संघीय राजधानीलाई बागमती प्रदेश राजधानी हेटौंडासँग जोड्ने वैकल्पिक सडकका रूपमा रहेको कान्ति राजमार्गको बढी पहिरो जाने स्थानमा कालोपत्रको विकल्पमा रिजिट पेभमेन्ट (कंक्रिटको ढलान) गरिने भएको छ।
झन्डै ८६ किमी लम्बाइको सो राजमार्गमा अझै १० किमी कालोपत्र गर्न बाँकी छ। यसमध्ये पहिराको बढी जोखिम रहेको तीनदेखि चार किमी सडकमा ढलान गर्ने योजना बनाइएको कान्ति राजमार्ग योजनाले जनाएको छ।
दश किमी सडकमध्ये कहाँ-कहाँ कालोपत्र गर्न मिल्छ त्यो वर्ष सकिने र बाँकी स्थानमा नयाँ ठेक्कामार्फत् निर्माण अघि बढाइने इञ्जिनियर दीपेश रजकले जानकारी दिए।
विगतमा कालोपत्र गर्ने भनिएकाले चार किमीमा कंक्रिट (रिजिट पेभमेन्ट) का लागि नयाँ ठेक्का निकाल्नुपर्ने उनले बताए।
उनले भने, 'बाँकी ठाउँमध्ये जहाँ हामी कालोपत्र गर्न सकिँदैन, त्यहाँ डन्डी राखेर कंक्रिटले गर्न नयाँ बजेट माग भएको छ।'
यो सडकमा अहिलेसम्म अरूतिरको सडकभन्दा कम लगानीमा निर्माण भइरहेको योजनाले जनाएको छ। यो सडकमा एक किमी लम्बाइमा लगानी रु चार करोड रहेको थियो।
यो सडकमा पहिराको समस्या हल गरेर मात्रै निर्माण अघि बढाइने उनले बताए।
सडकको भित्तामा वा तल्लो भागमा आवश्यकताअनुसार पर्खाल लगाइनेछ। ठाउँ-ठाउँमा कहाँ बायोइञ्जिनियरिङको काम गर्न सकिन्छ त्यहाँ गरिने उनले जानकारी दिए।
उनले भने, 'निर्माणस्थलमा के अवस्था छ त्यहीअनुसार गर्ने गरी योजना बनाइएको छ।'
आगामी चैतसम्ममा समस्या भएको ठाउँबाहेक अरू खण्ड सम्पन्न गर्ने गरी योजना बनाइएको छ। चालु आवमा निर्माण नसकिएमा अर्काे वर्ष आवतजावत गर्न अझै गाह्रो हुने इञ्जिनियर रजकले बताए।
पहिराको समस्या आगामी आवमा बढ्ने देखिएको छ।
उनका अनुसार पुरानो ठेक्का यो वर्ष सकिने र नयाँ ठेक्कामा नजाँदा पहिरो गएको ठाउँमा हटाउन सकिँदैन।
उनले भने, 'चालु ठेक्का नहुँदा पहिराले अवरूद्ध सडकमा निर्माण व्यवसायीलाई काम गराउन सकिँदैन।'
सडकमा जहाँ सकिन्छ त्यहाँ कालोपत्र गरिने र नसकिने स्थानमा कंक्रिटको काम गरिने योजनाले जनाएको छ।
कालोपत्र जहाँ टिक्दैन र कंक्रिट गर्नुपर्नेछ त्यो ठाउँ तत्काल उसै छाडिनेछ।
पटक/पटक पहिरो जाने ठाउँमा कालोपत्र नटिक्ने हुँदा राज्यको लगानी खेर जाने उनले बताए।
उनले भने, 'त्यसैले पनि हामीले कालोपत्र नगरी छाडिरहेको हो।'
सो सडकमा पहिराको समस्या भएकाले काल्चेबाट देबीसाँध (५७ देखि ६४ चेनेज) सम्म कालोपत्र बाँकी छ। निर्माणाधीन यो सडकमा बर्सेनि पहिराका कारण अवरूद्ध भइरहेको छ।
पहिराका कारण गत वर्षहरूमा केही दिनसम्म नै सडक अवरूद्ध भएको थियो। यो वर्ष भने एक वा दुई दिनमा नै अवरूद्ध सडक खुलाइएको थियो।
चालू आवमा पहिराको समस्या नयाँँ तीनचार ठाउँमा देखिएको छ। यो राजमार्गमा जहाँ पहिरो जान्छ भनिन्छ त्योभन्दा नयाँबाट गएको पाइन्छ। कुनै एक वर्ष पहिरो गएको ठाउँबाट अर्काे वर्ष नजाने हुँदा पहिराको अनुमान गर्न गाह्रो हुने रजकले बताए।
