सहरिया मानिसका स्मृतिमा आफ्नो सहरका कयौं पुराना किस्सा कहानी हुन्छन्। सहरको इतिहासका कहानी, त्यहाँको सांस्कृतिक मिथक, विकासले लिएर आएका कथा, सहरको कायापलटको विवरण यस्तै यस्तै।
महेन्द्रनगरका पुराना बासिन्दाको स्मृतिमा भने जहाजको कथा छ।
उहिलेको कुरा हो। महेन्द्रनगर सहर बन्न सुरू हुँदै यहाँ विमानस्थल थियो। अहिलेको भीमदत्त नगरपालिका-१६ मा पर्ने मझगाउँमा भएको विमानस्थल वरपर हुर्किएका हुन् स्थानीय रमेश चन्द।
बेलाबेला आइरहने जहाज हरेर सानैमा उनी दंग पर्थे। उनीमात्रै के उनका साथीहरू पनि आकाशमा आवाज सुन्नेबित्तिकै विमानस्थल वरिपरि झुम्मिन्थे।
त्यतिबेला धेरैजसो त शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शिकार खेल्न राजारानीको 'सवारी' हुन्थ्यो। उनीहरू जहाजमा आउँथे।
एक पटक त अचम्मै भयो, उनी र उनका साथीले गोरूगाडाले जहाज तानेको देखे।
२०२७ सालतिरको कुरा हो। शुक्लाफाँटामा शिकार गर्ने क्रममा तत्कालीन रानी रत्नालाई गोली लागेको थियो। तुरून्तै दिल्लीबाट डाक्टर बोलाइयो।
‘यहाँ उपचार नहुनेजस्तो भएपछि भारतले उतै आउन भन्यो तर राजाले डाक्टर यता पठाऊ भनेपछि राति ९ बजेतिर दिल्लीबाट जहाज आएको थियो,’ उनले भने।
उपचारपछि राजारानी काठमाडौं उडे। रानीलाई उपचार गर्न आएका डाक्टरहरू पनि फर्किन थाले। तर उनीहरूको जहाज उड्नै लाग्दा एक पांग्रा माटोमा फसेर निस्कन सकेन।
दुई दिनसम्म प्रयास गर्दा पनि निस्केन। तेस्रो दिन गाउँलेहरूले राँगा,गोरु ल्याएर त्यो जहाजको पाङ्ग्रालाई दाम्लोले बाँधेर तानेका थिए।
'जहाजलाई राँगा गोरुले तानेको घटना निकै रोमान्चक थियो,' उनले भने, 'बल्लतल्ल तीन दिनपछि जहाज उड्यो।'
पहिले पहिले राजा रानीमात्रै चढ्ने जहाजमा विस्तारै सर्वसाधारण पनि चढ्न थालेका थिए।
उनलाई अझै याद छ सुरूसुरूमा मैदानमा विमानस्थलको भवनसमेत थिएन। बजारमा आरएनएसीको एउटा भाडाको कोठा थियो। त्यहीबाट टिकट काटिन्थ्यो ।
पछि विमानस्थल भएको ठाउँमा भवन बनेको थियो। उताबाटै टिकट काटेपछि त्यो भवनमा झोला राखेर मान्छेहरू सामान्य चेकजाँच गराएर प्लेन चढ्थे।
‘पहाडबाट मान्छेलाई आउन जान सजिलो थियो, सामानहरू ल्याउन लैजान पनि सहज थियो,’ उनले भने।
त्यो बेला कहिले जहाज उत्तरतिरबाट त कहिले विमानस्थलको दक्षिणबाट उत्रिन्थ्यो।
‘उबेला पनि दिनभरी गाईभैसीं चर्थे। प्लेन आउने भनेर उताबाट खबर आएपछि प्रहरीले गाईभैंसी लखेट्थे। तारबार थिएन। त्यसपछि सामान्य गरी तारबार गरियो,’ उनले भने, ‘हामीलाई त्यही विमानस्थल भव्य लाग्थ्यो। अहिले अरू विमानस्थल देखेपछि त सपनाजस्तै लाग्छ मलाई।’
त्यतिबेला बझाङ, बैतडी, दार्चुलाका मानिसहरू यो रूट बढी प्रयोग गर्थे।
‘२०३७ सालमा तीन सय रुपैयाँमा टिकट काटेर म १८ सिटे आरएको जहाजमा काठमाडौं गएको थिएँ,’ उनले भने ।
विमानस्थलमा ठूलो टावर पनि थिएन। एउटा सेट ल्याएर एक कोठाबाट काम हुन्थ्यो।
मझगाउँ विमानस्थल २०२४/०२५ सालतिर बनिसकेको थियो। सुरूसुरूमा कहिलेकाहीँ मात्रै प्लेन आउँथ्यो। केही वर्षपछि बैतडी, गोकुलेश्वर र बझाङमा विमानस्थल बने। मझगाउँबाटै ती विमानस्थलमा उडान हुन थालेको थियो। यसपछि अलि धेरै पटक प्लेन आउने गरेको स्थानीय राजेन्द्र चन्दले बताए।
‘प्लेन हेर्न हामी स्कुलबाट दौडेर जान्थ्यौं, आफू पनि चढ्न पाए, उड्न पाए जस्तो लाग्थ्यो,’ उनले भने।
उनी प्लने चढ्न नपाउँदै २०५६ सालतिर विमानस्थल बन्द भयो।
उनले थाहा पाएसम्म संकटकाल लागेपछि सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो। त्यसपछि फेरि कहिले यहाँ प्लेन आएन।
