भरतपुर महानगरपालिका-१० का प्रकाश कार्की काठमाडौंमा कन्स्ट्रक्सन कम्पनी चलाउँछन्।
काठमाडौं-३२ कोटेश्वरमा उनको त्रिनेत्र साकार कन्स्ट्रक्सन कम्पनी छ। उनको कम्पनी रौतहटमा रेलको ट्रयाक बेड (स्टेसन) निर्माणको सब-कन्ट्रयाक्टर हो।
दोलखा घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्दै आएका विदुर शर्मासँग उनको ‘लेनदेन’ थियो। शर्माको पनि ठिमी नगरपालिका-३ गठ्ठाघरमा प्रदेश निर्माण सेवा छ।
कार्कीले शर्मासँग पटक-पटक गरेर २०७७ सालमा चार करोड ८३ लाख रुपैयाँ चलाएका थिए। शर्माले कार्कीलाई त्यसको साँवा-ब्याज गरेर १२ करोड ४६ लाख ८५ हजार रुपैयाँ तिराइसकेका छन्।
रुपन्देहीको दुई करोड पर्ने जग्गासमेत शर्माले लिइसकेका छन्।
शर्मा यतिमा चित्त बुझाउँदैनन्। उनले थप १३ करोड ६५ लाख रुपैयाँ मागिरहेका छन्। यो रकमका लागि गरिमा विकास बैंक र नेपाल बैंकको दुई वटा चेकमा सही गराएका छन्। यी दुई वटा चेक लिँदा उनले जबरजस्ती बल प्रयोग र धाकधम्कीको सहारा लिएको पीडित पक्षको दाबी छ।
‘बल प्रयोग गरी तीनकुनेमा लगी धम्की दिएर चेकमा हस्ताक्षर गराइएको छ,’ जाहेरी लिएर महानगरीय प्रहरी परिसर पुगेका प्रकाशका भाइ रवीन्द्र कार्की भन्छन्, ‘काठमाडौंदेखि रूपन्देहीसम्म पुर्याएर दाइको सासु मोहरा क्षेत्रीको नामको जग्गासमेत पास गराएर उहाँले आपराधिक लाभ लिनुभएको छ, मैले यही शीर्षकमा जाहेरी दिएको हुँ।’
परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार असोज १७ गते कार्कीले जाहेरी दिएपछि शर्माको खोजीमा प्रहरी लागेको छ। शर्मा भने अहिले मेडिसिटी अस्पतालमा उपचारमा छन्।
‘अस्पतालमा उपचार सकिएपछि हामी दुबै पक्षलाई राख्छौं, कसुर पुष्टि हुने आधार देखिए कानुनी कारबाही सुरू गर्छौं,’ सिंहले भने।
कारोबारको तनावले प्रकाश नियमित काम गर्न सक्ने अवस्थामा छैनन्। काठमाडौं मेडिकल कलेज र भरतपुर अस्पताल पुर्याउँदा डाक्टरले उनलाई ‘डिप्रेसन’ भएको बताएका छन्।
‘विभिन्न किसमका धम्की दिएर त्रासमा पारी बेइमानीपूर्वक आपराधिक तरिकाले असुल गराउन खोजेपछि दाइको अवस्था बिग्रँदै गएको मैले थाहा पाएँ, सोधीखोजी गर्दा उहाँले परिबन्धमा पारिएको भनेपछि प्रहरीमा गएको हुँ,’ रवीन्द्रले भने।
रवीन्द्रका अनुसार प्रकाशले ५३ लाख रुपैयाँ शर्माको हातैमा दिएका छन्। बाँकी ३ करोड ८८ लाख २०७७ माघ २ गते, २०७७ चैत ३१ गते ३ करोड ८३ लाख चार हजार ५ सय, त्यही दिन १ करोड ९३ लाख ६९ हजार, २ करोड २८ लाख २६ हजार ५ सय गरी १२ करोड ४६ लाख ७५ हजार रुपैयाँ दिइसकेका छन्।
