माकलबारीको सडक किनारमा ठेलागाडामा तरकारी बेच्दै थिए, नानीबाबु तामाङ।
हरेक साँझ–बिहान नानीबाबुका जस्ता दर्जनौं ठेला माकलबारीको सडकमा वारपार गर्छन्। यो भीडमा उनी अलि भिन्न देखिन्छन्।
दर्जनौं ठेलाबीच उनलाई सुरूमै आँखाले टिपिहाल्छ। उनको ठेलामा तरकारी मात्र होइन, दुई छोराछोरी पनि दुई कुनामा बसेका हुन्छन्। छोरी अलि चुलबुले छिन्, नचिनेका मान्छे देख्दा पनि मुस्कुराउँछिन्। छोरा भने हतपत्त बोल्दैनन्।
'आमासँगभन्दा यी केटाकेटी मसँग बढी झ्याम्मिन्छन्। म हिँडेपछि जे दिए पनि फकिँदैनन्। त्यही भएर काममा उनीहरूलाई साथै ल्याउनुपर्छ,' गाडा गुडाउँदै ३५ वर्षीया नानीबाबुले भने, 'एक महिना पनि भएको छैन मैले ठेला किनेर गुडाउन थालेको। त्यही बेलादेखि उनीहरू मेरो पछि लागेका छन्।'
उनी आफ्नो कर्मयात्राको फेहरिस्त सुनाउँदै थिए, त्यही बेला केही ग्राहक तरकारी किन्न आए। हामी अलि परबाट उनलाई नियालिरह्यौं।
दुई स्कुले केटाकेटी ठेला छेउबाटै अगाडि बढे। उनले तिनीहरूलाई हेर्दै भने, 'मेरा छोराछोरी यसरी नै स्कुल गएको हेर्ने रहर छ।'
त्यही रहरले डोर्याएर नानीबाबुलाई सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म ल्याएको हो, उनले भने, 'बच्चाहरूलाई पढाउनुपर्छ, आफूजस्तो बनाउनु हुँदैन भनेर काठमाडौं छिरेको हुँ।'
पहिलोपटक काठमाडौं आउँदा उनी आफैं पढ्ने उमेरका थिए, १६–१७ वर्षका। भाइबहिनी हेर्ने जिम्मेवारीमा फसेकाले ढिलो गरी मात्र स्कुल जाने मौका पाए। त्यसैले काठमाडौं आउँदा उनी जम्मा चार कक्षा पढ्दै थिए।
एउटा घटनाले भने उनको पढ्ने रहर मर्यो।
आफू निम्नवर्गीय परिवारको भएकाले स्कुलको किताब–कापी र लुगा किन्न नानीबाबुलाई हम्मे पर्थ्यो। घरमा पनि भन्दाभन्दा थाकिसकेका थिए। स्कुलका शिक्षकले हरेक दिनजसो उनलाई सोध्थे, 'स्कुल ड्रेस खोइ त नानीबाबु?'
त्यो प्रश्न सुन्दासुन्दा उनी आजित थिए। त्यसमाथि साथीहरूले पनि गिज्याउँथे। सबै जना स्कुलको लुगामा आउँथे, आफ्नो भने नभएपछि उनलाई नराम्रो लाग्थ्यो। एकदिन उनले निर्णय गरे, 'अब म पढ्दिनँ, काठमाडौं जान्छु।'
गाउँ छाडेर काठमाडौं जान्छु भन्दा परिवारका सदस्यले उनलाई सम्झाए, 'पढ्नुपर्छ। नजाऊ।'
उनी आफ्नो निर्णयमा अडिए, 'स्कुल ड्रेस छैन। किताब-कापी पनि किन्न सकिन्न। साथीहरूले खिसी गर्छन्। म स्कुल नजाने, काठमाडौं जाने हो।'
नानीबाबुले काठमाडौंमा खान–लाउन पाइन्छ भन्ने सुनेका थिए। त्यतिखेर उनको गाउँमा खानेकुरा पाउनै गाह्रो थियो। पैसा भए पनि किन्न पाइन्नथ्यो। लुगाफाटा किन्न पनि गाह्रो।
