पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न समन्वय समिति गठन गर्न पोखराका व्यवसायीले प्रस्ताव गरेका छन्।
विमानस्थलमा अहिले देखिएका समस्या समाधान गर्न र सञ्चालनका आवश्यक तयारी गर्न यस्तो प्रस्ताव गरेको पश्चिमाञ्चल होटल संघ (हान)का अध्यक्ष विकल तुलाचनले बताए।
‘विमानस्थलमा देखिएको समस्या समाधान गर्न र सञ्चालनको तयारी गर्न एउटा समन्वय गर्ने संरचना आवश्यक देखियो,’ तुलाचनले भने, ‘हामी व्यवसायीको क्षेत्रबाट आवश्यक सहयोग गर्न तयार छौं।’
विमानस्थल सञ्चालन गर्न गठित कार्यदलले आगामी जनवरी १ देखि आन्तरिक र वैशाखदेखि अन्तर्राष्ट्रिय उडान थाल्ने महत्वाकांक्षी योजना बनाएको छ।
विमानस्थल सञ्चालनमा ढिलाइ गर्न नहुने भन्दै व्यवसायीले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष समन्वय समितिको प्रस्ताव गरेका हुन्।
मुख्यमन्त्री पोखरेलकै संयोजकत्वमा विमानस्थल सञ्चालन समन्वय समिति गठन गरेर विमानस्थलमा देखिएका बाढीको व्यवस्थापन, रिठ्ठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनको काम अघि बढाउनुपर्ने व्यवसायीको प्रस्ताव छ।
विमानस्थल सञ्चालन गर्न व्यवसायीले गरेको प्रस्ताव सकारात्मक भएको भन्दै मुख्यमन्त्री पोखरेलले समन्वय समिति बनाउन आफू तयार रहेको बताएका छन्।
अहिले देखिएका समस्या समाधान गर्न संघ, प्रदेश र पोखरा महानगरको कार्यक्षेत्रभित्र रहेको भन्दै पोखरेलले तीनै तहका सरकारसँग समन्वय गर्न समिति आवश्यक रहेको बताए।
‘विमानस्थलमा देखिएको पानी व्यवस्थापन गर्न आवश्यक बजेटका लागि संघ र प्रदेश मिलेर जानुपर्छ, फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल साइटको व्यवस्था पोखरा महानगरले गर्नुपर्ने देखिन्छ,’ पोखरेलले भने, ‘विमानस्थल सञ्चालन गर्न पनि सहजीकरण समिति आवश्यक देखियो।’
यसअघि विमानस्थल निर्माण गर्नका लागि पनि तत्कालीन एमाले सांसद रवीन्द्र अधिकारीको संयोजकत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समिति गठन भएको थियो।
सोही समितिले विमानस्थल बनाउन आन्दोलन गर्नेदेखि सरकारका विभिन्न निकायलाई घच्घच्याउने काम गरेको थियो।
विमानस्थल निर्माणको काम अघि बढेपछि त्यतिबेला गठित सरोकार समिति विघटन भएको थियो।
विमानस्थल बनाउन पोखरा उद्योग वाणिज्य संघदेखि विभिन्न पर्यटन तथा व्यवसायिक संस्थाले आन्दोलन गरेका थिए। त्यतिबेला पनि व्यवसायीकै प्रस्तावमा सरोकार समिति गठन भएको थियो।
तीन तहका सरकारबीच समन्वय नभए निर्माण सकिनै लागेको विमानस्थल चलाउन थप जटिलता आउने देखिएकाले समन्वय समिति बनाउन आवश्यक देखिएको हान पश्चिमाञ्चल अध्यक्ष तुलाचनले बताए।
व्यवसायीले विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न अहिलेदेखि नै पहल थाल्न पनि सरकारलाई सुझाव दिएको छ। पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे नेपालमा संचालित स्वदेशी र विदेशी हवाई सेवा कम्पनीका कन्ट्री म्यानेजमेन्ट तथा संचालकलाई पोखरा बोलाउन आग्रह गरे।
‘पोखरामा पर्यटन प्रवर्द्धन गर्न राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूलाई पदयात्रा गराएजस्तै नेपाली र विदेशी एयरलाइन्सका प्रमुखहरूलाई पोखरा बोलाएर पोखराबाटै अन्तर्राष्ट्रिय हवाई सेवा दिन आग्रह गर्नुपर्छ,’ पालिखेले भने।
मुख्यमन्त्री पोखरेलले व्यवसायीको उक्त प्रस्ताव पनि स्वीकार गरेका छन्।
नेपालमा अहिले सञ्चालनमा रहेका नेपाली र विदेशी एयरलाइन्सका प्रमुख लगायतलाई पोखरामा भेला गर्न आफू तयार रहेको उनले बताए।
'नेपालमा अहिले चलेका र सम्भव भएसम्म नचलेका एयरलाइन्सलाई पनि पोखरा बोलाऊँ, पोखराबाट उडान भर्न आग्रह गरौं', मुख्यमन्त्री पोखरेलले भने, 'यसको तयारीका लागि हामी फेरी बसेर योजना बनाऔं।'
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष सुशील पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए। ‘आन्तरिक उडान त अहिले पनि छ नि, अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्छ,’ उनले भने, ‘पोखराको सिधै अन्तर्राष्ट्रिय सम्बन्ध हामीले खोजेका हौं।’
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीले विमानस्थलदेखि बाहिर निस्किँदा पृथ्वी राजमार्गको हालत खराब रहेको बताए। विमानस्थलदेखि अन्यत्र जाने बाटो र अन्य पूर्वाधार सुधार्न पनि उनले जोड दिए।
यस्तै, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष सञ्जयकान्त सिग्देलले विमानस्थल सञ्चालनमा आउनुअघि नै ‘एयर रुट’ पहिल्याउन जोड दिए।
‘हवाइजहाज कहाँबाट भित्रने र कहाँबाट बाहिरिने टुंगो लगाउनुपर्छ,’ उनले भने, ‘हवाई भाडा सस्तो बनाउने गरी एयर रुट खोज्नुपर्छ।’
विमानस्थल सञ्चालन गर्न गठित कार्यदलका संयोजक एवं पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल सञ्चालन तयारीका बारेमा जानकारी गराएका थिए।
उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान थालेर त्यहीँबाट अन्तर्राष्ट्रिय उडानको तयारी गर्नुपर्ने बताएका थिए।
विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाका प्रगतिका बारेमा व्यवसायीलाई जानकारी गराएका थिए।
उनका अनुसार अहिले विमानस्थलको काम ८४ प्रतिशत सकिएको छ भने ठेकेदार कम्पनीले ६९ प्रतिशत भुक्तानी पाइसकेको छ।
बाँकी रहेका काममा मुख्यगरी विमानस्थलमा आवश्यक उपकरण जडान रहेको मुनकर्मीले जानकारी गराए।
सम्बन्धित समाचार:
पुस १७ बाट पोखराको नयाँ एयरपोर्ट सञ्चालनको तयारी (भिडिओ)
सञ्चालन तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाढी र पहिरोको समस्या, समाधान गर्न छैन बजेट (भिडिओ)