केही दिनअघि फिल्म निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जालमा दुइटा तस्बिर राखेका थिए।
एउटामा लौरा टेकेका पाका उमेरका बासँग उनी गफिँदैजस्ता देखिन्थे।
अर्कोमा, तिनै बा र अरू केही मानिससँग बसेर फोटा खिचाएका थिए।
सामाजिक सञ्जाल प्रयोगकर्ताको विशेष ध्यान दोस्रो फोटोमा गयो। यसको कारण निर्देशक भट्टराई भन्दा पनि तिनै बा थिए। फोटोको पृष्ठभूमिमा देखिएको पसल थियो।
पहिले कुरा गरौं त्यो पसलको।
यो पसल एउटा सानो कोठाको छ। मुश्किलले दुईजना पस्न मिल्ने। बस्न त अटेसमटेस।
परम्परागत टायलको छानो भएको, काठले बनेको पसल निकै पुरानो देखिन्छ। धेरै सामान पनि छैन। काठका तासी खाली-खाली देखिन्छन्। एकाध बट्टामा चकलेट, चाउचाउ, बिस्कुट, चुरोट र नुनका केही पोका यो पसलको सर्वस्व हो।
यो सानो कटेरो सर्लाहीको हरिवनमा छ। यसका सञ्चालक हुन् उनै बा, ९७ वर्षीय डम्बरबहादुर भण्डारी।
उमेरले आराम गर्नुपर्ने समय हो उनको। लौरो समाएर विस्तारै हिँड्छन्। बोली प्रस्ट हुन छाडिसकेको छ। तर जोस हराएको छैन।
अहिले पनि पसल चलाएर बस्न किन मन लागिरहेको तपाईंलाई?
सेतोपाटीको यो प्रश्नको जवाफ भण्डारीले यसरी दिए, 'म पैसाका लागि पसलमा बसेको होइन। यो उमेरमा घर बसेर समय खेर फाल्नुभन्दा समयको सदुपयोग गर्न चाहन्छु।'
एक शताब्दी उमेरनजिक पुग्दै गरेका भण्डारीको यही सोच र जोसले निर्देशक भट्टराईले छोएको रहेछ। यति मात्र होइन, यो पसलमा उनले आफू सानो हुँदाका धेरै सम्झना पनि सँगालेका छन्।
लामो समयदेखि काठमाडौं बसिरहेका भट्टराई समय–समयमा आफ्नो पुर्ख्यौली घर सर्लाही पुग्छन्। यसपालि दसैंमा पुग्दा फेरि उनका आँखा यो पसलमा परे। पुराना स्मृतिहरू बौरिएर आए। मन भरिएर आयो।
त्यही बेला उनले पसलअगाडि बसेर आफू, पसल सञ्चालक भण्डारी र केही साथीहरूसँग तस्बिर खिचाए।
कमेडी च्याम्पियन कार्यक्रमका निर्णायक समेत रहिसकेका भट्टराईले फेसबुकमा सेयर गर्दै लेखे- उहाँ हजुरबुवा अहिले ९७ वर्ष हुनुभयो। यो फोटोमा भएको पसल हामी जन्मिनु अघिदेखि सञ्चालन गर्नुभएको हो। अहिलेसम्म पनि आफैं चलाइरहनु भएको छ। पसलमा २५ पैसामा पाँचवटा निम्चुस चकलेट खाएको सम्झना अझै छ।
भट्टराईको सम्झनामा ताजा भएको २५ पैसा र निम्चुस लोपै भइसक्यो। समयसँगै भट्टराई हुर्के, अनेक ठाउँ पुगे। तर यो पसल हुर्केको छैन, उनका 'हजुरबुवा' पनि त्यहीँ छन्।
भण्डारीले यतिका वर्ष चलाएको पसल किन बढाएनन् त?
