराधको दर पनि बढाइरहेको छ।’
उनका अनुसार कुनै पनि व्यक्तिलाई चाहिनेभन्दा बढी रिस उठ्नु यस्तो समस्याको प्रारम्भिक लक्षण हो। त्यस्तो बेलामा परिवारले उसलाई बुझ्ने वा उसको समस्या समाधान गरिदिने तत्परता देखाउनुपर्छ, सहयोग गर्नुपर्छ। अन्यथा, त्यसले डरलाग्दो रुप लिनसक्ने उनले बताए।
मनोविद ढकालले भनेजस्तै अति सामान्य निहुँमा पनि आफ्नै प्रियजनको हत्या गर्न अग्रसर भएका उदाहरण प्रदेश १ मा धेरै भेटिएका छन्। पत्नीको ‘किचकिच’ सहन नसकेको निहुँमा मोरङ बेलबारी नगरपालिका-७ दैलपुरका ५४ वर्षीय अम्बिका घिमिरेले १९ असारमा पत्नीको हत्या गरे।
४८ वर्षीया पत्नी सीता घिमिरेको हत्या आरोपमा पति घिमिरे पक्राउ परेपछि यस्तो रहस्य बाहिर आयो। यो घटनाको एक साता नबित्दै प्रदेश १ को राधजानी विराटनगरमा पारिवारिक विवादलाई लिएर राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार (सूचक ) ४२ वर्षे भोला सिंहको असार २५ गते हत्या भयो। उनको विराटनगर–५ पृथ्वी चोकस्थित घरमा आफ्नै भाइले हत्या गरेका थिए।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार बेरोजगारी, त्यसले उत्पन्न हुने पारिवारिक किचलो, मदिरा तथा लागूऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र धनसम्पत्तिको बाँडफाँट विवाद, मानसिक समस्या लगायतले यस्ता घटना हुने गरेका छन्।
मनोविद् ढकालका अनुसार व्यक्तिमा परिवारका सदस्यले आफूलाई नबुझेको, अरुले सहयोग नगरेको जस्ता भाव उत्पन्न हुँदै जाँदा त्यसले निराशा जन्माउँछ। आफूले भने जस्तो नहुँदा, हेपिए जस्तो अनुभव हुँदा, अपमानित भएको महसुस हुँदा पनि गाढा निराशाले व्यक्तिलाई छोप्छ। त्यही क्रमले अन्ततः डिप्रेसन र त्यसले मेनियाको रुप धारण गरेपछि व्यक्तिका लागि जस्तोसुकै अपराध पनि सामान्य लाग्न थाल्ने ढकालको भनाइ छ।
प्रविधिको पहुँच बढ्दै गएका बेला सजिलै उपलब्ध हुने ‘हिंस्रक खेल’ले पनि यस्ता अपराध बढाउन सहयोग गरेको ढकालको दाबी छ। ‘क्षणिक आवेग पनि रोग नै हो जसलाई नियन्त्रण गर्न नसक्दा मान्छे डिप्रेसनबाट मेनियामा जान्छ,’ उनले थपे, ‘यस्तोमा सामाजिक सञ्जाल र प्रविधिमार्फत हिंसात्मक खालका खेलहरूमा पनि उसको लगाव बढ्दै जान्छ। फ्रिफायर, पब्जी जस्ता खेलमा अभ्यस्त त्यता रोगीलाई हत्या एकदमै सामान्य लाग्न थाल्छ। केही समयअघि रुपन्देहीमा भएको हत्याको घटनामा त्यस्तै देखिएको थियो।’
ढकालका अनुसार हरेक व्यक्तिको मानसिक स्वास्थ्यसँग यस्ता गम्भीर अपराधको सम्बन्ध जोडिएको हुन्छ। ‘अब प्रहरी वा कानुनको त्रास देखाएर मात्रै यस्ता गम्भीर अपराध घट्नेवाला छैनन्,’ उनले थपे, ‘यदि त्यसरी घट्थे भने संखुवासभा काण्ड नहुन सक्थ्यो। त्यसैले यस्ता समस्या हल गर्न मानसिक स्वास्थ्यको ख्याल गर्न सबैभन्दा जरुरी छ।’ त्यसका लागि पारिवारिक माया ममता, रेखदेख र समझदारी सबैभन्दा आवश्यक छ। यसबाहेक बालबालिकाको शिक्षादिक्षा र इमोसन नियन्त्रणको अभ्यासमा पनि जोड दिनुपर्ने उनको भनाइ छ।
गम्भीर सामाजिक समस्याको रुपमा देखिएको यो समस्या हल गर्न सामूहिक प्रयास जरुरी हुने समाजशास्त्रका विद्यार्थी नवीन शिवाकोटी औंल्याउँछन्। ‘मानसिक समस्याका कारण समाजमा धेरै समस्या आइसकेको जगजाहेर भइसकेको छ,’ उनले भने, ‘यसको निदान प्रहरीबाट मात्रै सम्भव छैन। गाउँटोल र सहरका कुना-कुनामा मनोपरामर्श गर्ने, अपराधविरूद्ध प्रशिक्षित गर्ने अभियान आवश्यक पर्छ। प्रहरी, समुदाय, विज्ञ, स्वास्थ्यकर्मी, राजनीतिक दल सबैले यस्तो अभियानमा हातेमालो नगरे समाज झनै असुरक्षित हुने निश्चित छ।’