इटालीका 'रबिन्सन क्रुसो' मानिने माउरो मोरान्डीले आफू एक्लै बस्दै आइरहेको टापू छाडेका छन्। ८२ वर्षीय मोरान्डीले इटाली, उत्तरी सार्डिनियाको सुन्दर बुडेली टापूमा आफ्नो जीवनको तीन दशकभन्दा बढी समय एक्लै बिताएका थिए।
मोरान्डी सन् १९८९ मा बुडेली टापू पुगेका थिए। त्योबेला देखि उनी त्यही बसे। मोरान्डीलाई त्यहाँ बस्न निकै सहज र आनन्द थियो।
तर सन् २०१५ देखि बुडेली टापू सरकारी स्वामित्वको ला माडालेना राष्ट्रिय निकुञ्जअन्तर्गत पर्यो। त्यस बेलादेखि भने मोरान्डीलाई टापूमा बस्न नदिने कुरा उठ्यो। उनी यसविरूद्ध सरकार र स्थानीय अधिकारीहरूसँग लडे पनि। तर स्थानीय अधिकारीहरूले उनलाई निकाल्ने भन्दै बारम्बार धम्की दिए। अन्ततः मोरान्डीले बुडेली टापू छाडेका हुन्।
टापू छाड्दै गर्दा उनले सामाजिक सञ्जालमा लेखेका छन्- मैले हारेँ।
यतिका वर्ष एउटै टापूमा एक्लै बसिरहेका मोरान्डीलाई नयाँ ठाउँ र मान्छेका बीचमा जीवन बिताउन गाह्रो हुन सक्छ।
यही प्रश्न उनलाई गर्दा निराश हुँदै भने, 'सकिन्छ। नयाँ जीवन सम्भव छ। हामीले जहिले पनि नयाँ सुरूआत गर्न सक्छौं। ८० वर्षको उमेरमा पनि। किनकी नयाँ संसारका थुप्रै नयाँ कुराहरू अनुभव गर्न बाँकी नै हुन्छ।'
उनले भनेजस्तै अहिले उनी बुडेलीभन्दा केही परको ला माडालेना टापूमा बस्न थालेका छन्। तर यहाँ उनी एक्ला छैनन्। उनी मान्छेका बस्तीकै बीच नयाँ अपार्टमेन्ट किनेर बसेका हुन्।
'म खुसी छु। मैले राम्रो, सहज र आरामदायी जीवनको मजा लिइरहेको छु,' मोरान्डीले भनेका छन्।
मोरान्डी पहिले शिक्षक थिए। त्यही कामको पेन्सनबाट उनले आरामदायी अपार्टमेन्ट किनेका हुन्। यतिका वर्ष एक्लै बिताएका उनी अचेल मान्छेहरूसँग गफ्फिन रूचाउँछन्। आफ्ना विचारहरू व्यक्त गर्छन्। सामाजिक सञ्जालमा फोटाहरू हालिरहन्छन्। पढ्छन्। विभिन्न नयाँ परिकार चाख्छन्। अनि आफ्नो संस्मरण पनि लेख्दै छन्।
'मे धेरै वर्ष एक्लै बसेँ। बुडेली पुगेको कयौं वर्षसम्म मलाई कसैसँग कुरा गर्न पनि मन लागेन,' उनी भन्छन्, 'यो सही हो कि म अब टापूको एकान्तवासको मजा लिन पाउँदिनँ। मेरो जीवनले नयाँ मोड लिइसक्यो। त्यसैले म अब मान्छेहरूका बीचमा जिउने कला सिक्दैछु।'
उनलाई छिमेकी र आसपासका मान्छेले राम्ररी चिन्छन्। कतैबाट हिँड्दै आउँदैछन् भने गाडीमा लिफ्ट दिन्छन्। खाना वा कफीको निम्तो दिन्छन्। यो सबैले आफूलाई एकदमै खुसी बनाएको उनले बताए।
