यो अन्नपूर्ण पहिलो, त्यो अन्नपूर्ण चौथो। संयोगवश सोमबार बिहानै अन्नपूर्ण श्रृङ्खला खुलेको थियो, हिमाल चिनाउन व्यस्त थिए, नेपालका लागि फिनल्याण्डका राजदूत प्रेट्टी जुहानी एन्टिनेन।
पदयात्राका लागि अन्नपूर्ण गाउँपालिकाको देउरालीडाँडा पुग्दा बादलले हिमाल छोपिसकेको थियो। बादल फाटेका ठाउँमा भने भर्खरै परेजस्तो सेतो हिउँ टल्किरहेको थियो। राजदूत प्रेट्टी भने अलिकति देखिएका हिउँ पनि कुन हिमालका होलान् भनेर खुट्याउन घोत्लिरहे। अरू देशका पर्यटक र कूटनीतिक नियोगका प्रमुखलाई चिनाइरहे।
प्रेट्टी फिनल्याण्डबाट नेपालका लागि राजदूत भएर काठमाडौं ओर्लिएको ३ वर्ष पूरा हुनै आँट्यो। यस बीचमा सात पटक पोखरा आएको उनले बताए।
२ वर्षअघि कोरोनाभाइरसको महामारी रोक्न भएको पहिलो लकडाउनको ठीकअघि पनि उनी पोखरामै थिए। पोखराबाट कालीगण्डकी उपत्यका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको उनले बताए। हिमाली क्षेत्रमा घुम्दा र पोखराबाट हिमाल हेर्दाहेर्दै हिमाल चिन्न थालेको उनले सेतोपाटीलाई बताए।
नेपालको प्राकृतिक सुन्दरता र नेपालीले पस्कने आतिथ्यताले जसलाई पनि मोहित बनाउन सक्ने राजदूत प्रेट्टीको भनाइ छ।
‘मैले यो कुरा बोल्नलाई मात्र भनेको होइन, साँच्चै नेपालीको हाँसोले पर्यटकलाई खुसी दिन्छ,’ उनले भने।
देउरालीडाँडाबाट नेपालकै पहिलो अपाङ्गमैत्री पदयात्रा पूरा गरेपछि सराङकोटमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका प्रेट्टी यतिमै रोकिएनन्। नेपाल भनेको काठमाडौं उपत्यकामात्र नभएको उनले बताए।
‘काठमाडौंमात्र नेपाल होइन, त्यो त सानो हिस्सामात्र हो,’ उनले भने, ‘नेपाल त काठमाडौंबाहिर छ।’
प्रेट्टी लामो समयदेखि नेपाल बसेकाले मात्रै होइन, घुमघाममा विशेष रूची राख्ने राजदूतमा गनिन्छन्। उनले नेपालका धेरै पर्यटकीय क्षेत्र घुमेका छन्, नेपाली गाउँगाउँका मानिस भेटेका छन्। कोरोना महामारीले शिथिल पारेको नेपालको पर्यटन छिट्टै पुरानै लयमा फर्कने उनको विश्वास छ।
राजदूत प्रेट्टीलाई छोएको अर्को विषय छ, पदमार्गको विनाश। डोजर विकासले अहिले हिमाली क्षेत्रका पुराना पदमार्ग ध्वस्त भएका छन्। मोटरबाटो पुर्याउन खोज्दा धेरै ठाउँमा पहिरोले हिँड्न पनि नमिल्ने भएका छन्। पुरानै लयमा पर्यटन फर्काउन नेपालका गोरेटो पदमार्ग जोगाउनु पर्ने उनको भनाइ छ।
‘सडक बनाउँदा गोरेटो मासिकएका छन्,’ उनले भने, ‘यहाँ पर्यटक पुरानै बाटोमा हिँड्न रूचाउँछन्, त्यसैले बाटो बनाउँदा ध्यान दिन मेरो सुझाव छ।’
उनले पदमार्गका फोहोर व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए।
संयुक्त राष्ट्रसंघका आवासीय प्रमुख सारा बेसोलो नान्तीले त बिहानै सराङकोट उक्लिएर टिकटक भिडिओ बनाइन्। सुर्योदयका समयमा अन्नपूर्ण हिमश्रृङ्खलालाई पृष्ठभूमिमा राखेर उनले भविष्यका लागि नेपालका सम्पदा जोगाउनु पर्ने बताइन्।
‘नेपालको अद्भुत प्राकृतिक दृश्य अन्त भेटिदैन,’ पहिलो पटक पोखरा आएकी साराले टिकटक भिडिओमा भनेकी छिन्, ‘यहाँको संस्कृति, आतिथ्य सत्कार मन पर्यो, पर्यटकका लागि नेपाल खुला छ, प्रकृतिलाई महशुस गर्न नेपाल आउनुस्।’
