मुगुमा भएको बस दुर्घटनाका घाइतेलाई नेपालगञ्ज ल्याउन लागिएको छ। दुर्घटनामा घाइते १४ जनालाई जहाज र हेलिकप्टरमार्फत् नेपालगञ्ज ल्याउन लागिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
समिट एअरको जहाजमा १२ जना र नेपाली सेनाको हेलिकप्टरमा २ जनालाई राखेर मुगुको ताल्चा विमानस्थलबाट टेकअफ भएको प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।
सेनाको हेलिकप्टर उद्दारका लागि सुर्खेतबाट मुगु गएको थियो।
उनका अनुसार एक जना बालिकाको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ।
‘आफन्तले मोटरसाइकलमै बालिकालाई जिल्ला अस्पताल पुर्याउनुभएको रहेछ, उहाँको अवस्था सामान्य भएको जानकारी छ,’ उनले भने।
उनका अनुसार नेपालगञ्ज विमानस्थलमा ९ वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ। हेलिकप्टर र जहाजमा ल्याइएका घाइतेहरूलाई ती एम्बुलेन्सले अस्पताल पुर्याउनेछन् ।
दुर्घटनामा परी २३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मुगुको छायानाथ रारा नगरपालिका–७ मा मंगलबार दिउँसो पौने दुई बजे बस दुर्घटना भएको हो।
सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा ३९ जना सवार थिए। बस सडकबाट अन्दाजी दुईदेखि ढाइ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।