काठमाडौं-७ गणेशथान मन्दिरको पछाडिपट्टी बुलबुलेमा एउटा निर्माणाधीन साततले घर छ। त्यो घर गौतम अग्रवालको हो।
प्रहरीका अनुसार घर फिनिसिङको काम (टाइल बिछ्याने)लगायत काम भइरहेको छ।
काठमाडौं-७ स्थित धोबीखोला करिडोरमा घर भएका नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक निर्देशक ७४ वर्षीय रामाज्ञाप्रसाद चतुर्वेदी बिहीबार बिहान ७:१० बजे त्यही घर अगाडि मृत अवस्थामा भेटिएका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भुइँमा माथिबाट मानिस खसेपछि अगाडिका पसलेले १०० मा फोन गरेका थिए।
यसपछि गौशाला वृत्तको टोली त्यहाँ पुगेको थियो। प्रहरी पुगेर चतुर्वेदीको मृत्युबारे प्रारम्भिक अनुसन्धान र शवको मुचुल्का उठाउन थालेको थियो।
परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उनी चौथो तलाबाट खसेका हुनसक्छन्।
चौथो तलाको झ्यालमा मोबाइल भेटिएका कारण उनी त्यही तलाबाट खसे भन्ने अनुमान हो।
‘हाम्फाल्ने क्रममा मोबाइल छोडेको हुनसक्छ,’ बस्नेतले भने, ‘प्रारम्भिक अनुसन्धानमा पनि उहाँले हाम्फालेकै देखिन्छ।’
बस्नेतका अनुसार जुन पसल अगाडिको निर्माणाधीन घरबाट चतुर्वेदी खसेका थिए, त्यो पसलको बाहिरपट्टी राखिएको सिसिटिभी फुटेजको आधारमा चतुर्वेदी हाम्फालेको देखिएको हो।
सिसिटिभी फुटेजअनुसार बिहान ६:४० मा चतुर्वेदी घरमा छिरेका थिए। उनको अघिपछि कोही थिएनन्। फटाफट आएर उनी एक्लै निर्माणाधीन घरभित्र छिरेको देखिन्छ।
जब ७:१० बजे उनी घरबाट खस्छन् त्यसपछि मात्रै वरिपरिका मानिसले केही बजारिएको सुनेर बाहिर निस्किँदा पाउँछन्।
‘सिसिटिभी फुटेजमा पहिलो तलाबाट छिरेको, केहीबेरमा एकैचोटि भुइँमा बजारिएको मात्रै देखिन्छ,’ बस्नेतले भने, ‘पसलेले नै सिसिटिभी राखेका हुन्, त्यो सिसिटिभीले भुइँ तलाको मात्रै भिडिओ रेकर्ड गर्न सक्छ।’
चतुर्वेदी घरको सिँढी चढ्दै कति तलासम्म पुगे वा त्यो बीचको समयमा के गरे भन्ने खुलेको छैन, न वरपरका व्यक्तिले उनलाई वास्ता गरेको नै देखिन्छ।
‘उहाँसँग अर्को व्यक्ति कोही नदेखिएका कारण आत्महत्या गर्नको लागि नै गएको हुनसक्ने आँकलन गरिएको छ,’ बस्नेतले भने, ‘अग्लो संरचना भएकाले र वरिपरि कैद गर्नसक्ने अरू सिसिटिभी भेटिएको छैन।’
उनी कतिबेला घरबाट निस्किएका थिए भन्ने पनि यकिन भइसकेको छैन। तर, उनी नियमित रूपमा मर्निङ वाकमा निस्किन्थे। समय मिलेको हुनाले उनी बिहीबार पनि मर्निङ वाक नै निस्किँदा घटना भएको बस्नेतले बताए।
‘पीडित पक्ष शोकमा छ, तत्कालै हामीले सबै कुरा सोध्न सकेका छैनौं, जाहेरी दिन आउँदै हुनुहुन्छ, त्यसपछि थाहा हुन्छ,’ वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले भने।
उनका अनुसार चतुर्वेदीको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्। चतुर्वेदीको शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनी मानसिक रुपमा विछिप्त थिए। उनी डिप्रेसनमा रहेको बुझिएको छ।
चतुर्वेदीका पारिवारिक स्रोतले बुधबार उनी अस्पतालमा गएर मानसिक रोगका चिकित्सकलाई देखाई डिप्रेसनको औषधी लिएर घर गएको प्रहरीलाई बताएको छ।
सार्वजनिक संस्थानमा काम गर्दा एक करोड ९० लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै चतुर्वेदीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो। २०५९ सालमा अख्तियारले नियन्त्रणमा लिँदा चतुर्वेदी तीन महिना हिरासत बसेका थिए।
पछि विशेष अदालतले उनलाई धरौटीमा छोडेको थियो। तर, २०६८ साल भदौ २१ गते सर्वोच्चले फैसला गर्दै चतुर्वेदीलाई भ्रष्टाचार मुद्दामा कसुरदार ठहरी गरी दुई वर्ष सजाय सुनाएको थियो। भ्रष्टाचार मुद्दामा जेल बसेर छुटेदेखि नै उनी तनावमा थिए।