खेतमा आएको बाढी सुक्दै गएको छ। आकाशको बादल पनि हटेको छ तर किसानका मनमा पीडाको बादल थपिँदै गएको छ।
अघिल्लो साता परेको भारी वर्षापछिको बाढी राम्रो उपज पाउने किसानहरूको मेहनतमा कालो बादल लगाएर गएको हो।
धनगढी उपमहानगरपालिका-१३ की हिरामतीदेवी चौधरीको परिवार घुँडासम्म पुग्ने पानी जमेका गह्राबाट धानका मुठा उठाउँदै आलीहरूमा राख्न थालेका छन्।
उनका श्रीमान् भिजेका मुठा काँधमा बोक्दै आलीमा लहरै मिलाएर सुकाउन राख्दै छन्। हिरामती आलीमा अलि सुकेका मुठा ओल्टाई-पल्टाई गर्दैछिन्।
उनकी तीन छोरी पनि यही काममा लागेकी छन्।
जेठमा बिउ राख्ने बेलादेखि नै उनको ६ जनाको परिवार धान खेतीमा होमिएको थियो।
हिरामतीका श्रीमान् बन्धुराम हलो जोत्छन्। उनीहरूले एक हल गोरु पनि पालेका छन्।
गएको माघमा एकजना जमिनदारसँग उनले डेढ बिघा जमिन बटैया (अधियाँ) मा लिए। उब्जेको धानको ठिक आधा तौलेर जमिनका मालिकलाई दिनुपर्ने सर्तमा खेती गर्न बटैयामा जग्गा लिएको उनले बताए।
कृषि कम्पनी कार्यालय धनगढीबाट उनले १८ सयको ३० केजी सर्जु, अर्को १८ सय हालेर राधा-४ पनि ३० केजी बीउ धान किनेका थिए।
थप ३० केजी सावा मन्सुली धानको बिउ उनले प्रतिकेजी ५ सयका दरले १५ हजारमा किने।
आफ्नो घर नजिकैको ३ कट्ठा जति जमिनमा उनले बिउ छरेका थिए। आफ्नै हल गोरुले जोतेकाले जोताइमा उनको खर्च लागेन, आफ्नो मेहनत भने लाग्यो।
‘डल्ला फुटाउने, झार उखेल्ने काममा सबै परिवार नै लागेका थियौं,’ उनले भने।
रोपाइँअघि ५०० प्रतिकट्ठाका दरले ट्याक्टर लगाएर खेत जोताए। रोपाइँका बेला पाँगो बनाउन थप जोत्नै पर्छ। उनको साढे सात हजार रुपैयाँ त जोताइमै खर्च भएको थियो। आफ्नो हल गोरुले छुटेका कुना जोत्नु परेको थियो।
रोपाइँ गर्ने बेला प्रतिघन्टा ३ सयका दरले मोटरको पानी चलाउँदा उनले २५ घन्टाको ७ हजार ५ सय खर्च गर्नु परेको थियो।
असारको मध्यसम्म उनीहरूले रोपाइँ सकेको थिए। करिब १५ दिनजति रोपाइँमा लागेका उनको परिवारलाई सघाउने एक/दुई दिन छिमेकी पनि आएका थिए। त्यसको सट्टा उनीहरूको रोपाइँमा हिरामतीको परिवारले पनि सघाएको थियो।
रोपाइँ सकिएपछि लगत्तै डिएपी र युरिया खेतमा हालेको हिरामतीले बताइन्।
‘यो वर्ष रोपाइँका लागि हामीले ६ हजारका २ बोरा डिएपी, ३ हजारको २ बोरा युरिया मल किन्नु परेको थियो,’ उनले भनिन्।
उनीहरूले आफैंसँग भएको रुपैयाँ खर्चेर सकिएपछि २० हजार सरसापट गरेर बर्षामा खेती लगाएका थिए।
भदौको महिना गोडमेलमै बिताएको उनको परिवार दसैंअघि धान काटेर सक्ने योजनामा थियो।
‘थ्रेसर नपाइने हो भनेर अलि ढिला काट्न सुरू गर्यौं,’ उनले भनिन्।
दसैंको एकदिन काटेनन्, त्यसको अघिका ३ र पछिको एकदिन उनीहरूले धान काटे।
दुई जातको धान काटेर मुठा बानेका उनीहरूले मन्सुली आधा काटेका थिए। काटेको धान खेतमै थियो।
आइतबार राति एक्कासी पानी पर्न थल्यो। उनीहरू दौडेर खेतमा पुगे। जति सक्यो उठाएर कुन्यू लगाए। त्रिपाल ओढाए। पानी निकै दर्केर परिरह्यो।
‘सोचेकै थिएनौं कि कात्तिकमा यस्तो पानी आउला भनेर, बचाउन जति प्रयास गरे पनि सकेनौं, पूरा धान भिजिहाल्यो,’ बन्धुरामले भने।
