यो सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरको घटना हो।
असोज १ गते संग्रामपुरका १० वर्षीय समिम अन्सारी विश्वकर्मा पूजाको मेला हेरेर साँझ घर फर्केका थिए। खाना खाएर आमाबुवासँगै सुतेका उनी राति ३ बजेतिर रूँदै ब्युँझिए।
उनी आफ्नो औंला र कानमा कीरा वा अरू केहीले टोक्यो भन्दै कराउँदै थिए। बुवा तलेब अन्सारीले बत्तीको उज्यालोमा छोराको औंला र कान नियाले। उनले हेर्दा कमिलाले टोकेझैं देखिन्थ्यो।
तलेब अन्सारीले रोइरहेका छोरालाई फकाईफुलाई गरेर सुताउन खोजे। तर कसैगरी पनि समिम रून छाडेनन्।
त्यसपछि आमा मतिना खातुनले छोरालाई छिमेकी इलियास खातुनकहाँ जचाउन लगिन्। इलियासले पनि कमिलाले नै टोकेको हुनसक्ने अड्कल गर्दै तेल लगाएर मालिस गर्न र सुतीको कपडा बेरिदिन सुझाव दिए।
मतिनाले घर फर्केर समिमको औंला र कानमा तेल लगाइदिइन्, मालिस गरिदिइन् र सुतीको कपडाले बेरिदिइन्।
समिम केही बेर चुप्प लागे। करिब एक घन्टापछि फेरि 'जीउ पोल्यो' भन्दै रून-कराउन थाले। उनको जीउ थरथर काम्न थाल्यो। बोली पनि लर्बराउन थाल्यो। उनीहरूले हेर्दा समिमको जिब्रो पनि कामिरहेको थियो।
तलेब आत्तिँदै धामी कपलेश्वर पासमानलाई बोलाउन गए।
'झारफुक गर्नुअघि समिमलाई उल्टी भयो। धामीले मलंगवा अस्पताल लैजानू भने,' आमा मतिना खातुनले सेतोपाटीसँग भनिन्, 'हामीले अस्पताल लग्यौं तर त्यहाँ पनि रोग थाहा भएन। तुरून्तै वीरगन्ज अस्पताल लैजानू भनियो।'
रातारात वीरगन्ज लैजाँदा लैजाँदै खातुनका पाँच छोरामध्ये साइँला समिमको बाटोमै मृत्यु भयो।
समिम बितेको तीन-चार दिनपछि माइला र कान्छा छोरालाई पनि त्यस्तै लक्षण देखिएको खातुनले बताइन्।
‘कान्छोलाई त झन् दुईपटक टोकेछ। पर्साको धामीकहाँ लगेर झारफुक गराएपछि बल्ल ठिक भयो,' उनले भनिन्, 'अझै पनि हामी राति डराई डराई सुत्छौं।'
यो घटनापछि अहिले संग्रामपुर गाउँमा सर्प वा कुनै अज्ञात जीवको आतंक फैलिएको छ। दिनभरि खेतमा काम गर्नुपर्ने गाउँलेहरू तीन सातादेखि घरमै छन्। उनीहरू पालैपालो जाग्राम बस्छन्।
‘हामी टिम बनाएर पालैपालो सुत्छौं। कसैलाई टोक्यो र गाडी छैन भने मोटरसाइकलमा राखेर धामीकहाँ लैजान्छौं,’ स्थानीय राकेश रामले भने।
गाउँपालिका अध्यक्ष किसुनदेव रायका अनुसार खातुनको परिवारबाहेक गाउँका धेरैलाई उस्तै लक्षण देखापरिसकेको छ। यसबारे स्वास्थ्यकर्मीसँग परामर्श भने लिइएको छैन। बरू गाउँपालिका अध्यक्षले नै झारफुक गर्न सुझाइरहेका छन्।
'एकैचोटि धेरैलाई यस्तो लक्षण देखिएपछि मैले पालिकाभरका वडाध्यक्ष, बुजुर्ग र स्थानीयको बैठक डाकेँ। देउता रिसाएर यस्तो घटना भयो भन्नेमा सबैको एकमत रह्यो,' गाउँपालिका अध्यक्ष रायले भने, 'सबैको सल्लाहमा सति विहुलाको मन्दिर र लखराम महादेवको मन्दिरमा पूजा गर्ने निर्णय भयो।'
वडाध्यक्ष नागेन्द्र राय यादव भने डाक्टर तथा स्वास्थ्य विज्ञलाई बोलाएर रोगको कारण पत्ता लगाउनुपर्ने बताउँछन्।
‘धेरैले कीराले टोकेको हुनसक्छ भन्दैछन्। वीरगन्जमा पनि यस्तै कीराले टोकेको कुरा सुनेको छु। त्यसैले डाक्टरलाई बोलाएर जाँच गराउने सोच बनाउँदै छौं,’ उनले भने।
सर्लाही अस्पतालका प्रमुख डा. नवलकिशोर झा कीरा वा सर्पले टोकेको भन्ने पुष्टि नभएको र अहिलेसम्म अफवाहकै कारण गाउँलेहरू त्रसित भएको बताउँछन्।
गाउँपालिकाका स्वास्थ्य संयोजक नवलकिशोर महतोको पनि यस्तै धारणा छ।
‘अध्यक्षजीको घरछेउमै धामी छन्। उनीकहाँ लगेर झारफुक गराइन्छ तर मलाई जहाँसम्म लाग्छ यो भ्रम मात्र हो। बरू मास-हिस्टेरिया हुनसक्छ,’ उनले थपे।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले अशिक्षा र अन्धविश्वासका कारण गाउँमा यस्तो हल्ला फैलिएको बताए।
‘नागरिकमा चेतना स्तर कम छ। कसैले कुनै हल्ला फैलायो भने सबै त्यसैलाई पत्याउँछन्,' प्रमुख जिल्ला अधिकारी महतोले भने, 'जसले अन्धविश्वास फैलाउँछ, भ्रम फैलाउँछ उसलाई कानुनी कारबाही हुन्छ।’