'मान्छेहरू यति फरासिला हुन्छन् भनेर म छक्कै परेँ। पहिले त मलाई मान्छेले अपनाउँदैनन् कि भन्ने डर थियो। तर म खुसी छु किनकी मान्छेहरू मलाई बोलाउँछन्। बधाइ दिन्छन्। फोटा खिच्न आउँछन्,' उनले भने।
मोरान्डीको घुम्दै, अन्वेषण गर्दै हिँड्ने सोख थियो। उनी ३२ वर्षअघि इटालीदेखि पोलिनेसियाको यात्रा क्रममा गल्तीले बुडेली टापू पुगेका थिए।
त्यहाँको कञ्चन पानी, चम्किला बालुवाका कण र सुन्तले रङमा सजिएर अस्ताइरहेको घामले एकैक्षणमा मोरान्डीलाई मोहनी लगाए। उनको मुटु चोरे। टापूको सुन्दरतामा मोहित मोरान्डी त्यहाँबाट फुत्कन चाहेनन्। जनम-जनमकी प्रेमिका भेटिएझैं उनले टापूको अंकमालमा आफूलाई समाहित गरिदिए।
मायालुका गुण-दुर्गुण, जिम्मेवारी सबै अपनाउनुपर्छ भनेझैं मोरान्डीले पनि आफूलाई टापूको संरक्षक माने। आफैं पद ग्रहण गरे। उनको यो ताज बाहिरी संसारले पनि स्विकारेको थियो। त्यसैले मोरान्डीलाई इटालीका 'रबिन्सन क्रुसो' भनिन्छ।
मोरान्डीले टापूमा एउटा सानो कुटी बनाएका थिए। उनले त्यही सानो कुटीबाट संसारमा फैलिएको कोरोना त्रास नियाले। उनलाई कोरोनाको डर थिएन। लकडाउन र प्रतिबन्धका कारण टापूमा पर्यटक पनि निषेधित थिए।
सिंगो टापूलाई घर बनाएका मोरान्डीले गत वर्ष सिएनएनसँग कुरा गर्दै आफू टापूमा बस्न जे पनि गर्ने बताएका थिए। भनेका थिए, 'उनीहरूले मलाई यहाँबाट हटाउन घिसार्नुपर्ने स्थिति आए पनि म यो टापू छाड्दिनँ। म यहाँ बस्न जे गर्न पनि तयार छु।'
टापूबाट निस्किहाले कहाँ जाने भन्ने निधो पनि थिएन।
'मलाई थाहा छैन म कहाँ जानेछु। तर मलाई घर फर्केर जान मन छैन। म जीवनमा के गर्छु भन्ने नै थाहा छैन,' उनले भनेका थिए।
मोरान्डीलाई बुडेलीमा बस्न अनुमति माग गर्दै अनलाइन अभियान पनि चल्यो। जसअन्तर्गत ७० हजारभन्दा बढीले आवेदन हस्ताक्षर गरे। तर त्यसले काम गरेन। अन्ततः मोरान्डीले आफू त्यो ठाउँबाट जानुपर्ने कुरालाई स्विकारे।
मोरान्डीलाई जानुपर्ने चिन्ताभन्दा बढी टापूको भविष्यको चिन्ता थियो।
'म यहाँको बालुवाका फोहोर सफा गर्थेँ। र अनधिकृत रूपमा यहाँ आउनेहरूलाई रोक्थेँ,' उनले भनेका थिए, 'सत्य कुरा के हो भने म मात्रै हुँ जसले बुडेली टापूको राम्रो हेरचाह गर्छ। जुन काम पार्कका अधिकारीहरूले गर्नुपर्ने हो।'
गत वर्ष जनवरी २०२० मा ला माडालेना पार्कका अध्यक्ष फ्याब्रिजिओ फोन्नेसुले मोरान्डी बुडेली टापूमा गैरकानुनी तरिकाले बसिरहेको बताएका थिए।
'कोही पनि उनलाई त्यहाँबाट भगाउन चाहँदैनन्। तर टापू निजी भइसकेपछि उनी त्यहाँ कुन आधारमा बस्ने?,' अध्यक्ष फ्याब्रिजिओले भनेका थिए।