गलैंचा बुनेर भए पनि खान–लाउन पाइन्छ भन्ने सुनेका उनी २०५८ सालतिर साथीहरूसँग काठमाडौं आए। भक्तपुरको गठ्ठाघरमा चिनजानको मान्छेसँग गलैंचा बुन्ने काम सिके।
'तीन महिना सित्तैमा काम गनुपर्यो। साहुले खान मात्र दिन्थे। तीन महिना पुगेपछि एक जोर कपडा दिए,' उनले भने, 'त्यसपछि साढे चार सयमा काम गरेँ। पछि बुट्टा बनाउन जानेपछि पैसा बढ्यो।'
उनले चार–पाँच वर्ष गलैंचामा काम गरे। त्यहीँ उनको प्रेम बस्यो सीतासँग।
उनले भेट्दा सीताको पहिल्यै विवाह भइसकेको थियो, एक छोरी पनि थिइन्। श्रीमान विदेश गएपछि उनलाई वास्ता गरेनन्। 'जोसुकैसँग जा' भनेर छाडिदिए।
त्यसपछि नानीबाबु उनको जीवनमा आए। उनीहरूले विवाह गरे। सीताकी छोरी विनितालाई नानीबाबुले आफ्नै छोरी बनाए।
उनीहरूका पनि दुई छोराछोरी भए, शान्ति र इसाक। शान्ति ६ वर्षकी भइन् भने इसाक साढे दुई वर्षका। विनिता १६ वर्ष भइन्।
विवाहपछिका केही वर्ष यी दम्पतीले गलैंचामै काम गरेका थिए। दुई–तीन महिना दिनको डेढ सय तलबमा नानीबाबुले होटलमा पनि काम गरे। पछि त्यो सबै छाडेर २०६९ सालतिर नानीबाबु मलेसिया गए, सीता लेबनान।
मलेसियाको काम नानीबाबुलाई फापेन। उनी त्यहाँ आलुमिनियम काट्ने काम गर्थे। गएको २१ महिनामै बिरामी भएर घर फर्किए। सीता पनि दुई वर्ष लेबनान बसेर फर्किइन्। दुवैले कमाएको पैसाले उनीहरूले गाउँमा जग्गा किने।
नानीबाबु पछि फेरि कतार उडे, सीता गाउँमै बसिन्।
कतारमा कमाएको पैसाले सीताले घर बनाइन्। ढुंगामाटोले बनेको घर वर्षदिन नपुग्दै भुइँचालोले भत्काइदियो। नानीबाबुले घर कस्तो थियो भन्ने देख्नधरि पाएनन्। पछि भुइँचालोको क्षतिपूर्ति र आफ्नो पैसासमेत थपेर दुई कोठे घर बनाए।
२८ महिना कतार बसेर फर्किएपछि नानीबाबुसँग बचेको जम्मा ५० हजार रूपैयाँ थियो। त्यसले गाउँमै सानो पसल खोले। पसल ठिकठाक चलिरहेको थियो, पछि कुखुरा पाल्ने सोच आयो। ऋण गरेर उनले दुई लाख लगानी गरेर कुखुराको टहरा बनाए।
उनको टहरासम्म जाने बाटो थिएन। चालीस हजार खर्च गरेर बाटो बनाए। तर उनको जिन्दगीले अर्कै बाटो हिँड्न लेखेको रहेछ। कुखुरा बेच्ने बेला ठ्याक्कै कुखुराको भाउ घट्यो। दानाको भाउ भने बढेको बढ्यै। कुखुराको व्यवसाय उनलाई फापेन।
त्यसपछि विरक्तिएर उनी फेरि काम खोज्दै काठमाडौं आए। लकडाउनभन्दा दुई साताअघि उनी काठमाडौं आएका थिए। लकडाउन बेला दस हजार तलबमा उनले पानीको जार बोक्ने काम गरे। पछि आफूले जानेकै सिप गर्छु भनेर कोठामै गलैंचा बुन्न थाले।
त्यसबीच गाउँमै रहेकी उनकी श्रीमतीले बरू आफैं केही काम गर्न सल्लाह दिइरहिन्। कुनै समय ठेलामा फलफूल बेचेकी सीताले आइडिया पनि दिइन्, 'ठेलामा तरकारी बेच्नुस्।'
