महिषासुर एक असुर थिए। उनले असीमित शक्ति आर्जन गर्न सृष्टिकर्ता ब्रह्माका नाममा वर्षौं वर्ष कठिन तपस्या गरे।
उनी जाडो याममा कठ्यांग्रिदो हिमालमाथि गएर तपस्या बस्थे, गर्मीमा रापिलो मरूभूमिमा तपस्या गर्न जान्थे। कहिले घन्घोर जंगलमा हिंस्रक जनावरहरूले घेरिएर तपस्या बस्थे, कहिले दन्दन्ती आगो दन्काएर त्यसैमाथि बस्दै तपस्या गर्थे।
उनको यस्तो घन्घोर तपस्या देखेर सृष्टिकर्ता ब्रह्मा प्रसन्न हुँदै साक्षात् दर्शन दिए।
महिषासुरले साष्टांग दण्डवत् गरे र हात जोड्दै भने, 'प्रभु, यदि तपाईं मेरो तपस्याबाट प्रसन्न हुनुहुन्छ भने मलाई यस्तो असीमित शक्ति प्रदान गर्नुहोस् ताकि तीनै लोकमा मेरो शक्ति परास्त गर्ने सामर्थ्य कसैमा नहोस्। न कुनै देउताले मलाई हराउन सकून्, न कुनै दानवले मेरो शक्ति जित्न सकून्। त्रिलोकमा मै सबभन्दा शक्तिशाली हुन पाऊँ।'
ब्रह्माजी महिषासुरको एकाग्र भक्ति र कठिन तपस्याले यति भावुक थिए, उनले मागेको बर दिँदा भविष्यमा कस्तो संकट आउनसक्छ भन्नेसम्म ख्याल राखेनन्।
ब्रह्माजीले भावनामा बगेर आफ्नो दाहिने हात उठाउँदै भने, 'तथास्तु।'
त्यसपछि त महिषासुरलाई हराउन सक्ने तीन लोकमा कोही पनि भएन। उनी असुर गणमा सबभन्दा शक्तिशाली भए र देउताहरूमा पनि उनलाई टक्कर दिनसक्ने क्षमता कसैमा रहेन।
ब्रह्माजीबाट पाएको बरदान दुरूपयोग गर्दै महिषासुरले स्वर्गलोकका देउता, पृथ्वीलोकका मानव जातिमाथि विध्वंस मच्चाउन थाले।
उनको विध्वंसबाट सारा देवगण र मानवगण आजित भए।
यसरी आजित हुनेमा ललितपुर, पाटनकी तलेजु भवानी पनि थिइन्। ब्रह्माजीको बरदानरूपी कवच धारण गरेका महिषासुरलाई उनको शक्ति र घमण्डबाट कसरी च्यूत गर्न सकिन्छ भनेर तलेजु भवानी सोचमग्न भइन्।
विभिन्न उपाय उनको दिमागमा आयो।
त्यसैमध्ये एउटा उपाय उनलाई उत्तम लाग्यो। त्यही उपायअनुसार पाटनकी तलेजुले ललितपुर, थेचोकी नवदुर्गासँग मित लगाइन् र दुवैको शक्तिलाई एकै ठाउँमा एकाकार गरिन्।
यसरी मित लगाउनुको कारण थियो। ब्रह्माजीले दिएको बरअनुसार कुनै पनि देउता वा दानवमा महिषासुरलाई हराउने शक्ति थिएन। तर दुइटा अलग-अलग देवीले आफ्नो शक्ति एकाकार गरेपछि त्यसबाट उत्पन्न हुने नयाँ अलौकिक शक्तिलाई महिषासुरको वध गर्नबाट ब्रह्माजीको बरदानले पनि रोक्न सक्दैन थियो।
यही कुरा बुझेर तलेजुले नवदुर्गासँग मित लगाएकी थिइन्।
आखिरमा उनको योजना सफल भयो।
पाटनकी तलेजु र थेचोकी नवदुर्गाबीच मित सम्बन्ध गाँसिएपछि त्यसबाट उत्पन्न भएको अलौकिक शक्तिले महिषासुरको वध गर्यो।
