काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज सोमबार बिहान ठूलो संकटबाट जोगियो।
७० यात्रु र ३ चालक दलका सदस्य रहेको जहाजको ल्यान्डिङ गियरमा समस्या आएपछि पाइलटले विरानगरबाट जहाज काठमाडौं फर्काएका थिए।
ल्यान्डिङ गियरमा समस्या देखिए पनि पाइटलले एयरहोस्टेसमार्फत् सामान्य प्राविधिक समस्या देखिएको जानकारी यात्रुलाई दिए। फ्लाइटमा रहेका एयरहोस्टेसले यात्रुलाई काठमाडौं पुर्याएर अर्को जहाजमा विराटनगर पठाउने सूचना दिए।
त्यतिञ्जेल जहाज ठूलै संकटमा फसिसकेको थियो। पाइलटले काठमाडौंमा त्रिभुवन विमानस्थलको टावरलाई ल्यान्डिङ गियरमा समस्या आएको जानकरी दिइसकेका थिए। विमानस्थलले एम्बुलेन्सदेखि अग्नि नियन्त्रकसम्मलाई तम्तयार अवस्थामा राखिसकेको थियो।
जहाज काठमाडौं आइपुगिसकेपछि पनि ल्याण्ड नगरेपछि मात्र जहाज भित्रका यात्रुले संकटमा परेको थाहा पाए।
जहाजमा यात्रा गरिरहेका काठमाडौंका पुष्कर मानन्धरले रनवे नजिक भएर पनि जहाज ल्यान्ड नगरेपछि मात्रै मनमा चिसो भएको बताए।
'जहाजको झ्यालबाट हेर्दा अग्नि नियन्त्रक, एम्बुलेन्स सेना प्रहरी देखियो,' पुष्करले भने, 'त्यसपछि मैले श्रीमतीलाई बुढी, हाम्रो जीवन यत्ति रहेछ। प्लेन क्र्यास होलाजस्तो छ भनेर भनेँ।'
पुष्कर श्रीमती र भाइसँगै इटहरी जान विराटनगरका लागि उडेका थिए।
'बहिनीको श्रीमान बितेको १३ दिन भएको थियो। त्यही भएर इटहरी जान बिहानै आमाको खुट्टा ढोगेर हिँडेको थिएँ,' पुष्करले भने, 'आज भगवानको कृपाले बाँचियो।'
जहाज संकटमा परेको थाहा भएपछि जहाजमा केही यात्रु रून थालेको पुष्करले बताए।
'केही महिलाले हामीलाई सत्य कुरा के हो भनिदिनुहोस् भनेर एयरहोस्टेसलाई भन्न थाले,' सेतोपाटीसँग कुरा गर्दै पुष्करले भने, 'प्लेन उडेकै उडेको गर्न थालेपछि एक जना एयरहोस्टेसको आँखा पनि रसिलो देखेँ मैले। भर्खर १८/१९ वर्षकी एयरहोस्टेसको आँखा रसाएपछि डर लाग्यो। अनि मलाई पनि लास्टै रहेछ भनेर डर लाग्यो।'
दुर्घटनामा पर्ने भयो भन्ने मनमा लागेपछि घरको खुबै याद आएको पुष्करले बताए।
'बुबा हुनुहुन्न मेरो। आमा बुढी। भाइ पनि त्यही प्लेनमा। श्रीमती पनि त्यही प्लेनमा भएपछि खुबै गाह्रो हुँदो रहेछ,' गहभरी आँसु पार्दै पुष्करले भने, 'घरमा बच्चाले अभिभावक गुमाउँदा के स्थिति हुन्छ समाजमा देखिराखेका हुन्छौं। त्यो सम्झना आउँदो रहेछ।'
जहाजमा छोरी/छोरा र आमाको सम्झना आएको पुष्करले बताए।
'अब त प्लेन ल्यान्ड गर्दैन कता लगेर जोतिने हो भन्ने लागिरहेको थियो,' पुष्करले भने, 'बुढा आङ्गेलो शेर्पा पाइलट अनुभवी रहेछन्। प्लेन सकुशल ल्यान्डिङ गरे।'
जहाज ल्यान्ड भएपछि सेना प्रहरी सबैले हात हल्लाएपछि भने दोस्रो जुनी पाएको अनुभव भएको पुष्करले बताए।
'राष्ट्र प्रमुख आउँदाजस्तो स्वागत हुन्छ, त्यस्तै स्वागत एयरपोर्टमा पाइयो,' पुष्करले भने, 'स्ट्रेचरहरू देख्दा मन खिन्न त भयो। तर हामी सकुशल भयौं।'
ललितपुरको जावलाखेलस्थित घर फर्किएकपछि पुष्करले आमाको खुट्टा ढोगे। छोरीले टीका लगाइदिइन्।
'ल, आमा छोरो फेरि वापस आयो भनेर घर प्रवेश गरेँ,' पुष्करले भने।
(भिडिओ)