पहिरोका कारण तीन दिनदेखि अवरुद्ध रहेको चारआली-ताप्लेजुङ खण्ड बिहीबार अपरान्हदेखि सञ्चालनमा आएको छ।
झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्गको ठाँउ-ठाँउमा पहिरो गएपछि यातायातका साधन तीन दिनदेखि सञ्चालनमा आएका थिएनन्।
पहिरोका कारण सञ्चालनमा आउन नसकेको राजमार्ग खुलाउने प्रयास तीन दिनपछि सफल भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।
कतिपय ठाँउमा पहिरोले पुरेको सडक स्थानीय प्रशासनले तत्काल हटाएको थियो। तर, इलाम र पाँचथर जोड्ने राँके क्षेत्रको कुखुरे भीरको सडक पहिरोले बगाएपछि यातायात आवगमन ठप्प भएको थियो। मेची राजमार्गको इलाममा मात्र ९ ठाँउमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
‘राँकेदेखि फिदीम खण्ड बुधबार राति अबेरसम्म खुलाउनका लागि प्रयास भएको थियो। पहिरो गएको ठाँउमा ठूला-ठूला चट्टान रहेकाले बिहीबार अपरान्हदेखि मात्र पाँचथरको फिदीमदेखि राँकेसम्मको खण्ड सञ्चालनमा आएको हो,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले सेतोपाटीलाई भने।
पाँचथरदेखि इलामको रक्सेसम्मको सडकमा भएको अवरोध पनि हटेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए। उक्त अवरोध हटेसँगै मेची राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको उनले बताए।
बाटो अवरोध हुँदा मंगलबार रातिदेखि नै यात्रुहरू बीच बाटोमा रोकिएका थिए। उनीहरू होटल र सडक छेऊका घरमा आश्रय लिएर बसेका थिए।
इलाम र पाँचथरका मुख्य र भित्री सडकमा पहिरो झरेर सडक अवरुद्ध भएपछि दसैँ मान्न आफन्तकहाँ गएका तथा फर्किँदै गरेकाहरू बाटोमा अलपत्र परेका थिए।
ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न हिँडेका र फर्किएकाहरू हेवा खोला र फिदीम लालिखर्कमा पहिरोका कारण अलपत्र परेका थिए। उनीहरू मेची राजमार्ग पहिरोका कारण अवरूद्ध बनेपछि राँकेमा अड्किएका थिए।
सडक खुलेपछि उनीहरू गन्तव्यतर्फ लागेको थापाले बताए।
राँकेमा ७५, फिदिममा १५०, गोपेटारमा २५, गणेश चोकमा १०, ताप्लेजुङमा २०० तीर्थयात्री राजमार्गमा पहिरो जाँदा रोकिएको जिल्ला प्रहरी कार्यालय पाँचथर र इलामले जनाएको छ।