उनले भने, 'खासगरी महशादेबटार, ठिङ्गन, छपेली, तामाखानी, मल्ल होटल नजिक यो वर्ष समस्या देखिएको छ।'
राजमार्गको बुद्धचोकबाट ७९ किमी टीकाभैरवसम्म मात्रै योजनाले हेर्ने गरेको छ। पहिले सो राजमार्गको अन्तिम बिन्दु सातदोबाटो थियो भने सरकारले यसलाई राष्ट्रिय राजमार्गमा सूचीकृत गरेसँगै अन्तिम विन्दु एकान्तकुना निर्धारण गरिएको छ।
अहिले टीकाभैरवदेखि एकान्तकुनासम्म डिभिजनले हेरेको छ।
उनले भने, 'राजमार्ग नै भएकाले भविष्यमा योजनाले नै हेर्न सक्नेछ।'
दुई लेनमा निर्माण भइरहेको राजमार्गमा रहेका पुलहरू भने एक लेनका रहेका छन्।
सडक विभाग, पुल महाशाखाले त्यसलाई विस्तार गरेर सडक जतिकै चौडाइको बनाउने भएको छ।
सो राजमार्गमा अधिकांश स्थानमा चौडाइ दुई लेन अर्थात् सात मिटर छ। कटिङ गर्न नसकिने कठिन चट्टान भएको ठाउँमा भने चौडाइ केही कम छ। पुल अहिले एक लेन अर्थात् चार पाँच मिटरसम्म रहेको छ। विस्तार गरेपछि दोहोरो गाडी हिँड्न सक्ने बन्ने योजनाले जनाएको छ।
राजमार्गमा निर्माणको काम ९० प्रतिशत सकिएको योजनाका प्रमुख ज्ञानेन्द्र झाले जानकारी दिए।
उनका अनुसार कालोपत्र गर्न बाँकी खण्डमा ग्राभेल गरिएको छ। सडकमा पहिले पहिरो सफा गरेपछि मात्रै निर्माण अघि बढाइने उनले बताए।
सो सडक गत वर्षहरूमा केही दिनसम्म अवरूद्ध भएको थियो। यस वर्ष योजनाले विभिन्न निकायसँगको समन्वयमा एक दुई दिनमा नै खुलाइएको थियो। कतिपय ठाउँमा पूरै खुलाउन नसकिएकामा मौसम सफा हुनासाथ एकातर्फी खुलाइएको छ।
उनले भने, 'छसात ठाउँमा पहिरो गएकामा अहिले एकातर्फबाट चालु छ।'
राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेकाले योजनाले ७९ किमी सडक निर्माण गरिरहेको छ। त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छ।
निर्माण सुरू भएको छ दशकपछि कान्ति लोकपथ अन्तिम चरणमा पुगेको छ। विसं २०७२/७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ।
सरकारले सो सडकलाई पहिलो प्राथमिकता (पिवान) मा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो। सरकारले एक दशकयता बर्सेनि राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ।
निर्माणाधीन सो राजमार्गलाई हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किमी लम्बाइको र हेटौंडाबाट पालुङ हुँदै काठमाडौं आउने १३६ किमी सडकको विकल्पका रूपमा समेत हेरिएको छ।
राजमार्ग निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरतर्फ करिब रु एक अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो।
प्रदेश नं ३ को राजधानी हेटौंडा तोकिएपछि पनि सो राजमार्गको महत्व अझै बढेको छ। संघीय राजधानीलाई तराई/मधेशसँग जोड्ने सडकमध्ये निर्माणाधीन काठमाडौं/तराई/मधेश द्रुतमार्ग सबभन्दा छोटो हुनेछ।
यो सडकको समेत विकल्पका रुपमा कान्ति राजमार्गलाई लिइन्छ। (रासस)