झापाको कनकाई नदीमा आएको बाढीले दक्षिणी सीमावर्ती गौरीगञ्जका ४० घर परिवार डुबानमा परेका छन्।
वडा नम्बर १ को टापु, होकलबाडी र बालुबाडी भन्सार छेउका मानव बस्ती पूरै डुबानमा परेको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए।
डुबानमा परेका परिवारको उद्दार गरेर कनकाई नदीको बाँधमा राखिएको उनले जानकारी दिए।
हिजो रातिदेखि झापा लगायत पूर्वी पहाडमा परेको पानीले कनकाई नदीमा बाढी आएको थियो। बाढीले गाउँ डुबाउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित स्थानीय जनप्रतिनिधि खटेका थिए।
प्रहरी र जनप्रतिनिधिले डुबानबाट उद्दार गरिएका परिवारलाई कनकाईको बाँधमा त्रिपाल टाँगेर राखेको छ। घरमा भण्डारण गरिएका खाद्यान्न सबै भिजेपछि उनीहरूलाई चिउरा, दालमोठ र चाउचाउ खानलाई दिइएको वडा अध्यक्ष राजवंशीले सेतोपाटीलाई बताए।
लगातारको वर्षाले जलसतह बढेपछि सो वडाको एउटा सिंगो गाँउ टापुमा परिणत भएको छ।
पूर्वमा माइखोला, पश्चिममा कमल बनियानी, उत्तरमा ४ मिटर गहिरो होलीबाट निकास भएको पानीले गाउँ घेरा हालेको हो। दक्षिणतर्फ कमल बनियानी र कनकाई नदी मिसिएपछि त्यहाँका मानिस चारैतिरको खोलाको घेराबन्दीमा परेका छन्।
उनीहरूलाई उद्दारका लागि राखिएको एउटा डुङ्गा पनि बाढीले बगाएपछि सो क्षेत्रमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
वडा अध्यक्ष राजवंशीका अनुसार उनीहरूलाई उद्दार गर्न सकियो भने स्थानीय टुनु बस्तीको रेडक्रस भवन र राम जानकी आधारभूत विद्यालयमा ल्याएर राखिने छ।