कैलालीको धनगढी-७ की प्रेमकला राना पहिलो पटक आफ्नो गाउँको बाटो कालोपत्रे गर्ने उपभोक्ता समितिको अध्यक्ष बनेकी छन्।
गाउँमा सडक ग्राभेल र कालोपत्रेका यस्ता योजना आइरहन्छन्। यस्ता काम स्थानीयहरूबाटै सम्पन्न गर्न उपभोक्ता समिति बन्ने गरेको उनले देखेकी थिइन् तर ती समितिमा अध्यक्ष महिला भएनन्। अरू पदाधिकारी पनि पुरुष नै बढी हुने गर्थे।
यस पटक फेरि उनको घर हुँदै जाने सडक कालोपत्रे गर्ने योजना आयो।
वडाले ७ लाख बजेट छुट्याएपछि १ सय ६० मिटर सडक कालोपत्रेका लागि उपभोक्ता समिति बन्ने भयो। वडा अध्यक्ष, वडाका प्राविधिक आएर गाउँमा भेला गराए।
भेलाबाट समिति गठन गर्नुपर्ने भयो। अध्यक्ष को बन्नेभन्दा फेरि पनि पुरुषहरूकै नाम आउन थाल्यो।
यसपटक भने अध्यक्ष आफू बन्छु भनेर प्रेमकलाले हात उठाइन्।
‘मैले म बन्छु भनेपछि अरू महिलाले पनि यो पढेकी पनि छ, सक्छ भनेर मलाई बनाउनुपर्छ भनेर समर्थन गरे,’ उनले भनिन्।
उसै पनि भेलामा पुरुषभन्दा महिलाको सहभागिता बढी थियो। उनी अध्यक्ष बनिन्। सदस्यहरू चयन गर्दा पुरुषहरू इच्छुक देखिएनन्।
‘महिला अध्यक्ष भएको समितिले के काम गर्छ भन्ने पो सोचे कि खै, बाँकी ७ जना सदस्य पनि महिला नै बनायौं,’ उनले भनिन्।
अनुगमन समितिका लागि दुई जना भने पुरुषहरू तोकिएका छन्।
सुरूमा समितिले कसरी काम गर्छ भन्नेबारे कमै थाहा पाएकी उनले नगरपालिकाबाट तालिम लिएपछि जानकार भइन्।
‘निर्माण सामग्री, गुणस्तर, कागजपत्र कसरी पारदर्शी राख्ने भन्नेबारे पनि थाहा पाइयो,’ उनले भनिन्।
दश कक्षा पढ्दै गर्दा विवाह गर्नु परेपछि पनि उनले पढाइ निरन्तर गर्न कोशिश गरेकी थिइन्। बिहेपछि उनले ११ र १२ पास गरिन्। त्यसपछिको पढाइ भने परिवारको असहयोगका कारण रोक्नु परेको उनी बताउँछिन्।
‘श्रीमान्, देवर, नन्द सबै पढ्ने भएर मैले काम गर्नुपर्ने भयो, श्रीमानले पनि अब नपढ भनेपछि ब्याचलर पढ्न सकिनँ,’ उनले भनिन्।
अहिले कमलकी श्रीमती भनेर उनलाई गाउँमा चिन्छन्। उनलाई प्रेमकलाको श्रीमान् भनेर पतिको नाम चिनाउन मन छ।
धान काट्ने, खाना बनाउने, भैंसीबाख्रा पाल्ने र अरू घरायसी कामबाट बिस्तारै फुर्सद निकालेर उनी तालिम, गोष्ठी र भेलामा सहभागी हुन थालेकी छन्।
‘अहिले खेतीकिसानीको काम श्रीमानले हेर्नुहुन्छ, भान्साको काम सासु र छोरीले हेर्न थालेपछि मलाई सजिलो भएको छ,’ उनले भनिन्।
उपभोक्ता समितिको अध्यक्ष भएर समाजसेवाको सुरूवात गर्ने उनको भनाइ छ।
गएको चुनावमा वडा सदस्यमा उम्मेद्वारी दिन नपाएकी प्रेमकला अहिले सडक कालोपत्रे गर्ने उपभोक्ता समितिको अध्यक्ष भएकी छन्।
नेपाली कांग्रेसबाट वडा सदस्यमा उठ्ने भनेकी उनले पाटीभित्रको विवाद मिलाउन त्यसबेला उम्मेद्वारी फिर्ता लिनु परेको थियो।
प्रेमकला राजनीति र समाजसेवामा आउन संघर्षरत छन्।
‘अहिले धेरै महिलाहरू राजनीति र सामाजिक काममा छन्, उनीहरूका काम, उनीहरूका भाषण सुनेर मलाई पनि त्यस्तै हुन, त्यस्तै बोल्न मन लाग्छ,’ उनले भनिन्।
धनगढी-७ कै माया चौधरी पनि उपभोक्ता समितिकी अध्यक्ष हुन्। पछिल्लो समय सानातिना योजनामै भए पनि अध्यक्ष पदमा महिला आउन थालेका उनले बताइन्।
‘अहिले एक/दुई जना महिला अध्यक्ष बन्न पाएका छन्, पहिला त धेरै पुरुष नै अध्यक्ष हुन्थे,’ उनले भनिन्।
विगतमा घरायसी काममै व्यस्त हुने महिला अहिले विकास निर्माणका योजनामा सहभागी भएका छन्।
योजना सम्पन्न गर्ने काममा अग्रसर भएर लागे पनि समाजमा महिलाले के काम गर्न सक्छन् र भन्ने बुझाइ कायम रहेको धनगढी उपमहानगरपालिकाकी प्रेमी चौधरीको भनाइ छ। उनी पनि टोलको उपभोक्ता समितिकी अध्यक्ष हुन्। उनले महिला अध्यक्ष भएका उपभोक्ता समितिलाई काम गर्न चुनौती हुने गरेको गुनासो गरिन्। जिम्मेवारी दिए पनि काम गर्ने वातावरण नरहेको उनको भनाइ छ।
‘हाम्रो यहाँ महिला ३३ प्रतिशत भन्छन्, महिलालाई समितिमा बस पनि भन्छन्। तर, काम गर्ने वातावरण हुँदैन, निर्णय चल्दैन, विभेद हुन्छ, भनेको कुरा सुन्दैनन्,’ उनले भनिन्।
नेतृत्व गरिरहेका महिलाहरू भने काम गर्न चुनौती भयो भन्दै पछि पर्न नहुने तर्क गर्छन्। धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले अहिले उपभोक्ता समितिका महिला अध्यक्ष हुनु राम्रो पक्ष रहेको बताइन्। उनले महिलाहरू उपभोक्ता समितिमा आउनु आवश्यकता रहेको बताइन्।
‘उपभोक्ता समिति भनेको सामाजिक र राजनीति सेवाको अवसर र सुरूवात मान्न सकिन्छ। किनकी यसले महिलालाई विकास, नेतृत्व र अगुवाइ गर्न गर्न सिकाउँछ, त्यसकारण महिलाहरूले उपभोक्ता समितिमा जसरी पनि आउनु पर्छ, काम गर्न सकिँदैन भनेर पछि पर्नु हुँदैन, उनले भनिन्।