तनहुँको खैरेनीटारबाट यशोदा बानियाँ प्लस-टु पढ्न पोखरा आइन्। कामको खोजीमा लागिन्। पढ्दै काम गरेर आफ्नो खर्च आफैं जुटाउने ध्येय थियो उनको।
पोखरामा मामाघर बसेर पढिरहेकी यशोदाले लेकसाइडस्थित थ्री सिस्टर ट्रेकिङ कम्पनीमा काम पाइने थाहा पाइन्। कम्पनी पुगेर बुझिन्।
त्यसअघि ट्रेकिङ भनेको के हो, विस्तृतमा उनलाई थाहै थिएन। विदेशी घुम्न आएको देखेकी थिइन्, त्यही होला भन्ठान्थिन्।
उनले कम्पनीमा पर्यटक सहायकको जागिर पाइन्। पर्यटक सहायकलाई पदयात्रामा जानेहरूका १२ देखि १५ किलोसम्मको झोला बोकाइन्थ्यो। यशोदा झोला बोक्न तयार भइन्।
उनको यो कदममा परिवारको भने असहमति थियो।
'क्षत्री-बाहुनको घरमा कसैले नगरेको काम, गोरासँग भारी बोकेर हिँड्ने भनेर कसैलाई मन परेको थिएन,' यशोदाले भनिन्, 'म एकपटक प्रयास गर्छु भनेर जिद्दी गरेर आएँ।'
सन् २०१० मा पर्यटक सहायक भएकी उनले दुई वर्षमै गाइड तालिम लिएर लाइसेन्स निकालिन्। गाइडको काम गर्दै समाजशास्त्रमा स्नातक पनि सकिन्।
त्यसयता पनि सक्रिय रूपमा यो काममा रमाएकी छन्। कोरोना अघिसम्म उनी गाइडकै रूपमा नेपालका प्रख्यात पदयात्राहरू घुमिन्। पर्यटकलाई घुमाइन्। अन्नपूर्ण, लाङटाङ र सगरमाथा क्षेत्रका पदयात्रा सबभन्दा धेरैपटक पुगेको उनी बताउँछिन्।
महामारीयता भने पर्यटक आउन बन्द भए। दुई वर्ष भयो, उनले पर्यटक घुमाउन पाएकी छैनन्।
यशोदाका श्रीमान पोखरामा ट्याक्सी चलाउँछन्। लकडाउनले श्रीमान–श्रीमती दुवैको रोजगार गुम्यो। टिनले छाएका दुइटा सानो कोठा मासिक सात हजार तिरेर बसेकी उनले भाडा नतिरेको पनि दुई वर्ष नै भयो। ऋण पनि लागेको छ।
यो दुःखका बाबजुद उनलाई पर्यटक लिएर हिमालतिर उक्लने रनाहाले छाडेको छैन।
'यो क्षेत्रमा लागेपछि नशाजस्तो हुन्छ, छाड्नै सकिन्न,' उनले भनिन्, 'दुई वर्ष त यत्तिकै बसियो। सात वर्ष बस्नुपरे पनि पर्यटक आएपछि ट्रेकिङ जाने हो।'
यशोदाजस्तै दुःख भए पनि यही क्षेत्रमा लागिरहने बताउँछिन् स्याङ्जा बहाकोटकी हिरा मल्ल। श्रीमानले अर्को बिहे गरेपछि हिरालाई छोराछोरी हुर्काउन मुश्किल पर्यो। उनकी बहिनी विष्णु पोखराको थ्री सिस्टर ट्रेकिङ कम्पनीमै काम गर्थिन्। जागिरको खोजीमा रहेकी उनलाई विष्णुले पोखरा बोलाइन्। पर्यटकको भारी बोक्ने काम लगाइदिइन्।
पहिलोपटक सन् २००७ मा हिरा डोकोमा पर्यटकका बच्चा बोकेर लान्द्रुक–घान्द्रुक पदयात्रामा लागिन्। बच्चाको शरीर ठूलो थियो। हिराले डोकोमा राखेर नाम्लो लगाएर बोकिन्।
'मान्छे बोक्न एकदम गाह्रो हुने रहेछ,' उनले भनिन्, 'भाषाको समस्या थियोर केही भन्न पनि नसक्ने। बाटोमै छाडेर हिडौंजस्तो भएको थियो।'
जतिसुकै गाह्रो भए पनि उनीसँग विकल्प थिएन। जसोतसो गन्तव्यमा पुगिन्। अनि काम जारी राखिन्।
पछि कम्पनीबाटै उनले गाइड तालिम लिइन्। सन् २००९ मा लाइसेन्स निकाले गाइड बनिन्। अहिलेसम्म उनले कञ्चनजंघा क्षेत्रबाहेक नेपालका सबै पदमार्गको यात्रा गरिसकेको बताउँछिन्।
अरू कम्पनीमा गाइड काम गर्दागर्दै हिराले आफ्नै कम्पनी खोलिन्- मल्ल सिस्टर विमन एड्भेन्चर गाइड।