‘यति पैसा दिँदा पनि नभएर रुपन्देहीसम्म पुर्याएर सासु आमाको नाममा रहेको देवदह नगरपालिका-७ को चार कठ्ठा जमिन समेत पास गर्न लगाएर लिनुभयो,’ रवीन्द्रको जाहेरीमा भनिएको छ, ‘त्यतिले पनि नपुग्ने भन्दै दुई वटा बैंकका चेकमा १३ करोड ६५ लाख उल्लेख गराएर लैजानुभएको छ।’
कार्कीका अनुसार शर्माले हिसाब मिटरब्याजमा जोडेका छन्। उनले एक करोडको एक दिनको ब्याज १ लाख रुपैयाँ असुल्ने गरेका छन्।
‘मान्छे हेरी हेरी उहाँले घटी-बढी ब्याज जोड्नु हुँदो रहेछ,’ कार्कीले भने।
कार्कीले प्रहरीमा बैंक स्टेटमेन्ट, जग्गा पास गराएको कागजहरू बुझाएका छन्। प्रमाणका लागि शर्माले लगेको चेकबुक झिकाउन, अनुसन्धानका लागि कुमारी मोहरा क्षेत्रीसमेतलाई झिकाउन कार्कीले प्रहरीसँग अनुरोध गरेका छन्।
उनले जबरजस्ती पास गराएको कागजात र लगिएको चेकबुक फिर्ता गराइदिन पनि माग गरेका छन्।
मिटरब्याज कारोबार गर्ने व्यक्तिले चेकमा अग्रिम सही गराएर रकम असुलीका लागि दबाब दिने गरेका छन्। नमाने त्यही चेक बाउन्स गराएर प्रहरीबाट पीडितलाई नै पक्राउने गरेका छन्।
केही समयअघि दोलखाकै गणेश उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्युरोले मिटरब्याजमार्फत् आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरेको थियो। उनी काठमाडौं जिल्ला अदालतमा १५ लाख र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १६ लाख धरौटी राखेर छुटेका छन्।
विभागले उनीमाथि छानविन गरिरहेको छ। त्यही शैलीमा शर्माले पनि असुल गराउन खोजेको देखिएको परिसरले जनाएको छ।
‘मान्छे झिकाएर अनुसन्धान गरेपछि मात्रै यसको कानुनी प्रक्रिया अघि बढ्छ,’ एसएसपी सिंहले भने, ‘जाहेरी दर्ता भइसकेको छ, जाहेरीमा उल्लेख भएका तथ्यहरू केलाइरहेका छौं।’
शर्मा निर्माण व्यवसायसँगै राजनीतिमा पनि छन्। उनी एमालेनिकट मानिन्छन्।
‘दाइ अहिले बालाजुमा आफन्तको घरमा आराम गरिरहनु भएको छ, उहाँको अवस्था ठिक छैन,’ रवीन्द्रले भने।
रवीन्द्रका अनुसार शर्माले प्रकाशविरूद्ध भने चेक बाउन्सको मुद्दा हालेका छन्।
‘तिर्नै नपर्ने पैसाको चेक कटाएर उहाँले चेक बाउन्सको मुद्दा दिनुभएको छ,’ रवीन्द्रले भने, ‘नदिए जेलमा सडाइदिन्छु, बालबच्चा मारिदिन्छु भन्नुभएको छ।’
अस्पतालमा रहेका शर्माले प्रकाश कार्कीसँग आफ्नो कारोबार रहेको बताए। यसका लागि आफूले पनि प्रहरीमा जाहेरी दिएको बताए।
‘उहाँको पैसा लिने र नतिर्ने बानी छ, मैले केही पनि नराम्रो तरिका अपनाएर काम गरेको होइन, उहाँले मलाई बदनाम गरी हिँड्नुभएको छ,’ शर्माले भने।
सुरूमा आपसी सहमतिमा लेनदेन हुने तर ब्याजमा कुरा नमिलेपछि भने व्यक्तिहरू प्रहरीमा पुग्ने गरेका छन्। यी दुबै प्रकरणमा प्रहरीले अनुसन्धान गर्ने सिंहले बताए।