सन् २०१५ मा रूसको एक सैन्य भवन भत्किँदा रूस्तम नाबिवले आफ्नो दुवै खुट्टा गुमाए। रसियाली नागरिक उनै रूस्तमले गत शनिबार नेपालमा रहेको ८ हजार मिटर अग्लो मनास्लु शिखर सफल आरोहण गरे।
अहिले रूस्तमलाई विश्वभरबाट मानिसहरूले बधाइ र हौसला दिइरहेका छन्। रूस्तम पनि बधाइको ओइरोले मख्ख छन्।
आफूभित्र आत्मविश्वास भए जुनसुकै काम पनि गर्न सकिने उनी बताउँछन्।
हिजो (बिहीबार) रसिया फर्किने तरखरमा रहेका रूस्तमले सेतोपाटीसँग भने, 'मैले पनि यो काम गर्नसक्छु भनेरै गरेको हो र गरेँ पनि। त्यसैले म मानिसहरूलाई आफूमा विश्वास गर्नुस् भन्न चाहन्छु। आफूमा विश्वास भयो भने जुनसुकै काम गर्न सकिन्छ। म विश्वलाई पनि यही सन्देश दिन चाहन्छु।'
हुन पनि रूस्तमले दुवै खुट्टा गुमाएपछि आफूलाई कहिल्यै कमजोर हुन दिएनन्। झन् ठूलो आत्मविश्वासका साथ जीवनलाई अगाडि बढाउँदै गए।
'किलर माउन्टेन' नामले चिनिने ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु रूस्तमको पहिलो हिमाल आरोहण होइन। गत वर्ष नै उनले युरोपको सर्वोच्च शिखर 'एल्ब्रस' को सफल आरोहण गरिसकेका छन्।
रूस्तम आफ्नो यी सबै सफलताको श्रय आफ्ना श्रीमती इनजिरालाई दिन चाहन्छन्। इन्जिराले रूस्तमलाई अहिलेसम्म जुनसुकै मोडमा साथ दिँदै आएकी छन्। गत सेप्टेम्बरमा मनास्लु आरोहणका लागि नेपाल आउँदा रूस्तमलाई सबभन्दा बढी आँट र हौसला इन्जिराले नै दिएकी थिइन् रे।
रूस्तमले भने, 'मलाई इन्जिराले तिमीले यो काम गर्न सक्छौ भनेर ठूलो आँट दिइन्। उनैले मलाई तिमी जसरी पनि जानुपर्छ भनेकी थिइन्। आज उनैको हौसलाले म यो काम गर्न सफल भएँ।'
मनास्लु आरोहणका लागि घरबाट निस्किँदै गर्दा रूस्तमले इन्जिरालाई जसरी पनि सफल भएर फर्किन्छु भन्ने बाचा गरेका थिए।
'मैले इन्जिरासँग ज्युँदो र सुरक्षित फर्केर आउँछु भन्ने बाचा गरेको थिएँ। कुनै पनि हालतमा हिम्मत हार्दिनँ भनेको थिएँ। अब घर पुगेपछि इन्जिरालाई आइ लभ यू भन्नेछु,' रूस्तमले सुनाए।
रूस्तमले इन्जिरासँग गरेको बाचालाई आफ्नो मनास्लु यात्रामा कहीँकतै पनि मर्न दिने छनक देखाएनन्। रूस्तमलाई गाइड गरेर गएको टोलीका सदस्य दावा ग्याल्जेन शेर्पाले उनको साहस र तागतको प्रंशसा गरे।
उनले सेतोपाटीसँग भने, 'हामीले रूस्तमको शारीरिक अवस्थालाई हेरेर कतै बोकेर पनि शिखरमा पुर्याउनुपर्छ कि भनेर योजना पनि बनाएका थियौं। तर त्यसो गर्न परेन। त्यो देखेर चाहिँ हामी पनि छक्क पर्यौं।'
रूस्तमले सकेसम्म आफूलाई कसैले बोकेर शिखरमा पुर्याऊन् भन्ने चाहेका थिएनन्। उनी आफ्नै तागतले शिखर चुम्न चाहन्थे। त्यसैले उनी घिस्रेरै पुगे।
शनिबार बिहान साढे दस बजे शिखरमा पुगेका रूस्तमले पूरै खुलेर आफ्नो खुसी देखाएनन्।
'चुचुरोमा पुग्दा मलाई खास अनुभूति भएन। किनभने म यात्राको आधा बाटोमा छु भन्ने थियो र फेरि सुरक्षित तल फर्किनुपर्छ भन्ने बुझेको थिएँ,' त्यो क्षण सम्झिँदै रूस्तमले भने, 'अहिले भने म धेरै खुसी छु र खास अनुभूति भइरहेको छ।'
मनास्लुको सफल आरोहणपछि हौसिएका रूस्तमलाई अब सगरमाथा चढ्ने इच्छा छ।
उनले सगरमाथा चढ्ने अहिले नै पक्का नभएको भए पनि आफूले त्यसबारे सोच्ने बताए।
बिहीबार रसियाका लागि छुट्टै गर्दा रूस्तमले नेपालमा आफूले पाएको मायाप्रति सबै नेपालीलाई धन्यवाद दिए।
'यो सम्मानका लागि म नेपाललाई धन्यवाद भन्न चाहन्छु। यो अन्तिम होइन, त्यसैले फेरि नेपाल आउने आशा गर्छु। यो भ्रमण मेरो मुटुमै रहने छ,' यति भनेर उनी आफ्नो घरका लागि बिदा भए जहाँ इन्जिरा अँगालो फिँजाएर उनलाई कुरिरहेकी छिन्।