तर मोरान्डीका लागि यो कुनै टापू मात्र थिएन। उनको जीवनको धेरै वर्ष बितेको ठाउँ हो यो।
तीन दशकभन्दा बढी उनी हरेक रात पुरानो ढुंगाको कुटीमा सुते। हरेक बिहान हरियाली प्रकृतिका काखमा बिउँझिए। बिहान ब्रेकफास्ट खाँदै गर्दा चराचुरुंगीले चिरबिर गर्दै उनलाई शुभबिहानी भने। झ्यालमा बसेका रंगीबिरंगी ती चरासँग एकछिन गफिए।
यसरी एक्लै अनकन्टार ठाउँमा बसे पनि मोरान्डीलाई बाँकी संसारको खबर थियो। इन्टरनेट र सामाजिक सञ्जालमा सक्रिय छन् उनी। कोरोना फैलिँदा उनले आफूलाई 'पृथ्वीकै सुरक्षित स्थान' मा भएको महशुस गरेको बताएका थिए।
कोरोनाका कारण मोरान्डीलाई केही सकस भने भएको थियो। जाडो याममा पर्यटक यो टापू आउँथे। वर्षौंदेखि मोरान्डी त्यहाँ पुग्ने पर्यटकसँग दिउँसो घुमघाममा जान्थे। उनीहरूसँग मित्रता गाँस्थे। कहिलेकाहीँ आफ्नो खाना पनि बाँड्थे।
एक्लो बसाइमा मोरान्डीले निकै पढेको पनि सुनाएका थिए, 'म धेरै पढ्छु। धेरै सोच्छु। तर मलाई लाग्छ मान्छे पढ्न डराउँछन्। किनकि पढेपछि उनीहरू ध्यान गर्न थाल्छन्। नानाथरी सोच्न थाल्छन्। यो निकै खतरनाक हुन सक्छ।'
मोरान्डी यो टापूमा समेटिनुअघि हरेक वर्ष यात्रामा निस्कन्थे। उनी युरोपका एक्ला टापू पुग्थे। घुमन्ते अन्वेषकबाट यो टापूको एक्लो स्थायी बासिन्दासम्मको आफ्नो रूपान्तरणबारे उनी सुनाउँछन्।
'मलाई यहाँ आइसकेपछि अब कुनै यात्रा गरूँजस्तो लागेन। कुनै उत्सुकता, कुनै चासो रहेन,' उनले भनेका थिए, 'सबभन्दा सुन्दर, खतरनाक, साहसिक र उत्कृष्ट यात्रा आफूभित्रकै यात्रा हो भन्ने मैले बुझेँ। चाहे त्यो यात्रा बैठक कोठामा बसेर होस् या यहाँ। यही नबुझेकाले धेरैलाई केही नगरी घर बस्न गाह्रो भएको हुनसक्छ। तर म कहिल्यै एक्लो महशुस गर्दिनँ।'
मोरान्डीको झन्डै आधा जीवन बितेको यो टापूको स्वामित्व पछिल्ला केही वर्षमा धेरैपटक फेरियो। सन् २०१६ मा सरकारी स्वामित्वको राष्ट्रिय निकुञ्ज भएयता नै उनलाई यहाँ बस्न नदिने कुरा उठेको थियो।
कोरोनाका कारण सरकारले पोहोर मोरान्डीको बसाइबारे तत्कालै केही निर्णय गरेको थिएन। तर यसपालि भने मोरान्डीले टापू छाड्नुपर्यो।
यदि उनलाई अधिकारीहरूले फेरि फर्किन दिए जालान् त?
यसमा उनी भन्छन्, 'अहिले त म त्यो इच्छा राख्दिनँ। तर बुडेलीको हेरचाहकर्ताका रूपमा मलाई बेलाबेलामा जाने र यसनिम्ति पारिश्रमिक पनि दिने भए मात्र जान्छु। सित्तैमा भने अब काम गर्दिनँ।'