येंया पुन्ही (इन्द्रजात्रा) मा देखाइने देवी नाच आजदेखि सार्वजनिक प्रदर्शनमा आएको छ। किलागलको मुख्य डबलीमा बिहानैदेखि देवदेवीहरू नाचिरहेका छन्।
सात देवदेवीले डबलीमा आएर विभिन्न नृत्य प्रस्तुत गरे। ती देवदेवी हुन्– भैरव, चण्डी, कुमारी, दैत्य, कवं (कंकाल), बेताः (बेताल) र ख्याः (ख्याक)।
नेपाल भाषामा ‘दी प्याखंः’ भनिने यो नाचले छोरीहरूको साहसको कथा भन्छ। दैत्यमाथि कुमारीले विजय पाएको पौराणिक कथा देखाउने यो नाचको विशेषता हो।
सात पात्र हुने दी प्याखंः मा कुन पात्र को बन्ने पहिल्यै तय हुन्छ। बेताल, कंकाल र ख्याक साना पात्र हुन्। यिनको नाचमा साना केटाकेटी नै राखिन्छ। त्यही भएर नाच्नेहरू परिवर्तन भइरहन्छ। अरु भने पाका उमेरका हुन्छन्।
दी प्याखंः सञ्चालन समितिका सदस्य नरेन्द्र महर्जनका अनुसार यो नाचमा सातको संयोग हुन्छ। सात देवदेवी, सात डबली, सात नाइके, सात बाजा र सात ताल। नाचको समय पनि सातै घन्टा हुन्छ।
जहाँ पायो त्यही देखाउन नहुने यो नाचको लागि काठमाडौंका सात निश्चित डबली छन्। ती डबली यी ठाउँमा छन्– किलागल, कागेश्वरी नजिकैको, जैसीदेवल (न्हूघः), बांगेमुढा, इन्द्रचोक, वसन्तपुरको महादेव–पार्वती मन्दिर अगाडि र कालभैरव मन्दिर अगाडि।
अन्तिम दिन किलागलको डबलीमा नाच देखाएर यो नाच विसर्जन गरिन्छ। सडक विस्तारक्रममा धेरैजसो डबली मासिसकेकाले सडकमै नाच देखाउने बाध्यता भएको नाच सञ्चालन समितिको गुनासो छ।
यो नाच कहिले सुरू भयो भन्ने लिखित र आधिकारिक अभिलेख छैन। यसमा गाइने भैरव देवताको चचा (चर्या) गीतले भने गुणकामदेव राजाकै पालामा सुरू भएको जनाउँछ।