रातभरि खेतमा बसेका उनीहरूले जब बाढी नै खेतमा पसेर खोलाजस्तो बन्यो त्यसपछि हिम्मत हारे।
‘सुरूसुरूमा अलिअलि पानी आउँदा त मैले आली काटेर कुलोजस्तो बनाउँदै बगाएँ पछि त कम्मरसम्म पुग्ने गरी आयो, धान सबै तैरिँदै बग्न थाल्यो,’ उनले भने।
धान काटेर खेतमा थ्रेसिङको तयारीमा रहेका उनीहरूको डेढ बिघामा लगाएको धान बाढीले सखाप पारिदियो।
अहिले मुठा उठाउँदै सुकाउन लाग्दा धान टुसाएर जमराजस्तो भएको छ।
उनले खेतमा ३० क्विन्टल धान फल्ने आश गरेका थिए। अब त सायद ५/७ क्विन्टल पनि बचेको छ कि छैनजस्तो उनलाई लागेको छ।
‘परालमात्रै छ, धान त केही उम्रिन थाल्यो, केही भिजेर पिठो भैसक्यो,’ उनले भने।
हिरामतीको परिवारको खाने अन्य कुनै पनि स्रोत छैन। उनीहरू पूर्ण रूपमा यसै खेतीमा निर्भर हुन्।
‘खाने, लाउने, बच्चा पढाउने हाम्रो सबैथोक यही खेती हो, अब के खाने, के गर्ने खै,’ बन्धुरामले आफैंलाई प्रश्न गरे।
यस वर्ष खेतीबाट कम्तीमा ५० हजार नाफा हुने उनको अनुमान थियो। अब जग्गाधनीलाई पो के दिन भन्ने उनलाई पीर परेको छ।
‘बचेको यही पनि आधा त दिनैपर्छ, नत्र धनीले कहाँ मान्छ,’ उनले भने।
अहिले पनि उनको पुरै खेत पानीमा डुबेको छ। बीचमा कुलो जसरी जमेको पानी बगिरहेको छ।
‘सुकाउने ठाउँ पनि छैन, धान काटेर ४/५ दिनमा सबै काम सकिन्थ्यो, अब त सुकाउन, दाउनसम्म महिना दिन अझैं लाग्छ होला,’ उनले भने।
धनगढी उपमहानगरपालिका-१३ श्रीलंकामा उनीहरूको माटो र टायलले छाएको घर छ।
मोहना नदीनजिकै रहेकोको यो बस्ती टापुजस्तै छ। यहाँ पानी परेको समय सबैभन्दा बढी डुबान हुन्छ। डुबान धेरै हुने र टापुजस्तै ठाउँ भएकाले यसको नाम श्रीलंका राखिएको त्यहाकाँ स्थानीयहरूको भनाइ छ।
अविरल बर्षाले उनीहरूको घर, भान्छा कोठा पनि डुबानमा परेको थियो। अहिले पनि उनीहरूका भान्छा, घरका कोठा भिजेकै छन्।
‘कुखुरा, बारीको तरकारी खेती बाढीले लगिहाल्यो, घरको ढोका पनि त्यही बाढीमै गयो, हिलैहिलो भएकाले खाना पकाउन, सुत्न गाह्रो छ’, चौधरीले भने।
आजकाल उनीहरूलाई न घर गए खुसी लाग्छ न खेतमा।
कृषि केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले प्रारम्भिक अध्ययनअनुसार यस जिल्लामा मात्रै कम्तीमा २१ हजार हेक्टरमा पूर्ण रूपमा धानबाली क्षति भएको बताए।
यसरी ९ लाख ४५ हजार क्विन्टल धान नोक्सान भएको उनले बताए।
‘२ अर्ब बराबरको धानबालीमा नोक्सानी भएको देखिन्छ,’ उनले भने।
कैलालीमा ७० हजार हेक्टर जमिनमा धान खेती हुन्छ।
कात्तिक पहिलो साताको बाढीले कैलालीमा धानसँगै तोरी, मसुरो, केरा, आलुलगायतका खेतीबालीमा क्षति भएको छ।
प्रदेश सरकारको मापदण्डअनुसार प्रतिबिघा ८ हजारका दरले राहत दिने हो भने पनि १७ करोड रुपैयाँ चाहिने देखिन्छ।
यसमा स्थानीय र प्रदेशले नभ्याए संघ सरकारले ध्यान दिनुपर्ने शर्माले बताए।
अरू बालीमा भएको क्षति पनि जोड्दा कम्तीमा २५ करोड राहत रकम आवश्यक पर्ने उनले बताए।
धानमा पुगेको क्षतिले आयात बढ्न सक्ने देखिएको छ। यस्तै कम गुणस्तरको चामल खानुपर्ने बाध्यता आउन सक्ने उनले बताए।
समयमै सरकारले सही रणनीति नलिए चामलको मूल्य पनि बढ्ने र फेरि किनेर खानु परे किसानहरू नै महंगीको मारमा पर्ने उनले बताए।