नयाँबानेश्वरबाट तीनकुनेतर्फ जाँदा सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालय बीचको सडकमा सोमबार ठूलो भ्वाङ परेको छ।
सुरूमा एक मिटर गोलाइ र पन्ध्र फिटजतिको गहिरो खाल्डो देखिएको थियो। काठमाडौं सडक डिभिजन कार्यालयको टोलीले एक्स्काभेटर ल्याएर खनेपछि वास्तविक आकार थाहा भयो। खन्दै जाँदा झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो बनेको छ। पूरै खोतलेपछि मात्र यसको आकारप्रकार नाप्न मिल्ने टोलीमा रहेका इन्जिनियरले बताए।
यति ठूलो खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंगाल कारण देखिएको प्राविधिकहरूले बताएका छन्।
हरेक हिसाबले संवेदनशील मानिने उक्त क्षेत्रमा खाल्डो परेपछि नयाँबानेश्वर र तीनकुनेबीचका सबै ट्राफिक युनिटलाई ‘अलर्ट’ गराइएको छ। ट्राफिक कोन र बेरिकेड्स राखेर सवारी साधन डाइभर्ट गराइएको छ। चार ठाउँमा प्रहरीहरू खटाइएका छन्।
सधैं व्यस्त र सवारी चाप अत्यधिक हुने त्यो क्षेत्र प्रतिनिधिसभा भवन नजिक पनि हो। खाल्डो भएको क्षेत्रले एउटा लेन नै ओगटेको छ।