भारतले नेपालको लुम्बिनीलाई समेत लक्षित गर्दै उत्तर प्रदेशको कुशीनगरमा अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा ल्याएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट सञ्चालनले बौद्ध सर्किट क्षेत्रलाई जोड्ने र कुशीनगरबाट पूर्व एसियाका देशमा उडान गर्ने उद्घोष गरेका छन्।
भारतले मात्र ५ महिनाको समयमा प्रति घण्टा ३०० यात्रुले सेवा लिन सक्ने गरी टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो।
भारतले नेपालको सीमानजिक एयरपोर्ट सञ्चालनमा ल्याएसँगै नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य अन्यौलमा पर्ने भएको छ।
नेपालको लुम्बिनीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गौतम बुद्ध एयरपोर्ट जुन बजारलाई लक्षित गरेर अघि बढाइएको थियो, भारतले सोही बजारलाई लक्षित गरेर एयरपोर्ट सञ्चालनमा ल्याएको हो।
नेपालले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टबाट म्यानमार, थाइल्याण्ड जस्ता बौद्ध धर्मावलम्बी भएका देशमा उडानको लक्ष्य राख्दै आएको छ।
कुशीनगर एयरपोर्ट सञ्चालनमा आएसँगै भारतले पनि सोही देशमा उडानको लक्ष्य राखेको छ। भारतीय प्रधानमन्त्रीले कुशीनगर एयरपोर्ट उद्घाटन गर्दा समेत थाइल्याण्ड र श्रीलंकाका राजदूत सहभागी भएका थिए।
कुशीनगरबाट सबभन्दा नजिकको बौद्ध धर्मस्थल लुम्बिनी हो। जुन सडक मार्गबाट १५० किलोमिटरको दूरीमा छ। कपिलवस्तु १६० किलोमिटर, सारनाथ २३३ किलोमिटर र बोधगया ३२६ किलोमिटरमा छ।
पूर्वपर्यटन सचिव शंकर अधिकारी भारतको कुशीनगर एयरपोर्टले लुम्बिनी एयरपोर्टको बजारलाई असर पार्ने बताउँछन्।
'असर त परिहाल्छ', अधिकारीले सेतोपाटीसँग भने, 'भारतले लुम्बिनी नजिक छ भनेर मार्केटिङ गरेको अवस्थामा असर पर्छ।'
अधिकारीले नेपाललाई भारतले एयररूट दिन आलटाल गरिरहेको अवस्थामा सिमराको एयररूटबाट उडान गर्दा भैरहवा एयरपोर्ट सञ्चालन महँगो हुने भएकाले भारतीय एयरपोर्टलाई सहजता मिल्ने अवस्था रहेको उल्लेख गरे।
'इन्ट्री एयररूट सिमरामात्र छ। भैरहवा आउन सिमराबाट इन्ट्री गरेर बल्ल आउनुपर्छ', अधिकारीले भने, 'महाकालीको रुटमा भारतले सहमति दिएको अवस्थामा भैरहवा एयरपोर्टलाई अलिकति सहज र कम खर्चिलो हुन्छ।'
अधिकारी एयरपोर्टको सञ्चालनका लागि सबभन्दा ठूलो विषय मार्केटिङ र सञ्चालन हुने बताउँछन्।
'भारतसँगको तुलनामा हामी कति खरो उत्रन सक्छौं भन्ने विषयले प्रभाव पार्छ', अधिकारीले भने, 'अहिलेसम्म लुम्बिनीमा आउने धेरै पर्यटक भारतबाटै आउँछन्। त्यस्तो परम्परा बसिसकेको अवस्था छ। बुद्धिस्ट मुलुकमा त्यसैगरी मार्केटिङ भएको छ। अब हामीले लुम्बिनीमै एयरपोर्ट बनेको छ भनेर एयरलाइन्सको मार्केटिङ गर्नुपर्छ।'
नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक राजन पोखरेल पनि भैरहवा एयरपोर्ट सञ्चालन गर्न अन्तर्राष्ट्रिय राम्रा विमानस्थल सञ्चालक ल्याउनुपर्ने बताउँछन्।
'अन्तर्राष्ट्रिय राम्रा विमानस्थल सञ्चालकको साझेदारीमा सञ्चालन गर्नुपर्छ। कुशीनगरभन्दा राम्रो सञ्चालन र सेवा सुविधा दिनुपर्यो। कनेक्टिभिटी पनि त्यही अनुसार गर्नुपर्यो। त्यसका लागि हामीले राम्रा साझेदार ल्याउनुपर्छ', पोखरेलले भने, 'त्यो भयो भने भारतले कुशीनगरमा बनायो भन्दैमा हामीलाई असर पार्ने भन्ने हुँदैन।'
पोखरेलले महानिर्देशक भएका बेला जर्मनीको म्युनिख एयरपोर्टसँगको साझेदारीमा भैरहवा विमानस्थल सञ्चालन गर्ने प्रस्ताव अघि बढाएका थिए। तर अर्थ मन्त्रालयले सञ्चालन मोडालिटीमा असहमति जनाएपछि अस्वीकृत भएको थियो।
'पछिल्लोपटक हामीले एसियाली विकास बैंकसँग मिलेर साझेदारीमा सञ्चालनको मोडालिटी तयार पारेर प्रस्ताव आह्वान गर्न मन्त्रिपरिषदमा पठाएका थियौं', पोखरेलले भने, 'नयाँ सरकार बनेपछि त्यो प्रस्ताव पर्यटन मन्त्रालयमा फिर्ता भएको छ। मन्त्री नियुक्ति लामो समय नहुँदा अघि बढ्न सकेन।'
पोखरेल भारतले कुशीनगरमा एयरपोर्ट बनाउँदैमा आत्तिनु नपर्ने बताउँछन्।
भारतसँग नयाँ एयररूटमा सहमति नजुटे पनि भैरहवामा उडान सम्भव रहेको उनले बताए।
'एउटा उचाइबाट जहाज इन्ट्री गर्ने र चितवनको भरतपुर क्षेत्रबाट फन्को मारेर भैरहवा जान सक्छ,', पोखरेलले भने, 'बरु वायुयानको उडान र अवतरणको कार्यविधिमा भारतले अब्जेक्सन गरेको छ।'
भारतको आपत्तिपछि भू-उपग्रहमा आधारित भएर नयाँ कार्यविधि बनाएर लागु गर्ने तयारी नेपालले गरिरहेको पोखरेलले बताए।
पोखरेलले बुद्धिस्ट सर्किटका धेरै स्थान भारतमा भएकाले भारतमा भए पनि नेपालको एयरपोर्ट लुम्बिनीमै भएकाले फाइदाजनक रहेको बताए।
नेपालको लुम्बिनीमा ३ हजार मिटर लामो र ४५ मिटर फराकिलो रनवे सहितको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा छ।