समयसँगै बजार महँगो भयो। सामानको भाउ बढ्यो। भण्डारीले रहरले चलाएको पसललाई महँगीको मारमा पार्न सकेनन्। जे-जस्तो धान्न सक्थे, त्यति नै चल्न दिइरहे। परिवारजनले पनि पसल बढाइदिएर उनलाई यो उमेरमा सास्ती दिन चाहेनन्।
'हामी त बुवालाई घरमै आराम गरेर बस्नुस्, पसल जानुपर्दैन भन्छौं। तर उहाँ मान्नु नै हुन्न,' भण्डारीकी नातिनी निर्मलाले सेतोपाटीसँग टेलिफोन कुराकानीमा भनिन्, 'पसलमा बस्दा बोल्ने मान्छे हुन्छन्, नयाँ मान्छे पनि चिनिन्छ र समय पनि कट्छ भन्दै जानुहुन्छ।'
पाका उमेरका भण्डारीको बोली फोनमा प्रस्ट बुझ्न कठिन हुँदा निर्मलाले नै हामीलाई सहज बनाइदिइन्। निर्मलासँग पनि हजुरबुवासँगै पसल गएर चकलेट खाएका थुप्रै सम्झना छन्। अलि ठूली भएपछि हजुरबुवा खाना खान जाँदा उनी कहिलेकाहीँ पसलमा बसिदिन्थिन्। हरेक दिन खुल्ने पसल चाडपर्व र घरमा आफन्त जमघट हुँदा भने बन्द हुन्छ।
निर्मलाका अनुसार भण्डारीका चार पुस्ता सन्तान भइसके। भण्डारीकी श्रीमती छन्, उनीभन्दा दुई वर्ष सानी भए पनि उमेरले गलाएको छ। धेरै हिँडडुल गर्न सक्दिनन्।
यो दम्पतीका छ छोरा छन्। पनातिपनातिना पुस्ता नै १५–१६ वर्षका भइसके। सबैजना संयुक्त परिवारका रूपमा एउटै घरमा बस्छन्।
२८ वर्षीया नातिनी निर्मला पनि आफू जन्मिनुअघि नै हजुरबुवाको पसल भएको बताउँछिन्। उनको अनुमानमा तीन दशकभन्दा पुरानो। भण्डारीलाई भने तिथिमितिको लेखाजोखा छैन। तर आज पनि उनको दैनिकी यही पसलबाट सुरू हुन्छ।
बिहान ५–६ बजे नै उठ्ने उनी चिया-नास्ता गरेर पसल पुग्छन्। बीचमा खाना–खाजा खान पसलसँगैको घर जान्छन्। फेरि पसल पुग्छन्, बेलुकी ४–५ बजेसम्म बस्छन्।
'बुवा आफूलाई जतिबेलासम्म मन लाग्छ त्यति बेलासम्म बस्नुहुन्छ। हामीले यतिबेला खोल्नुस्, बन्द गर्नुस् भनेका छैनौं,' निर्मलाले भनिन्।
पसलमा सामान ल्याइदिने जिम्मेवारी भने घरकै सदस्यले गर्छन्।
निर्देशक भट्टराईले भण्डारीको फोटो राख्दा धेरैले 'हजुरबुवाको आर्थिक अवस्था कमजोरजस्तो छ, पसल बढाउन लगानी थपिदिनूस्' जस्ता कमेन्ट लेखे। अधिकांशले भण्डारीलाई सहयोग गर्न सुझाए।
तर यसमा निर्मला भन्छिन्, 'प्रदिपजीले सम्झनासहित फोटो राख्नुभएको थियो। तर धेरैले बुवाको आर्थिक स्थिति राम्रो नभएको अनुमान गर्नुभयो। एक मन त नराम्रो पनि लाग्यो। बुवा पैसा नभएर कमाउन पसलमा बस्नुभएको होइन, रहरले हो। पहिलेदेखि काम गरेको बानी भएकाले त्यसै बस्न नसकेर जानुभएको हो।'
भण्डारी पहिले खेती-किसानी गर्थे। गाई, भैंसी, बाख्रा लगायत वस्तुभाउ हेर्थे। सधैं एउटै काम गर्दा दिक्क लाग्न थालेपछि उनले पसल खोलेका रहेछन्।
सुरूमा त उनले केही कमाइ होला भनेर पनि व्यापार थालेका थिए। तर पढाइ-लेखाइ र व्यापारमा अनुभव नभएकाले यसबाट धेरै फाइदा लिन सकेनन्। पछि सन्तानले घरको जिम्मेवारी सम्हालिहाले। अनि उनले पसललाई बुढेसकालमा आफ्नो समय बिताउने बाटो बनाए।
हामीले भण्डारीलाई सोध्यौं, 'अनि पसलको हिसाब-किताब कसरी गर्नुहुन्छ त? उधारो लग्ने हुन्छन् होला? कसैले कम देलान् पैसा?'
यो प्रश्नमा भण्डारीले फोनमा सुस्तरी बोल्दै भने, 'सामान्य हिसाब-किताब आउँछ। कसले उधारो लगेको छ भन्ने त दिमागमा याद गर्छु नि। कोही-कोहीले मात्र हो पैसा नतिर्ने।'
नातिनी निर्मला पनि हजुरबुवाको सम्झना शक्ति अहिले पनि राम्रो भएको बताउँछिन्।
'हामीलाई पनि योसँग यति पैसा लिनुछ भनेर बुवाले भनिरहनुहुन्छ,' उनले भनिन्, 'उहाँलाई सबै याद हुन्छ।'
अहिलेसम्म भण्डारी स्वस्थ छन्। एकपटक हर्नियाको उपचार गर्नुपरेको थियो। नभए ऊर्जावान् र स्वस्थ जीवन नै बिताइरहेका निर्मलाले बताइन्।
कहिलेकाहीँ पसलको बाटो हुँदै हिँड्ने छिमेकी, नातेदार वा नचिनेकै मान्छेले पनि उनलाई प्रश्न गर्छन्, 'यो उमेरमा पनि पसल गर्दै हुनुहुन्छ?'
भण्डारी आफ्नो लौरो समाउँदै मुस्कुराएर जवाफ फर्काउँछन्, 'ज्यानले सकुन्जेल, आँखा देखुन्जेल र हिँड्न सकेसम्म गरिरहन्छु।'