माकलबारीमा यसै पनि ठेला गुडाउने धेरै व्यापारी छन्। त्यसैले सुरूमा उनले आनाकानी गरे। कति समयसम्म त ठेला नकिन्ने नै भनेर बसिरहे।
श्रीमतीले भने सम्झाइरहिन्, 'ठेला धेरै भयो भन्दैमा नगर्ने भन्ने हुन्छ? यो त आ–आफ्नो भाग्यको कुरा हो। कहिले हुन्छ, कहिले हुँदैन।'
श्रीमतीको कुराले उनलाई ठेला किन्न करै लाग्यो। दस हजार रूपैयाँमा किने र अहिले त्यसैमा तरकारी बेचिरहेका छन्। सुरूसुरूमा त नानीबाबुलाई तरकारी बेच्ने ज्ञान थिएन। मान्छेले 'एक ढक' तरकारीभन्दा उनी अलमलमा पर्थे।
'ढक भनेको के हो?' त्यसो भन्दा मान्छेहरू गलल हाँस्थे।
बिस्तारै उनले पाँच किलोलाई एक ढक भन्दो रहेछ भन्ने बुझे। पहिला आलु–प्याज मात्र बेच्ने उनी, अहिले सबै तरकारी मिसाएर बेच्न थालेका छन्।
उनी बिहान पाँचै बजे तरकारी किन्न साथीहरूसँग कहिले कालिमाटी पुग्छन्, कहिले नारायणटार। तरकारी किनेर फर्किँदा बच्चाहरू उठिसकेका हुन्छन्। अनि उनलाई सँगै लैजान कर गर्छन्। बच्चाहरू लिएर जाँदा उनकी श्रीमतीलाई पनि सजिलो हुने उनी बताउँछन्।
तीन साताअघि मात्र हो सीता बच्चाबच्ची लिएर काठमाडौं आएकी। त्यसयता यी दम्पतीले माकलबारीमै होटल पनि किने।
'अनिश एन्ड अनिशा खाजाघर' लेखिएको पुरानो पसलेको बोर्ड उनको पसलबाट अझै उत्रिएको छैन।
उनीहरूले लघुवित्तीय संस्थाबाट दुई लाख रूपैयाँ ऋण लिएका छन्। यत्तिकै बस्नुभन्दा केही गर्नुपर्यो भनेर ५० हजारमा होटल किनेका हुन्। तर होटल भनेजस्तो चलिरहेको छैन।
'यो होटल चल्ने ठाउँ रहेनछ। त्यही पनि अलिअलि कमाइ हुन्छ कि भनेर गरेको,' नानीबाबुले भने, 'भएन भने पनि ठिकै छ। आफ्नो हातमा सिप छँदैछ, गलैंचा बुन्छु भन्ने विचार छ।'
विभिन्न काममा जोडिँदै गए पनि नानीबाबु र सीताले अझै गलैंचा बुन्ने काम छाडेका छैनन्। आफ्नो होटलभन्दा केही परको कोठामा गलैंचा बुन्ने सामान थुपारेका छन्।
नानीबाबु बिहानको तरकारी बेचेर आएपछि होटल जान्छन्। त्यहीँ सबै जना खाना खान्छन्। त्यसपछि उनी पसल हेर्छन्, सीता घर जान्छिन्। अलिकति गलैंचा बुनेर आउँछिन्। नानीबाबु पनि फुर्सद हुँदा बुन्छन्।
यसरी मिलेको समयमा मात्र बुन्ने भएकाले एउटा गलैंचा सक्न महिना बढी लाग्छ। बौद्धमा गलैंचा बेच्दा उनीहरूले एक जोडीको बीस हजार पाउँछन्।
साँझतिर नानीबाबु फेरि ठेला लिएर तरकारी बेच्न जान्छन्। बेलुकी आठ बजेतिर फर्कन्छन्। साँझ–बिहान गरेर उनले दिनको तीन–चार हजारको तरकारी बेच्छन्। प्रतिस्पर्धा धेरै भएकाले भाउ सकेसम्म मिलाएर दिनुपर्ने उनी बताउँछन्।