त्यही महिषासुर वध र तलेजु र नवदुर्गाबीच गाँसिएको मितिनी सम्बन्धको सम्झना गर्दै बुधबार पाटन दरबार परिसरमा थेचोबाट ल्याइएको नवदुर्गा नाच नचाइएको छ।
नवदुर्गा नाचमा बाजा बजाउने किरण मालीका अनुसार हरेक दसैंमा थेचोकी नवदुर्गा बाजागाजासहित पाटनको तलेजु भवानीकहाँ आउँछिन्। महिषासुरसँग युद्ध जितेको प्रतीकका रूपमा फूलमाला चढाउँछिन् र आफूसँगै आएको समूहसँग मिलेर नाच देखाउँछिन्। तलेजुले पनि आफ्ना पाहुनाको सत्कार गर्न बोका र राँगा बलि चढाउँछिन्।
‘दसैंको टीकाको दिन तलेजुलाई विजयको खुसियालीमा फूलमाला चढाइन्छ भने कोजाग्रत पूर्णिमाका दिन देवगणलाई पाहुनाका रूपमा डाकिन्छ,’ मालीले भने, 'हामीले नाचेपछि दसैं समापन हुन्छ।'
यहाँ ११ नवदुर्गागण र एउटा इन्द्रायणी गरेर १२ वटा भगवान हुन्छन्। इन्द्रायणीलाई भने नचाइन्न।
उनलाई ननचाउनुको मुख्य कारण थाहा नभए पनि 'नाचमा भगवानको रूप धारण गर्ने मान्छेहरूको लगातार मृत्यु हुने क्रम बढ्दै जाँदा इन्द्रायणीलाई ननचाउन थालिएको' माली अनुमान गर्छन्।
नवदुर्गालाई बलिको रगत पनि चढाउनुपर्छ। महादेवबाहेक सबै भगवानलाई यसरी रगत चढाइन्छ।
नवदुर्गा नाच गुठीका नाइके भक्तलाल मालीका अनुसार गुठी संस्थान र जात्राका गुठियारबीच कुरा नमिल्दा करिब दुई दशक यो नाच रोकिएको थियो। पछि त्यहाँका वडाध्यक्ष, सर्वसाधारण लगायतले पहल गरेपछि दुई वर्षअघिबाट फेरि यो नाच देखाउन थालिको हो।
दसैंको कोजाग्रत पूर्णिमाका दिन पाटन दरबारको मूलचोक ल्याइने नवदुर्गा नाच एकादशी र यो:मरि पुन्हीका दिन थेचोमै नचाइन्छ। हरेक बाह्रवर्षे मेलामा भने बुंगमती, लाछी लगायत विभिन्न ठाउँमा पनि लग्नुपर्छ।
थेचोस्थित नवदुर्गा गुठी संस्थानमा करिब ३४ जना गुठियार छन्। उनीहरूबाहेक अरूले नाच चलाउन हुन्न। नाचमा जोडिन आफ्ना नातेदार वा इच्छाइएका व्यक्तिले गुठीलाई नाचअगावै सम्पर्क गर्छन्। त्यसपछि छनौट प्रक्रिया सुरू हुन्छ।
नाच प्रदर्शनअगाडि देवगणहरू नुहाउँछन्, निराहार बस्छन् र बेलुकी जात्रा सकिएपछि मुख धोएर मात्र खानेकुरा खान्छन्।
यो नाच कति पुरानो हो भन्ने गुठियारहरूलाई ठ्याक्कै थाहा छैन। नाचमा प्रयोग हुने एउटा कचौरामा श्रीनिवास मल्लको नाम लेखिएको छ। त्यही भएर राजा श्रीनिवास मल्लको पालामा सुरू भएको हुन सक्ने अनुमान गरिएको छ। गुठियारहरू भने त्योभन्दा पुरानो हुनसक्ने बताउँछन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी