पोखरा–बागलुङ सडक खण्डको हेम्जामा च्यांग्राका बथान छन्। च्यांग्राका व्यापारी आ–आफ्नो च्यांग्रा बेच्न समूह-समूहमा बसेका छन्।
ग्राहकसँग मोलमोलाई गर्छन्, च्यांग्रालाई अर्को समूहमा जान नदिन थुनछेक गरिरहेका छन्। यही भिडमा जुम्लाका 'हेडसर' पनि मिसिएका छन्।
जुम्लाको पातारासी गाउँपालिकास्थित गंगा माविका ३२ वर्षीय हेडसर गोर्ख बुढा हवाई जहाज चढेर पोखरा झरेका हुन्। उनका समूहमा ८ जना छन्। उनी आउनुअघि नै समूहका अन्य सदस्यले च्यांग्रा पोखरा ल्याइसकेका थिए। स्कुल बिदा नभएका कारण आफू ढिला गरी आउनुपरेको गोर्खले बताए।
‘स्कुल बिदा नहुँदा त पढाउनुपर्छ, व्यापार गरेर हिँड्न मिल्दैन,’ गोर्खले भने, ‘दसैं बिदा भएपछि मात्र च्यांग्रा बेच्न पोखरा आएको हुँ।’
विज्ञान विषयमा स्नातक गरेका गोर्ख स्थायी शिक्षक भएको ६ वर्ष बित्यो। यसअघि पनि उनी शिक्षणमै थिए, अस्थायी रूपमा। शिक्षक सेवा आयोगले २०६९/०७० मा खुलाएको विज्ञापनमा उनले प्राथमिक तहका लागि आवेदन दिएका थिए। विराटनगरबाट परीक्षा दिँदा गोर्ख उत्तीर्ण भए, अन्तरवार्तामा नाम निस्केन।
अस्थायी शिक्षककै रूपमा काम गरिरहेका गोर्खले फेरि अर्को परीक्षाको तयारी गरे।
२०७१/०७२ मा फेरि शिक्षक सेवा आयोगले विज्ञापन खुलायो। उनले पोखराबाट फर्म भरे, परीक्षा दिए। लिखित र अन्तरवार्ता दुबैमा उत्तीर्ण भए।
शिक्षक सेवा आयोगबाट नाम निकालेपछि गोर्ख पढाउनका लागि गुल्मी गए। गुल्मीको बाँझकटेरी माविमा १ वर्ष पढाएर आफ्नै गाउँ सरुवा भए।
गोर्ख पहिलो पटक जिल्ला छान्न पोखरा आएका थिए। स्थायी शिक्षकका लागि जिल्ला छान्न, परीक्षा दिन र अन्तरवार्ता दिन गरी ३ पटक पोखरा आउँदा उनले पोखरा आसपास घुम्न भ्याएको बताए। त्यसपछि भने च्यांग्रा बेच्नका लागि मात्र पोखरा आउने गरेका छन्। यसपटक समेत गरी गोर्ख तीन पटक पोखरा आएका छन्।
उनका सिद्धान्तले शिक्षकलाई च्यांग्रा नबेच् भन्दैन।
‘मेरो सिद्धान्तमा काम ठूलो सानो छैन, कुर्सीमा अडिएर मात्र हुँदैन,’ उनले भने, ‘महसुस सबै कामको हुनुपर्छ, एउटा कर्मचारीले काम नगर्ने किसानले मात्र गर्ने भन्ने छैन नि!’
च्यांग्रा बेच्न पोखरा आएका गोर्खको समूहमा ८ जना छन्। गोर्खबाहेक अरु साथी र आफन्तले नै च्यांग्रा खोज्ने र पोखरा ल्याउँछन्। उनीहरूको समूहले बझाङका विभिन्न ठाउँबाट ३५० वटा च्यांग्रा पोखरा उतारेका थिए। गाउँ–गाउँ पुगेर च्यांग्रा संकलन गर्न अहिले विक्री गर्न भन्दा बढी दुख हुने गोर्खले बताए।
‘हाम्रा साथीहरू च्यांग्रा खोज्न जाँदा घर छाडेको २ महिना भइसक्यो, हामीले किन्दा सानो ठूलो हुँदैन, होलसेलमा किन्नुपर्छ,’ उनले भने, ‘गाउँमा च्यांग्रा किन्दा नै प्रतिस्पर्धा हुन्छ, हाम्रा साथीहरूजस्तै अरु पनि च्यांग्रा किन्न गएका हुन्छन्।’
बझाङको चैनपुरबाट मात्र च्यांग्रालाई गाडी चढाएको गोर्खले बताए। दिनरात गरी चैनपुरबाट ४ दिनमा च्यांग्रा पोखरा आइपुगेको थियो। गाडीमा ल्याउँदा एउटा गाडीको मात्र डेढ लाख बढी भाडा तिर्नुपरेको उनले बताए। उनका समूहले मात्र च्यांग्रा ल्याउन ३ वटा गाडी रिजर्भ गरेका थिए।
उहिले उहिले च्यांग्रालाई हिँडाएर पोखरा ल्याइन्थ्यो, अहिले गाडीमा ल्याउँदा मूल्य बढ्न गएको गोर्खको बुझाइ छ।
उनको समूहले ल्याएको च्यांग्रा २० हजारदेखि ५५ हजार रुपैयाँसम्मका छन्।
अहिले च्यांग्राको मूल्य बढ्नुमा अर्को पनि कारण छ।
कोरोना भाइरसको महामारी हुनुअघि चीनको तिब्बतबाट समेत नेपालमा च्यांग्रा भित्रन्थे। हुम्ला, मुगु र डोल्पा नाकाबाट तिब्बती च्यांग्रा पोखरा ल्याएर बेचेको उनलाई अनुभव छ। यसका अलवा मुस्ताङको कोराला नाकाबाट समेत च्यांग्रा भित्रन्थ्यो। कोरोना महामारीले बन्द गरिदिएको तिब्बतको नाका अझै खुल्न सकेको छैन। व्यापारीले तिब्बती च्यांग्रा ल्याउन सकेनन्।
गोर्खका समूहले मात्र होइन, जुम्ला, सुर्खेत, बझाङ लगायत जिल्लाका अन्य व्यापारीले पनि पोखरामा च्यांग्रा बेच्दैछन्।
मुस्ताङका च्यांग्राको मुख्य बजार त पोखरा भइहाल्यो। यी सबै ठाउँका च्यांग्रा गरी पोखरामा १५ हजार बढी च्यांग्रा भित्रिएको अनुमान छ। मूल्य बढेका कारण च्यांग्राको व्यापार सन्तोषजनक नभएको गोर्खले बताए।
‘यसपालि व्यापारको माहोल हेर्दा सन्तोषजनक छैन,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘३ दिनमा जम्मा २५ वटा विक्री भयो, अझै ३ सय भन्दा बढी च्यांग्रा बेच्नै बाँकी छ।’
दसैंसम्म च्यांग्रा विक्री नभए तिहारसम्म पोखरामै पालेर विक्री गर्नुपर्ने गोर्खको भनाइ छ। आफू भने तिहारसम्म नबस्ने उनले बताए।
स्कुल चलाउन पर्ने भएकाले तिहारमा पनि आउन नसक्ने उनको भनाइ छ।
बझाङका गाउँगाउँबाट च्यांग्रा बटुलेर पोखरासम्म ल्याउँदा समूहका सबैले पैसा उठाएका थिए। कसैले ब्याजमा ऋण लिएका थिए। यसरी नै व्यापार नभए घाटा सहनुपर्ने बाध्यता आउने गोर्खले बताए।
‘२ रुपैयाँ कमाएरै परिवार पाल्ने हो, दसैंका बेला च्यांग्रा विक्री भएन भने त गाह्रो हुन्छ नि,’ उनले भने।