सधैं अफिस खोलेर बस्नुपर्ने बाध्यता थिएन। पर्यटकले अनलाइनबाटै बुक गर्थे। साथीहरू मिलेर कम्पनी चलाइन्। दुई वर्षयता कोरोनाले कम्पनी ठप्प छ। तर उनलाई पर्यटक आउने आशा अझै छ।
पर्यटन क्षेत्रमा होमिएकी हिरा अब अरू काम नगर्ने बताउँछिन्।
'अरू काम गर्न शून्यबाट सुरू गर्नुपर्छ। यो क्षेत्रमा हामीले यति धेरै वर्ष मेहनत गरेका छौं, अनुभव छ,' उनले भनिन्, 'सक्दासम्म यही काम गर्ने हो। एक दिन त पर्यटक आउलान् नि।'
पर्यटन क्षेत्रमा कमाइ राम्रै भए पनि वर्षमा ६ महिना मात्र चल्छ। त्यसैले बचत कम हुने उनीहरूको भनाइ छ।
'सिजनमा मात्र कमाइ हुन्छ। अफसिजनमा त्यही कमाइ खाएर बस्नुपर्छ,' हिराले भनिन्, '१२ महिना चल्ने भए त कति राम्रो हुन्थ्यो कति।'
पर्यटन क्षेत्रमै होमिएकी अर्की महिला हुन् धरानकी शोभा सुनुवार। धरानको ब्रिटिस क्याम्पमा कार्यरत बुबाको पोखरा सरूवा भएपछि शोभा पनि पोखरा आइन्। उनको बिहे भने रामेछापमा भएको थियो। तर उनी पोखरा नै बसिन्।
यशोदासँगै तालिम लिएर पर्यटन क्षेत्रमा लागेकी शोभा पनि सुरूमा पर्यटक सहायकका रूपमा झोला बोकेर हिँडेकी थिइन्। पछि गाइड तालिम लिएर लाइसेन्स लिइन्। अनि उनी पनि पर्यटकलाई बाटो देखाउन थालिन्।
कोरोना लकडाउनपछि रोजगार गुमाएकी शोभा कामको खोजीमा पोखराका विभिन्न ठाउँ पुगिन्। सपिङ कम्प्लेक्सदेखि घर बनाउने ठाउँसम्म। लकडाउनले धेरै मजदुर रोजगारबिहीन थिए। उनले काम पाउन सकिनन्। घर बनाउने ठाउँमा जाँदा तिमीले के गर्न सक्छौ र भनेर फर्काइदिएको उनले सुनाइन्।
शोभाका दाजुभाइ बेलायत छन्। उनीहरूले खर्च टार्न पैसा पठाइदिएका थिए। भदैनीहरूले पनि सहयोग गरे। पर्यटन मजदुरलाई सहयोग गर्न विभिन्न संस्थाले राहत दिएको थियो, उनले पनि पाइन्। महामारीयताका दुई वर्ष यसरी नै बिताएकी शोभा पनि पर्यटककै पर्खाइमा छिन्। पदयात्रा पुरानै लयमा फर्कने आशामा छिन्।
महामारीयता कोठामा थुनिएर बसेका शोभा र यशोदालाई कहिलेकाहीँ काम र साथीसंगीको धेरै न्यास्रो लाग्यो। यो न्यास्रो मेटाउन गत फागुनमा उनीहरू मर्दी पदयात्रामा लागे। पर्यटक लिएर हिँडेको बाटो दुई जना मात्रै जाँदा उनीहरूलाई सुनसान लाग्यो। फेरि यो बाटो पर्यटक लिएर आइन्छ भन्दै फर्किएको शोभाले सुनाइन्।
'नेपाली केटाहरूले हामीलाई हेप्छन्'
अन्य क्षेत्रमा जस्तै महिलालाई पर्यटन क्षेत्रमा पनि काम गर्न सजिलो छैन। काम गर्न नसकेको वा नजानेर होइन, महिला भएकै कारण अनेक अप्ठ्यारा बेहोर्न परेको उनीहरूको भनाइ छ।
झन्डै १२ वर्षदेखि पर्यटक सहायक र गाइड बनेर काम गरेकी यशोदाले यस्ता थुप्रै अनुभव सँगालेकी छिन्।
पदयात्रा गर्न महिलालाई समस्या छैन। पर्यटकबाट पनि समस्या छैन। तालिम लिएर बुझेर लागेकी उनलाई नेपाली पुरूषहरूले दु:ख दिने बताउँछिन्।
'गाइड सेवा लिनुपर्नेमा मान्छे नै किनेको झैं व्यवहार गर्छन्,' उनले भनिन्, 'हामीले सेवा बेचेको हो, आफू बेचिएको त होइन नि।'
यशोदाले एउटा घटना सुनाइन्।
