धनुषाको बटेश्वर गाउँपालिका कार्यालयको नवनिर्मित भवन प्रयोगमा नआउँदै चर्किएको छ।
पहिलो चरणको निर्माण कार्य सकिएर उद्घाटन तयारी भइरहेको भवनमा दर्जनभन्दा बढी ठाउँमा चिरा परेको छ।
बर्खामा उक्त भवनभित्र पानीसमेत चुहिएको थियो। गुणस्तरहीन निर्माणले गर्दा भवन चिरा परेको हो।
२०७६ जेठ १२ मा सम्झौता भई गएको फागुनमा भवनको निर्माण कार्य सम्पन्न भएको थियो।
३ करोड ८५ लाख लागत अनुमान गरिएको सो भवन पहिलो चरणमा धन्नजय रब्बानी जेभी कन्स्ट्रक्सनले २ करोड ४८ लाख ५३ हजार ३ सय २४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
भेरियसन अर्डर (भिओ) सहित गाउँपालिकाको कार्यालयले ठेकेदारलाई भ्याटसहित २ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ।
पहिलो पटक १९ लाख र दोस्रो पटकमा ८ लाख भिओ रकम थप गरेर निर्माण कम्पनीलाई भुक्तानी दिइएको हो। गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख इन्जिनियर जितेन्द्र यादवले पहिलो चरणको काम सम्पन्न भइसकेको सो भुक्तानी गरिएको बताए।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतका अनुसार ठेकेदारले सम्झौताबमोजिम अझै पनि काम सम्पन्न गरिसकेका छैनन्।
‘साइटबाट माटो राख्न बाँकी रह्यो। दुई/चार लाखको काम अझै बाँकी रह्यो,’ उनले भने, ‘दोस्रो भिओमा ठेकेदार र इन्जिनियर मिलेर २० लाख माग गरे तर कार्यपालिका बैठकबाट ८ लाखमात्र दिने निर्णय भएपछि यी दुबैले मलाई फसाउने योजना बनाए।’
अन्डरग्राउण्डमा जेठ महिनादेखि पानी जमेकोले भवनको सतह कमजोर हुने र निर्माण गरिएको भाग छिट्टै उप्किएर जाने सम्भावना रहेको छ। के कारणले भवनमा पानी चुहिने समस्या देखिएको हो भन्ने पहिचान भइसकेको छैन।
ठेकेदारसँगै साइटमा खटिएका प्राविधिकको बदमासीले समेत यस्ता समस्या आउने गरेको ती इन्जिनियरले बताए।
अध्यक्ष राउतका अनुसार सुरूमा एकतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। तर काम सुरू भइसकेपछि अण्डरग्राउण्ड निर्माण गर्ने योजना बन्यो।
‘यति धेरै खाल्डो खनिसकेपछि किन माटो पुर्नु। अण्डरग्राउण्डको रूप दिएर भोलिका दिनका लागि पार्किङ, होटल, खाजा कार्यक्रम पनि गर्न सकिन्छ भनेर साथीहरुको सुझाव आयो,’ अध्यक्ष राउतले भने, ‘ठेकेदारले एकदमै कम पैसा लिने मसँग वाचा गरे। ३० लाखबाट बार्गेनिङ हुँदाहुँदै १०/१२ लाखमा अण्डरग्राउण्ड बनाउने सम्झौता भयो।’
भिओ भन्दै गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख इन्जिनियर जितेन्द्र यादव र ठेकेदारले मिलेर झण्डै १५ लाख बढी रुपैयाँ लिएको उनको भनाइ छ।
‘अण्डरग्राउण्ड गर्दा गर्दै सोलिङ गर्नुपर्ने, शौचालय निर्माण गर्नुपर्ने त घरी सम्झौतामा यो लेखेको थिएन, त्यो लेखेको थिएन भनेर भिओ बढाएर त्यति रकम लियो,’ अध्यक्ष राउतले भने।
सोही भवन निर्माण सम्पन्न भएर भुक्तानी दिन अध्यक्ष राउतले ठेकेदारबाट ८ लाख रुपैयाँ कमिसन लिएको आरोप छ। अख्तियारका अनुसार गएको फागुन १७ गते अध्यक्ष राउतले ठेकेदारबाट लिएको उक्त कमिसन रकम सरकारी गाडीबाटै फालेर फरार भएका थिए।
घटनामा अख्तियारले अध्यक्ष राउतलाई धरौटीमा छाडेर अनुसन्धान गरिरहेको छ।
गाउँपालिकाका इन्जिनियर यादवका अनुसार अध्यक्ष राउत घुस काण्डमा मुछिएलगत्तै अख्तियारले भवन निर्माणसम्बन्धी सबै कागजात जफत गरेका छन्। कार्यालयको नवनिर्मित भवन केही ठाउँमा चर्किएको भनी आफूले समेत थाहा पाएको अध्यक्ष राउतले बताए।
त्यसको बदलामा निर्माण कम्पनीले राखेको धरौटी रकम जफत हुने उनको भनाइ छ।
‘मैले भवन चर्किएको देखेपछि इन्जिनियरलाई खोजें तर उनी फेला परेनन्। उनीहरूले जवाफ दिनुपर्छ। अब धरौटी राखिएको रकम जफत हुनेछ ,’ उनले भने।
गाउँपालिकाका प्राविधिक प्रमुख इन्जिनियर यादवले चर्किएको ठाउँमा मर्मत सम्भारका लागि निर्माण कम्पनीलाई पत्र लेखिसकेको बताए।
‘मर्मत गरिदिने भनेको छ, थोरै चर्किएकोमात्र हो,’ उनले भने।
भवनको गएको फागुन महिनादेखि एक वर्षसम्म वारेन्टी अवधि रहेको छ। जसमध्ये ६ महिना बितिसकेको छ।