हुन त महेन्द्रनगरबाट डेढ/दुई घन्टाको दूरीमै धनगढी विमानस्थल छ। बझाङ दार्चुलादेखि झर्नेहरू पूर्वतिर जान पनि त्यतैबाट सजिलो भएकाले अहिलेको केन्द्र धनगढी भएको छ। तर महनेन्द्रनगरका बासिन्दालाई भने आफ्नो सहरमा भएको पुरानो विमानस्थल ब्युँतिए आर्थिक गतिविधि बढ्थ्यो भन्ने लागेको छ। यसका लागि पटक-पटक आन्दोलन पनि गर्दै आएका छन्।
‘एयरपोर्ट भएको ठाउँमा अहिले केही छैन, उजाड छ, गाई गोरु चरिरहेका छन्। घाँस पलाएको छ, हामीलाई त आफ्नो सहरमा जहाज आए रमाइलो हुन्थ्यो। विमानस्थलमा गाई चरेको देख्दा नरमाइलो लाग्छ,’ विमानस्थल र त्यहाँ भएका थोत्रा भवन देखाउँदै स्थानीय रमा रसाइलीले भनिन्।
प्लेन चले सहरको सानै बेग्लै हुन्थ्यो, पर्यटक आउँथे, अघिपछि त गाडीमा भए पनि केही छैन इमर्जेन्सी परेर उपचार गर्न टाढा जान परे जहाजमा जान पाइन्थ्यो, सक्नेहरूलाई गाडीमा भन्दा जहाजमा हिँड्न सुविधा हुन्थ्यो जस्तो उनलाई लाग्छ।
त्यसैले विमानस्थललाई पुन: सञ्चालन गर्न माग गर्दै भएको आन्दोलनमा उनी पनि सहभागी भएकी थिइन्।
रमालगायत यहाँका स्थानीयको मुख्य चासो भनेको विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय स्थलमा पर्यटक बढ्थे भन्ने हो।
उत्तरमा चुरे पहाड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डेढ किलोमिटर लामो झोलुंगे पुल लगायतका क्षेत्र यहीँ आसपास छन्।
यसबाहेक मानसरोवर जाने, सुदूरपश्चिमका अरू जिल्ला भ्रमणमा आउनेलाई पनि राहत हुने उनीहरू बताउँछन्।
२२ वर्षसम्म बन्द भएको विमानस्थलको जग्गाको प्रयोग केमा गर्ने भनेर धेरै बहस भएका छन्। स्थानीयहरू भने विमानस्थल नै आउनु पर्ने अडान छोडेनन्।
‘बीचमा त कहिलेकाहीँ यसमा सुकुम्बासीलाई बसाउने कुरा आए, कहिले खेल मैदान बनाउनुपर्छ भन्ने कुरा पनि आए,’ स्थानीय रमेश चन्दले भने।
पछिल्लो २ वर्षयता सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी र अछाममा प्लेन जान थालेको छ। त्यसपछि कञ्चनपुरका बासिन्दाले मझगाउँ विमानस्थल पुन: सञ्चालन हुनुपर्ने भन्दै अभियान चलाउन थालेका हुन्।
२ वर्ष अघि रमेश चन्दको संयोजकत्वमा विमानस्थल पुन:सञ्चालन समिति बन्यो।
‘सबै पक्षसँग छलफल गर्यौं र प्रतिवद्धता माग्यौं। स्थानीय, प्रदेश र संघ सरकारसँग माग राख्यौं,’ चन्दले भने।
विमानस्थल सञ्चालन गर्न भीमदत्त नगरपालिका र दोधरा चाँदनी नगरपालिकाले पनि आफ्ना नागरिकलाई साथ दिए।
यसपछि तिनै तहका सरकारसँग त्रिपक्षीय सम्झौता भयो।
‘विमानस्थल पुन: निर्माणका लागि आवश्यक रकममध्ये ५० प्रतिशत नागरिक उड्यन प्राधिकरण, २५ प्रतिशत प्रदेश सरकार, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधारा चाँदनी नगरपालिकाले दिने सहमति भयो,’ उनले भने।
त्यहीअनुसार अहिले सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ। भीमदत्त नगरपालिकाले एक करोड र दोधारा चाँदनीले पनि बजेट छुट्याएको छ।
नागरिक उड्यन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले उक्त विमानस्थल निर्माणका लागि प्रदेश र स्थानीय सरकारबाट बजेट प्राप्त हुन थालेको बताए। प्राधिकरणका तर्फबाट संघ सरकारसंग बजेट माग गरिएको उनले बताए।
‘अहिले बजेट पास भएर आएको छैन, बजेट आउनासाथ काम अघि बढ्छ,’ उनले भने।
उनका अनुसार मझगाउँ विमानस्थल पुन:निर्माणका लागि गुरूयोजना बनेर डिजाइन पूरा भएको छ।
‘टेन्डरको काम पनि सकिएर अब सम्झौता हुने चरणमा छ। छठ लगत्तै काम सुरू हुनेछ,’ उनले भने।
एटीआर ७२ जहाज उडान-अवतरण गर्न सक्ने गरी विमानस्थल बनाउने उनले बताए।
यसको रन वे एक हजार चार सय २० मिटर लम्बाइको हुने छ। यस्तै एप्रोनमा २ वटा प्लेन पार्क हुने गरी बनाइने छ। अहिलेको भएको पुरानो टर्मिनल भवन भत्काइने छ र नयाँ बनाइने छ।
‘धावन मार्गसम्म पहिलो चरणमा काम हुनेछ। टावर, अरू उपकरण, रनवेको काम हुँदै गर्दा डिजाइन र टेन्डर हुनेछ,’ उनले भने।