तरकारी बेच्न थालेको र होटल गर्न थालेको भर्खर एक महिना पनि नभएकाले उनी यसबाट सफल भइन्छ कि भइँदैन भन्न सक्दैनन्। नभए गलैंचा त छँदैछ।
आफ्नो थाप्लोमा ऋण भए पनि उनी आत्तिएका छैनन्। बरू राम्रो दिन आउँछ भन्ने आशले काम गर्ने ऊर्जा दिन्छ।
काठमाडौं बस्दा उनलाई धेरैपटक गाउँको सम्झना आउँछ। त्यहाँ आफूले गरेको काम सम्झिन्छन्। दुःख गरेर बनाएको सडक सम्झिन्छन्। टहरा सम्झिन्छन्। भूकम्पपछि बनाएको घर सम्झिन्छन्। आफ्नो खेतबारी सम्झिन्छन्।
गाउँका आफन्त, छिमेकीहरूले भनेको सम्झिन्छन्, 'यसले यति दुःख गर्यो तर जे गर्दा पनि सफल भएन।'
यो कुरा सम्झिँदा उनको मन बिथोलिन्छ। यी सबै दु:ख आफ्ना छोराछोरीको भविष्यका लागि गरेको भन्दै उनी चित्त बुझाउँछन्। अहिलेलाई उनको सपना भन्नु नै छोराछोरी पढाउनु हो।
छोराछोरीलाई काठमाडौं ल्याएर पढाउनेभन्दा उनका आमाबुवाले भनेका थिए, 'यहाँ यति राम्ररी खेती-किसानी, घरजम गरेको मान्छे फेरि किन काठमाडौं जानुपर्यो?'
'म बच्चाका लागि भए पनि जाने हो,' उनले अडान लिएका थिए।
'सबैको बच्चा यही गाउँमा पढ्छन्, तिमीहरूको हुँदैन?'
'त्यसो भए हाम्रो भाइ सात पढ्दापढ्दै छाडेर काठमाडौं होटलमा काम गर्न किन गएको?' नानीबाबुले यसो भनेपछि उनीहरू चुप लागे।
उनका अनुसार गाउँका केटाकेटी ६-७ कक्षापछि पढ्न जान मान्दैनन्। आफूले पढ्ने समयमा एक डोको घाँस काटेर स्कुल जाँदा धेरैपटक ढिला पुगेको उनलाई सम्झना छ। अहिलेका बच्चालाई घरको काम त्यति गर्नुपर्दैन। खाजा पनि टन्नै खान पाउँछन्। तर उनीहरू किन धेरै पढ्दैनन् भन्ने उनले बुझ्न सकेका छैनन्।
आफ्ना छोराछोरी पनि त्यस्तै होलान् भन्ने चिन्ताले उनले काठमाडौं ल्याएका हुन्। सोचेका छन्, 'यहाँ सरकारी स्कुलै भए पनि राम्रो पढाइ हुन्छ।'
चाडपर्व नजिकिएको समयमा पैसा मात्र किन तिर्नु भनेर उनले अहिले नै स्कुल भर्ना गराएका छैनन्। दसैं–तिहार सकिनेबित्तिकै पठाउने उनको योजना छ।
ठूली छोरी विनितालाई कक्षा ८ मा भर्ना गराउन नजिकैको सरकारी स्कुलमा बुझ्न गएका थिए। फर्किँदा कापी र कापी ओछ्याउने बोर्ड ल्याइदिए। अर्की छोरी शान्तिले गाउँमै शिशुकक्षा पढेकी हुन्। कखग र एबिसिडी लगायत नेपाली–अंग्रेजी अक्षरमाला लेख्न जानेकी छन्। चाडपर्वपछि शान्ति र छोरा इशाक दुवैलाई नर्सरीमा हाल्ने सोचेका छन् नानीबाबुले।
'दिदीलाई त पछि कक्षा बढाउनुपर्छ होला। नत्र एउटै कक्षामा राम्रो हुँदैन होला नि,' उनले भने।
अनि फेरि दोहोर्याएर भने, 'के गर्नु हामीले त पढ्न पाएनौं। बच्चाहरूलाई भने दुःख गरेर भए पनि पढाउनुपर्छ।'
सबै तस्बिरहरूः नवीनबाबु गुरुङ/सेतोपाटी