एकपटक उनी घोरेपानी–पुनहिल पदयात्रामा एक विदेशी महिला लिएर गएकी थिइन्। उल्लेरीको उकालोमा एक नेपाली पर्यटन मजदुरसँग भेट भयो।
ती मजदुरले उनलाई भनेछन्, 'यो काम हामीले गर्ने हो, तिमी केटीहरूले होइन। केटी मान्छे त बजारमा सानोतिनो काम गरे हुन्छ। अफिसियल काम गर्नुपर्छ।'
ती पुरुषले केटीहरू पर्यटकसँग पदयात्रामा जान थालेर आफूहरूको काम ध्वस्त भएको भने। यशोदालाई झनक्क भयो र भनिन्, 'काम गरेर खाने हो, जसले गरे पनि हुन्छ।'
'मेरो त मुख छुचो छ, यस्तो कुरा नगर्नू भनेर कराइदिएँ,' उनले भनिन्।
सिजनका समय पदमार्गमा रहेका होटलहरमा पनि महिला गाइड र पोर्टरलाई बस्न खान समस्या छ।
'केटाहरू डाइनिङ टेबलमा सुत्छन्। हामीलाई त्यही पनि व्यवस्था हुँदैन,' उनले भनिन्, 'सिजनमा एकदम गाह्रो हुन्छ।'
पर्यटक लिएर जाने नेपाली गाइड र पोर्टरले बास बस्ने होटलमा मदिरा सेवन गरेर 'छाडा' बोल्ने गरेको उनीहरूको अनुभव छ।
'स्थिति हेरेर बोल्नुपर्छ, दाजुभाइको कुरा सुन्नै नसकिने हुन्छ,' अर्की गाइड हिराले भनिन्, 'कोहीकोही त हामीलाई मान्छे नै नगन्ने खालका हुन्छन्।'
पर्यटकका महिला गाइडलाई गाउँ-समाजले समेत असल दृष्टि नलगाउने हिराको अनुभव छ। गाउँका तीन जना महिलाले जागिर खोजेपछि उनले पोखरा ल्याएर तालिम दिएकी थिइन्। पदयात्रामा पठाउन ठिक्क पारिन्। एक महिना तालिम लिएरपछि गाउँलेले कुरा काट्न थालेको उनको अनुभव छ।
'यो ठीक बाटो होइन। बिग्रिएका मान्छेले गर्ने काम भनेर होच्याउँछन्,' उनले भनिन्।
राजदूत घुमाउन पदमार्ग सरसफाइ
४२ औं विश्व पर्यटन दिवसका अवसरमा विभिन्न देशका राजदूतलाई पदयात्रा गराउन पर्यटन मजदुरलाई पदमार्ग सरसफाइमा खटाइएको छ। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमसँग मिलेर कोरोना लकडाउनका कारण बेरोजगार भएका पर्यटक गाइड तथा पोर्टरलाई सरसफाइमा खटाएको हो।
पोखराको कास्कीकोटमा शुक्रबार एक कार्यक्रम गरी पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले सरसफाइ अभियानको सुरूआत गरे। सो अवसरमा सरसफाइमा हिँडेका छ महिलासहित तीस जना गाइड तथा पोर्टरलाई सरसफाइ सामाग्री हस्तान्तरण गरिएको थियो।
विश्व पर्यटन दिवसका अवसरमा यही सेप्टेम्बर २७ (असोज ११) गते पोखरा आसपासका पदमार्गमा विभिन्न देशका राजदूतसहित विदेशी नियोगका प्रमुखलाई पदयात्रा गराउने कार्यक्रम तय भएको छ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमअन्तर्गत जीविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोगमा दैनिक एक हजार रूपैयाँ दिनेगरी पर्यटन मजदुरलाई पदमार्ग सफाइमा खटाइएको छ। भत्किएका पदमार्ग मर्मतसम्भार र सरफाइका लागि विभिन्न चरणमा दुई सय जना खटाइने भण्डारीले बताए।
कास्कीकोटबाट सुरू भएको सफाइ अभियान नौडाँडा–कास्कीकोट–सराङकोट–मेथलाङ हुँदै पोखराको जरेवरमा समापन हुनेछ। उक्त अभियान दस दिनसम्म चल्नेछ। यस्तै, लेकसाइडदेखि पञ्चासेसम्म र मर्दी पदमार्ग पनि सरसफाइ गर्ने कार्यक्रम पनि रहेको भण्डारीले जानकारी दिए।