तामाङ समुदायलाई 'तामाङ' भनिनुअघि 'मुर्मी भोट्या', 'लामा भोटे', 'भोट्या' लगायत विभिन्न सम्बोधन गरिन्थ्यो। विभिन्न अभिलेखमा उनीहरूलाई 'मासिन्या' अर्थात् मार्न वा सित्तैमा दासदासी बनाउन सकिने जात पनि भनियो।
लामो समयको यस्तो उत्पीडनपछि तामाङहरूले विद्रोह गरे। दरबारमा आफूहरूले 'तामाङ' लेख्न पाउनुपर्छ भनेर जाहेरी दिए जसअनुसार १९८९ सालमा भीमशमसेरले उनीहरूलाई हुकुमीपत्र लेखे– 'अबदेखि भोट्या होइन, तामाङ लेख्नू/भन्नू।'
त्यो समयदेखि तामाङहरू आफ्नो पहिचान आफैं बनाउन लागिपरेका छन्। तर पुराना पहिचानका शब्द र दृष्टिकोणले अझै पनि उनीहरूलाई बारम्बार सताउँछ।
कलाको माध्यमबाट आफ्नो पहिचान खोजिरहेका कलाकार सुवास तामाङलाई कुनै समय लोकसेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित भनिएको 'सामाजिक अध्ययन' किताबको एउटा पानाले त्यसरी नै बिझाएको थियो।
उक्त किताबमा तामाङबारे लेखिएको थियो, 'तामाङ जाति शेर्पा जातिसँग मिल्दाजुल्दा हुन्छन्। यिनीहरू खासगरी बुहारी–छोरी, स्वास्नी बेची पैसा कमाउने प्रवृत्तिका हुन्छन् भन्ने गरिन्छ। यति मात्रै होइन, राम्रो खान र लगाउनका लागि आफू स्वयं पनि बन्धकीमा बस्न सक्ने हुन्छन्।'
आफूलाई बचाउन लेखकले 'भन्ने गरिन्छ' भनेर चलाखीपूर्वक लेखेको उक्त लेखले तामाङ समुदायलाई अपव्याख्या गरेजस्तो सुवासलाई लाग्छ। यो कुरा मनमा खोपिएपछि उनले पाँचवटा ढुंगेपाटीमा ती वाक्य दुरूस्त खोपेर अभिव्यक्त गरे।
पहिलोमा किताबको गाता, दोस्रोमा त्यही वाक्य चहकिलो सेतो रङमा खोपे भने तेस्रो र चौथोमा खाक्सीले मेट्दै-मेट्दै धमिलो बनाए। अनि पाँचौं पाटीमा 'तामाङ' मात्र बाँकी राखे।
यस्तो गर्नुको कारण बताउँदै सुवास भन्छन्, 'अब हामी आफ्नो पहिचान आफैं बनाउँछौं।'
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा 'काइतेन' शीर्षकको प्रदर्शनीमार्फत् उनले आफ्नो समुदायलाई पुनर्व्याख्या गर्ने प्रयास गरेका छन्, आफ्नो समुदायकै कुरा कलामार्फत् देखाएर।
काइतेन भनेको आफ्नो कुरा भन्नु वा प्रस्तुत गर्नु हो। तामाङ समुदायमा इतिहास, संस्कृति र परम्पराको कथा भन्ने मान्छेलाई 'ताम्बा काइतेन' भनिन्छ। तामाङ समुदायले दिएको सांस्कृतिक पदवी हो ताम्बा जसले गीतबाटै कथा सुनाउँछ।
ब्रह्माण्ड, पृथ्वी, मानिसको उत्पत्तिदेखि प्रेम–प्रणय, दर्शनका कुरा उनीहरू गीतैबाट भन्छन्। कथा भन्दै नाच्छन्। डम्फू बजाउँछन्। डम्फू उनीहरूको मूल बाजा हो जसको शिरमा डाँफेको आकृति हुन्छ। ताम्बाले डम्फू बजाउँदै नाच्दै कथा सुनाउँदा त्यसको डाँफे पनि नाच्छ।
डम्फूको सिर्जना पेङ दोर्जेले गरेको भन्ने जनविश्वास छ। कथाअनुसार पेङ दोर्जे एकदिन सिकार खेल्न गए। फर्किँदा घोरल मारेर ल्याए। त्यो देखेर उनकी प्रेमिका दुःखी भइन्। त्यसपछि पेङ दोर्जे पनि दुःखी भएर जंगल डुल्न थाले। त्यही क्रममा उनले एक पोथी डाँफे नाच्दै गरेको देखे। अनि उनको दिमागमा 'आइडिया' फुर्छ।