गण्डकी सरकार, नेपाल पर्यटन बोर्ड र पोखराका पर्यटन व्यवसायीले काठमाडौंस्थित विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखलाई आइतबार पोखरा ल्याएका थिए। बुद्ध एयरको जहाज चार्टर गरेर ११ देशका राजदूत र विभिन्न अन्तर्राष्ट्रिय कूटनीतिक नियोग एवं संस्थाका प्रमुखलाई ल्याएर आइतबार पदयात्रा गराएका हुन्। यो कार्यक्रमबाट कोरोना महामारीले थलिएको पर्यटन बचाउन टेवा पुग्ने व्यवसायीको विश्वास छ।
श्रीलंकाबाट राजदूत भएर काठमाडौं ओर्लेको २ वर्ष बित्यो, तर राजदूत हिमाली अरुणथिलाका पोखरा पहिलो पटक शुक्रबार झरिन्। बौद्धमार्गी राजदूत हिमाली यो दुई वर्षमा ३ पटक लुम्बिनी पुगिन्। चितवन, नगरकोट र धुलिखेल घुमिन्।
पोखरामा पदयात्रा गर्न उनले नसक्ने बताएकी थिइन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टान र अन्य संस्थाका प्रतिनिधिले सक्नुहुन्छ भन्दै ढाडस दिए। उनी पदयात्रा जान तयार भइन्। जब पदयात्रा पूरा गरिन्, पहिलो पटक यत्ति अग्लो पहाड चढेको भन्दै गर्व गरिन्।
‘मैले पदयात्रा रूट पूरा गरें, गर्व लागेको छ कि यति अग्लो पहाड पहिलो पटक चढें,’ उनले भनिन्, ‘समथर भुगोलमा हिँड्थें, तर यसरी पहाड चढेकी थिइनँ।’
घुम्नका लागि नेपाल सुरक्षित र खुला रहेको सन्देश दिन राजदूत र कूटनीतिक नियोगका प्रमुखलाई पदयात्रा गराइएको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले बताए।
‘यो कार्यक्रमले पोखरा घुम्न नेपालीलाई पनि उत्प्रेरित गर्छ,’ उनले भने, ‘उनीहरूका देशका साथी र परिवारलाई पनि पक्कै प्रेरणा मिल्छ।’
सरकारले पर्यटकका लागि अन अराइभल भिसा दिने निर्णय गरिसकेकाले अब विदेशी पर्यटक भित्रनेमा पोखराका पर्यटन व्यवसायीको आशा छ। समयमै सरकारले पर्यटकका लागि भिसा खोल्न र क्वारेन्टिनसम्बन्धी व्यवस्था नहटाउँदा भने नेपाल आउन चाहने पर्यटक अन्यत्र गएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराइले बताए।
राजदूत पदयात्राले यस्तो सन्देश दिन सहयोग पुग्ने उनको विश्वास छ।
नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्ज सबेरै फेवातालमाथि विश्व शान्ति स्तुप पुगे। उनी राजदूत बनेर नेपाल आएका १ महिनामात्र भएको छ। विश्व शान्ति स्तुपबाट अन्नपूर्ण दक्षिण हिमाल देखिएको फोटो फेसबुकमा पोष्ट गरे। त्यही फोटो देखेर उनका साथीहरु नेपाल आउन चाहेको थोमसले बताए।
थोमस मात्र होइन, अन्य देशका कतिपय राजदूतले यति नजिकै हिमाल नै नदेखेको बताए। पहिलो पटक नजिकै हिमाल देख्दा रमाइलो लागेको भन्दै उनीहरू नेपालको पर्यटन छिट्टै माथि उठ्ने बताए।
बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले २ सातापछि काठमाडौंदेखि बंगलादेशसम्म हवाई उडान सुरू हुने बताइन्। हवाई सेवा सुचारु भएपछि बंगाली पर्यटकको चाप नेपालमा बढ्ने उनले बताइन्। पहिलो पटक पदयात्रा गरेको भन्दै उनले बंगलादेशमा हिमाल नभएकाले नेपालको हिमालले तान्ने बताइन्।
‘यहाँको प्राकृतिक सुन्दरता, वनजंगल र वनस्पति भविष्यका लागि जोगाउनुपर्छ,’ उनले भनिन्, ‘धेरै पर्यटक ल्याउन हिमाल जोगाउनुपर्छ।’
युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रोफ्टले हिमाल देख्दा आकाशमा पेन्टिङ गरेजस्तो अनुभूति भएको बताए। अर्को पटक परिवार लिएर पोखरा आउने भन्दै उनले काठमाडौंमा भन्दा पोखरामा बिताएको पल रमाइलो भएको प्रतिक्रिया दिए।
अपाङ्गमैत्री पदमार्ग हुँदै शाहवंशको उद्गम थलोसम्म
पोखरामा सन् २०१८ मार्चमा ‘इन्टरनेशनल कन्फरेन्स अन एक्सेसिबल एडभेन्चर’ कार्यक्रम आयोजना भएको थियो। नेपाल पर्यटन बोर्ड र राष्ट्रिय अपाङ्ग महासंघले आयोजना गरेको यस कार्यक्रमले निष्कर्ष निकाल्यो, अब अपाङ्गता भएका व्यक्तिलाई पनि पदयात्रामा पहुँच दिलाउन पदमार्ग अपाङ्गमैत्री बनाउने।
त्यही कार्यक्रमपश्चात सोमबार राजदूतले पदयात्रा गरेको देउराली-कास्कीकोट-सराङकोट पदमार्ग निर्माण गरिएको हो। निर्माणको केही काम पूरा हुन बाँकी रहेको पदमार्ग निर्माण समितिका अध्यक्ष विष्णुहरी शर्माले बताए।
‘ट्रेक खुलिसकेको छ, केही ठाउँमा सुरक्षाका लागि बार लगाउन र ढुङ्गा बिच्छ्याउन बाँकी छ।’
अन्नपूर्ण हिमश्रृङ्खलाको पुरै हिमाल यो पदमार्गबाट देखिन्छ भने जंगलमा जैविक विविधता, तल फेवातालसहित मनोरम बस्ती देखिन्छ। पहाडको थाप्लैथाप्ला यो बाटोमा ह्विलचियर हिँडाउन सकिने गरी संरचना बनाइएको छ।
चैत-वैशाखमा लालीगुराँस फुल्ने र पोखराबाट देखिने सबैजसो हिमाली दृश्य देखिने भएकाले पर्यटन बोर्डले यो पदमार्गलाई प्राथमिकता दिएको छ। देउरालीदेखि कास्कीकोटसम्म यो पदमार्ग जम्मा ३ किलोमिटर छ।
राजदूत र कूटनीतिक नियोगका प्रमुख लगायतका टोलीलाई पदयात्रा सकाएर नेपालको इतिहास झल्काउने कास्कीकोट दरबार पुर्याइयो। बाइसे/चौबीसे राज्यकालमा कास्कीकोटमा बसेर कास्कीमा शाह वंशले राज्य चलाउँथे।
त्यो समय लमजुङमा घले राजाको शासन थियो। लमजुङ दुराडाँडाका खजे दुरा लगायतका टोलीले घले राजाका विरूद्ध कास्कीका राजा कुलमण्डन शाहसँग राजा माग्न गए। कुलमण्डनले माइला छोरा कालु शाहलाई लमजुङमा राजा बन्न पठाए। लमजुङका नागरिक कालु शाह र घले राजाका बिच विभाजित भए। लडाइमा घले राजाले कालु शाहलाई मारिदिए।
लमजुङका नागरिक फेरी कुलमण्डन शाहसँग राजा माग्न गए। माइला छोरा लडाइमा गुमाएका कुलमण्डनले कान्छा छोरा यशोब्रम्हलाई लमजुङको राजा बन्न पठाए। घले राजासँगको लडाइँ यशोब्रम्हले जिते। शाह राजाले जितेको भन्दै खजे दुरा लगायतका टोलीले लमजुङको दुराडाँडामा सिन्दुर जात्रा गरे। त्यसश्चात लमजुङको दुराडाँडामा उक्त ठाउँलाई सिन्दुरे ढुङ्गा भन्छन्।
यसरी लमजुङको राजा बन्न पुगेका यशोब्रम्हकै कान्छा छोरा द्रब्य शाह गोरखामा राजा छान्न आयोजित लिगलिग दौड जितेर गोरखाका राजा भए। वर्षेनी लिगलिगकोटसम्म दौडाएर राजा छान्न चलन द्रब्य शाहले रोकिदिए। गोरखामा पनि शाहवंशीय शासन शुरू भयो।
यिनै द्रब्य शाहका सन्तान पृथ्वीनारायण शाहले बाइसे/चौबीसे राज्य एकीकरण गरेका थिए। पदयात्रामा आएका राजदूत र कूटनीतिज्ञलाई यस्तो इतिहासबारे पृथ्वीनारायण क्याम्पसका सह-प्राध्यापक दीपक बास्तोलाले जानकारी गराएका थिए। अहिले पनि कास्कीकोटमा तत्कालीन शाह राजाका भग्नावशेष देख्न सकिन्छ।
नेपालका ऐतिहासिक तथ्य र सम्पदाका बारेमा थाहा पाउँदा राजदूतहरू दंग परेका थिए। पदयात्रामा सामेल संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का नेपाल प्रतिनिधि माइकल क्रोफ्टले नेपालको इतिहासका बारेमा जान्न पाउँदा खुसी लागेको बताए। उनले भने, ‘नेपालका केही ऐतिहासिक कुरा बुझ्न पाउँदा एकदम रोचक र खुसी लाग्यो।’
सबै तस्बिरहरू: युवराज श्रेष्ठ/सेतोपाटी