विशेषगरी वयष्कहरूमा रूमाटिक हर्ट डिजिज भन्ने समस्या छ। यो मुटुका भल्भहरू बिगार्ने रोग हो।
मान्छेलाई टन्सिलाइटिसका रूपमा घाँटी दुख्ने, ज्वरो आउने समस्याबाट सुरू भएर कालान्तरमा यसले मुटुका भल्भहरू बिगार्न सक्छ।
अर्को समस्या भनेको कोरोनरी आर्टरी डिजिज हो। यसले कालान्तरमा गएर हृदयाघात गराउन सक्छ। यो रोग विशेष गरेर वंशाणुगत हुनसक्छ।
खानपिनमा आएको परिवर्तन, बोसोजन्य, चिल्लोजन्य, कार्बोहाइड्रेट बढी भएका खानाहरू खाएमा यस्तो रोगको खतरा धेरै हुन्छ। त्यस्तै गुलिया चिजहरू, भात र आलुको मात्रा बढी खाने भए पनि यस्तो समस्या निम्तिन्छ।
त्यसपछि शरीरको तौल नियन्त्रण नहुनु, शारीरिक व्यायामको कमी, अत्यधिक धूमपान, मद्यपान, रगतमा मधुमेह, कोलस्ट्रोलको मात्रा नियन्त्रण नहुनु पनि मुटु रोग लाग्न सक्ने कारणहरू हुन्।
तनावयुक्त जीवनयापन, सुत्ने र उठ्नेको ठेगान नहुने मान्छेहरूलाई समेत मुटु रोग लाग्न सक्छ।
जन्मजात मुटु रोगका बिरामी पनि हुन्छन्। त्यसमा वंशाणुगत कारण, बच्चा पेटमा आएपछि सन्तुलित भोजन अभाव र धूमपान र मद्यपान गर्ने आमाको कारण जिम्मेवार छ।
मुटु रोग लागेको कसरी थाहा पाउने?
यसको पहिलो लक्षण भनेको बच्चा जन्मिनसाथ निलोपना देखिनु हो। हात, औंलाहरू निलो हुनु, बच्चाको उमेरअनुसार तौल नबढ्नु मुटु रोगका लक्षण हुन सक्छन्। आमाको दूध राम्रोसँग चुस्न नसक्नु वा रूघाखोकी धेरै लाग्ने पनि हुन सक्छ।
त्यस्तै मुटुको भल्भ बिगार्ने रोग लागेकाहरूको मुटु चर्कोगरी ढुकढुक हुन्छ। मुटुको ढुकढुकी बाहिरसम्मै थाहा हुने, थकान महसुस हुने, धेरै कामहरू गर्न नसक्ने, उकालो चढ्दा रोकिइरहनुपर्ने अवस्था आउने, खुट्टाहरू सुन्निने मुटु रोगका लक्षण हुन्छन्।
छातीको बाँयापट्टी दुख्ने, पीडा हुने र त्यो दुखाइ हिँड्दा र शारीरिक गतिविधि गर्दा अझै बढ्ने हुन्छ। रोग हो कि होइन भनेर थाहा पाउन चिकित्सककहाँ जानुपर्छ। इसिजी, इको र रगत परीक्षण गरेर मुटु रोग भए-नभएको थाहा पाउन सकिन्छ।
उपचारः
मुटु रोगको उपचारमा धेरै प्रविधि आइसकेका छन्। यसको रोगको प्रकृतिअनुसार उपचार हुन्छ। सानो बच्चाको जन्मजात समस्याको शल्यक्रियादेखि लिएर ओपन हार्ट सर्जरी तथा पालियटिभ सर्जरीसम्म हुन्छ।मुटुमा प्वाल भएको मान्छेको नचिरिकन तार छिराएर उपचार गर्ने प्रविधि समेत छ। मुटुको प्वाल टाल्ने, भल्भ फेर्ने लगायत उपचार गर्न सकिन्छ।
मुटुका नली ब्लक भए जाली हाल्न सकिन्छ। बेलुनले भल्भहरू खोल्न सकिन्छ भने कृत्रिम नली राखेर नली फेर्न मिल्छ। मुटुको चाल कम भयो भने पेसमेकर राख्न सकिन्छ। विशेष गरेर उमेर बढ्दै जाँदा यसको प्रयोग हुन्छ।
सामान्य औषधिबाट पनि मुटुको धेरै उपचार गर्न सकिन्छ। नेपालमा प्रायः सबै खालका मुटुको उपचार सम्भव छ। मुटुको प्रत्यारोपण लगायतका ९५ प्रतिशत उपचार यहीँ सम्भव छ। मुटु प्रत्यारोपणका लागि कानुनी प्रावधान पूरा हुने चरणमा छ। योजनाअनुसार काम भयो भने अबको दुई-तीन वर्षभित्र मुटु प्रत्यारोपण समेत हुन सक्छ।
मुटु कसरी स्वस्थ राख्नेः
खानामा चिल्लो कम गर्नुपर्छ। तीस वर्षभन्दा माथिका उमेर समूहले भात, आलु, चिनीजन्य खाना कम गर्नुपर्छ। दिनमा कम्तीमा आधा घन्टा मुटु चर्को धड्किने गरी सक्रिय हुनुपर्छ। शरीरमा सुगर, कोलस्ट्रोलको मात्रा बेलैमा पत्ता लगाएर उपचार गर्न सकियो भने धेरै हदसम्म जोगिन सकिन्छ। अनि रक्तचाप नियन्त्रण गर्नुपर्छ।बेलाबेलामा इसिजी गरे पनि धेरै कुरा थाहा पाउन सकिन्छ।
मुटुमा प्वाल पर्ने समस्या महिलाहरूमा बढी हुन्छ। कोरोनरी आर्टरी डिजिज भने पुरुषमा धेरै हुन्छ। कतिपय रोगमा महिला, पुरुष र भौगोलिक क्षेत्रको प्रभाव छ। तर त्योबाहेक समग्रमा खानपिन, व्यायाम, नियमित परीक्षणका कुराहरूले धेरै हदसम्म फरक पार्छ।
पछिल्लो समय कोभिडले गर्दा बिरामीको तथ्यांक एकै ठाउँ जम्मा गर्न सकिएको छैन। पछिल्ला दस वर्षमा मुटुका बिरामी धेरै बढेका छन्। एउटा त मुटुको परीक्षण सर्वसुलभ भएर हो। अर्को हाम्रो जीवनशैली र खानपिनका कारणले हो।
यसमा पनि हृदयाघात हुने खालका मुटु रोगी धेरै बढेका छन्। यो डरलाग्दो अवस्था हो।
कोभिड लागेका मान्छेहरूमा मुटुको चाल गडबढ देखिएको छ। पहिला समस्या नभएका तर कोभिड लागेर सिकिस्त भएकामा मुटुको समस्या देखिएको छ। कोभिड लागेकाले एकपटक मुटु परीक्षण गराएको राम्रो हुन्छ।
(टिचिङ अस्पताल, महाराजगञ्जका सह-प्राध्यापक एवम् वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईसँग सेतोपाटीका सन्जिब बगालेले गरेको कुराकानीमा आधारित)