घर फर्किएर उनी घोरलको छाला घाममा सुकाउँछन्। कोइरालाको काठबाट गोलो घेरा बनाउँछन्। त्यसमा घोरलको छाला राखेर बाँसका काँटी वरिपरि ठोक्छन्। डम्फू तयार हुन्छ। त्यसलाई बजाउँदै, गीत गाउँदै उनी डाँफेजसरी फुरफुर नाच्छन्। त्यो देखेपछि उनकी प्रेमिकाको मुखबाट हाँसो छुट्छ। रिसाएकी प्रेमिका फक्किन्छिन्।
विवाह र ब्रतबन्ध बेला ताम्बाहरूले डम्फू उत्पत्तिको यही कथा गीतमा सुनाउँछन्।
डम्फू र डाँफेको यति राम्रो कथा हुँदाहुँदै सुवासले अनुसन्धान क्रममा फरक कथा भेटे।
महेन्द्र माला किताबमा डाँफेको एउटा पाठ थियो। त्यसमा लेखकले डाँफे राष्ट्रिय चरा भएको र हिमालमा बस्छ भन्ने बुझाउन एउटा कथा बुनेका छन्।
कथामा लामा दाइ जाडो छल्न तराई झर्छन् तर डाँफे कहिल्यै तराई झर्दैन।
एकदिन लामा दाइको बिस्कुन डाँफेले खाइदिएको हुन्छ। त्यही झोंकमा दाइले डाँफेलाई हिर्काउँछन्। उनकै डरले जाडोमा लामा दाइ तराई झर्दा डाँफे भने अझै उत्तरी हिमालतिर जान्छ।
'डाँफे त भौगोलिक हिसाबमै हिमालमा बस्ने पन्छी हो। तर लेखकले किन त्यसरी रचे? त्यसमा किन लामा पात्र नै आयो? बरू हामीसँग भएका डाँफेको त्यति राम्रो कथा भनिएको भए राम्रो हुन्थ्यो कि?' सुवाससँग यस्ता धेरै प्रश्न र जिज्ञासा छन्।
'संङ्स अफ इन्स्लेभ्ड' शीर्षकका तीन चित्रमा उनले डम्फूको चित्रभित्रै तीन आकृति कोरेका छन्– लोक्ता कागज, डोको र आँप।
राणाकालीन समयमा कागजी रकम भनेर तामाङहरूले लोक्ता कागज बनाएर बुझाउनुपर्थ्यो। हुलाकी रकम भनेर भारी बोक्नुपर्थ्यो र आप बगैंचामा काम गर्नुपर्थ्यो। त्यो कुरालाई विम्बका रूपमा डम्फूमा हालेका सुवासले भने, 'उनीहरूले सरकारका लागि काम गरिदिएबापत् केही पारिश्रमिक पाउँथेनन्। आफ्नो बाली लगाउने समयमा सरकारलाई काम गरिदिएपछि उनीहरूको आफ्नो काम पनि हुन्थेन। फेरि काम नगरिदिए आफ्नै जमिन गुम्ने डर थियो।'
यस्ता धेरै कथा अनुसन्धान क्रममा थाहा पाएका सुवासले आफ्ना धेरै चित्रमा मान्छेको अनुहार राखेका छैनन्। बरू अनुहारको ठाउँमा तामाङ समुदायलाई जनाउने डम्फूजस्तै संकेत राखेका छन्। जस्तो कुनैमा आँप, कुनैमा लोक्ताको फूल त कुनैमा 'इम्बोस्ड' सेता अक्षरहरू।
'अनुहार भनेको कसैको पहिचान हो तर तामाङहरूको पहिचान लामो समयदेखि दबाबमा बनेको हो। हामीले आफ्नो पहिचान कहिल्यै आफ्नो खुसीले बनाउन पाएनौं। अरूले लादेको पहिचान भएकाले मैले अनुहारको साटो आफ्नो पहिचान बोकेका सांकेतिक चिह्नहरू राखेको हुँ,' उनले भने।
आफ्नो समुदाय जनाउने चिह्नहरू प्रयोग गर्ने क्रममा सुवासले कोकोमेन्दो (टोटला) फूल धेरै प्रयोग गरेका छन्। त्यही फूललाई जोडेर कतै लामो पर्दाजस्तो बनाएका छन् त कतै त्यसैमाथि चित्र कोरेका छन्।
कोकोमेन्दोलाई हिमाली क्षेत्रका विभिन्न जातजातिले पूजाको समयमा चढाउने पवित्र फूल मानिन्छ। उनीहरूको प्रत्येक पूजा कार्यमा नभई हुँदैन। पछिल्लो समय तामाङहरूले आफ्नो पहिचानका रूपमा पनि प्रयोग गर्दै आएको यो फूललाई सुवासले 'इन्स्टलेसन आर्ट' का रूपमा प्रदर्शनीमा ढालेका छन्।
'कोकोमेन्दोलाई तामाङहरूले उपचार निम्ति पनि प्रयोग गर्छन्। लामो समयदेखिको उत्पीडन इतिहासलाई यो फूलमार्फत् केही कम गर्न सकिन्छ कि भनेर कलामा प्रयोग गरेको हुँ,' सुवासले भने।
त्यही कोकोमेन्दो फूल जोडेर बनाइएको एउटा लामो क्यानभासको पुच्छरमा सुवासले गोले काइँला अर्थात् तुलाराम तामाङको चित्र 'उड–कट प्रिन्ट' मार्फत् बनाएका छन्।
२००७ सालमा प्रजातन्त्रका लागि आन्दोलन हुँदा विराटनगरमा उनलाई गोली हानेर मारिएको थियो। मारेपछि उनलाई पूरै विराटनगर बजार डुलाइयो। राणाको विपक्षमा बोल्यो भने यसरी मारिदिन्छौं भनेर सांकेतिक रूपमा उनलाई घुमाइएको थियो। राज्यलाई देखाउन फोटो पनि खिचेर पठाइएको थियो।
देशमा प्रजातन्त्र आयो, राणाहरू गए। तर तुलाराम तामाङजस्ता सहिद गुमनाम भए। उनकैजस्ता अनेकन नलेखिएका इतिहास तामाङ समुदायमा धेरै भएको सुवास बताउँछन्।
सुवासले आफ्नै कान्छा बुवाको चित्र पनि बनाएका छन्। उनका कान्छा बुवा तान्त्रिक विद्या जानेका 'असिने लामा' थिए। उनी तान्त्रिक विधिले बालीनालीको समयमा असिनालाई अरू नै ठाउँमा सार्न सक्थे। त्यस्ता असिने लामाहरूलाई जंगबहादुर राणाले असिना तर्काएबापत् बाली राम्रो भए इनाम दिने र नराम्रो भए बाली लिने भनेर कागज लेखेका थिए।
सुवासका कान्छा बुवा गुम्बाहरूमा भगवानका मुरल पनि बनाउँथे। यसको नक्कल पनि त्यस चित्रमा छ।
लोकसेवा आयोगको किताबको विषयलाई ढुंगामा खोपेर बनाएका उनले त्यो सीप आफ्नो बुवासँग सानैमा सिकेका हुन्। बुवा ढुंगामा बौद्ध मन्त्र र चिह्न कुँद्थे। सुवासले पछि फाइन आर्ट पढेपछि कलाका विस्तृत आयामबारे जान्न पाए। स्नातकोत्तर पढिसक्दा उनलाई आफ्नो समुदायमा काम गर्ने हुटहुटी जाग्यो।
पहाड घर भोजपुर भए पनि उनी जन्मेको मोरङमा हो। पछि पढाइ सिलसिलामा काठमाडौं आए। तराईमा हुर्किँदा अरूको समुदायबारे उनले धेरै सुने/पढे तर आफ्नो समुदायबारे केही भेटनन्। आफ्नो समुदायबारे जान्ने जिज्ञासाका साथै एक किसिमको दिमागमा दबाबजस्तो पनि भयो उनलाई।
'म आफ्नै समुदायमा हुर्किएको भए मलाई सबै कुरा सामान्य लाग्न सक्थ्यो। तर अर्कै समुदायमा हुर्किएकाले आफ्नो समुदायबारे अझ बढी जान्ने चासो भयो,' उनले भने।
सुवासले आफ्नो घर–परिवारमै त्यस्तो उत्पीडनको कथा त सुनेका छैनन्। तर कहिलेकाहीँ उनको दिमागमा सोच आउँछ, 'मेरो हजुरबुवा, हजुरआमा अनि बुवाहरूले किन पढ्नुभएन होला?'
दुई वर्षदेखि काम सुरू गरेको 'काइतेन' प्रदर्शनीका लागि तामाङ समुदायबारे अध्ययन–अनुसन्धान गर्न सुवासले विभिन्न अभियन्ता र मानवशास्त्रीलाई भेटे। नुवाकोट गएर जान्नेहरूसँग कथा सुने। किताबहरू पढे।
आफ्नो समुदायको कथा एउटा प्रदर्शनीमा सबै अटाउन नसकेको बताउने सुवास आफ्नो समुदायकै अर्को कुनै वा अरू समुदायबारे अध्ययन गरेर भविष्यमा काम गर्न चाहन्छन्।
यस प्रर्दशनी गर्नुको कारण बताउँदै सुवास भन्छन्, 'जसरी इतिहास लेखियो, त्यसलाई पुनः भ्रमण गर्नुपर्छ होला। इतिहास कसरी लेखिन्छ र ती कस्ता देखिएका छन् भन्ने पनि बुझ्नुपर्छ। तामाङहरू कतिसम्मको पीडामा गुज्रिनुपरेको थियो भन्ने त अझै मूलधारमा आएकै छैन।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी